सूरो जनतामा जान्छ, काँतर सडकमा !

सूरो जनतामा जान्छ, काँतर सडकमा !


यो व्यवस्था हल्लिन जनताको आँगनमा हलचल हुनुपर्छ । त्यसको निमित्त विदेशबाट बाकसमा फर्कनेहरू आफ्नै आँगनमा हुनुपर्छ । आफ्नै करबाट पाउने अधिकार कुनै नेताको वा दलको कृपा पाएसरह लिनलाई जनता घिनाउनु पर्छ । यो सबै सडकमा कागज जलाएर हुन्न । सरकारसँग झगडा अनि वार्ता गरेर पनि हुन्न । जनताको घरदैलोमा आफन्त बनेर, आफन्तको अभिनय गरेर हैन, जाने सूरोपन चाहिन्छ ।
  • स्वयम्भूनाथ कार्की

राजालाई पाखा लगाएको लामो समय भए पनि, आस्थाको मात्रा मनमा केही तलमाथि भए पनि जनताको मनमा कहिल्यै निमिट्यान्न भएन । ‘पूर्व’ नलगाई ‘राजा’ उच्चारण गर्नेमाथि प्रशासनको डण्डा वर्षौं चल्यो, श्री ५ भने/लेखेबापत त पक्राउ परेर ‘आइन्दा गर्दिनँ’ भनेर गराइएको कागजले प्रहरी कार्यालयका दराज भरिएका होलान् । मनको बाघले खाएर राजाका गैरकानुनी नभएका कार्यक्रमहरूमा पनि सरकारले बल प्रयोग गऱ्यो । एक अवस्थामा त वसन्तपुरको कार्यक्रममा जान रोक्न निर्मल निवासको मुलढोकामा सयौँको सशस्त्र पहरा नै राख्यो । तर वसन्तपुरको त्यो कार्यक्रम नै राजा खोज्दै निर्मल निवास पुग्यो ।

संसारको इतिहासमा शासनबाट पाखा लगाइएको प्रणाली तथा पात्रलाई छिट्टै भुलेको देखिन्छ । केही वर्षपछि त इतिहासको पानामा मात्र सीमित, त्यो कालखण्डमा वा त्यो पात्रबाट भएका केही उज्याला/अँध्यारा योगदानको चर्चामा ! यसमा नेपाल पनि अपवाद थिएन, राणा शासन भुल्न केही समय नै लागेन । ०७ देखि ०१७ का धेरै पात्र पनि परिवर्तनपछि ओझेल नै परे । प्रजातन्त्र निर्दलीय हुँदैन भनेर पढाउन प्रतिबन्धित दलहरूलाई आफ्ना भातृसंगठनहरूद्वारा एक पिंढी नै मेहेनत गर्नु पऱ्यो । तर ती प्रशिक्षित पुस्ताहरूले पनि प्रजातन्त्र भनेको दलतन्त्र हो भन्ने मान्न सकेनन् र, लोकतन्त्र नाम दिनुपऱ्यो ।

भुलवश आफ्नो गाडीमा ढुङ्गा हान्ने किशोरलाई त्यसबापत दोसल्ला ओढाएर सम्मान गर्ने श्रीमती विद्यादेवी भण्डारीको छोरीको विवाहको निम्तोमा उपस्थिति भए तिनै राजा । आफ्नो नातिको व्रतबन्धको भोजमा स्वागत गरेर त्यही व्यक्तिलाई राष्ट्रपतिको रूपमा स्वागत गरेर सत्तानिमित्त किचलो नगर्ने जनताको चाहना खोज्ने भद्रता देखाए राजाले । यहाँसम्म कि नेपालगञ्जमा आफ्नो लगानीको होटल प्रधानमन्त्रीबाट उद्घाटन गराएर ‘राजासँग हैन जनतासँग तर्सनुपर्ने’ सन्देश दिए । आफू र आफ्ना अग्रवर्ती राजाहरूले आफ्नो स्वार्थ हैन मुलुक तथा जनता अर्थात समग्रमा राष्ट्रको स्वार्थ हेरेको प्रमाणित गरिदिए ।

राजावादीहरू सडकबाट, भाषणबाट, जुलुस-बन्द आदिबाट राजा फर्काउने सपना देख्छन् । कोही-कोही त सशस्त्र विद्रोह भन्न पनि पछि पर्दैनन् । यी सबै गरेर त्यत्रो लामो बन्द गरेर मधेशवादी भनिने दलहरूले के पाए ? बम पड्काएर, गाडी जलाएर सशस्त्र विद्रोह गर्नेहरूले के पाए ? राजालाई जनताको माया थियो र त्यस्ता विद्रोह-विरोधहरू सफल भएका थिए ।

हो, कुनै कालखण्डमा दलहरूको उपस्थितिमा जनता दलहरूमा विभाजित भएर एकतामा खतरा देखेको थियो होला राजसंस्थाले । राजा त्रिभुवनको भन्दा ज्यादा राष्ट्र-चिन्ता र चिन्तन राजा महेन्द्रको थियो भन्न हिचकिचाउनु पर्दैन । त्यस्तै, राजा वीरेन्द्रमा काम नगरी मान मात्र खाने बेलाइती राजतन्त्रप्रति केही आकर्षण नदेखिएको हैन । काम गर्ने भन्दा आलङ्कारिक राजा हुने ललकले आफूविरुद्धको कहालीलाग्दो अवस्था ल्याउने षड्यन्त्रको छनकसम्म पनि पाएनन् । यसलाई राजधर्मबाट केही विचलन आएको रूपमा लिँदैमा कसैको राजभक्तिमा आँच आउन्न । जे होस्, उनको पालामा जनताहरू नेपालीभन्दा फलाना दल र चिलाना दलका हौँ भनेर कलह गर्न लागेको भने हो । त्यसैले राजाले दलतन्त्र त निमोठेको हुन सक्छ तर प्रजातन्त्रका भने संरक्षक नै भएका हुन् ।

अब कोही चाहे त्यो आफूलाई राष्ट्रवादी भनोस् वा राजावादी, जनवादी भनोस् वा लोकतन्त्रवादी, कोही जनतामा जाने सूरो बाटो खोज्दैन । आसन-भाषण, सडक-सङ्घर्ष, नारा-जुलुस, घेराउ, ढुङ्गा वा लाठीचार्ज आदिको काँतर बाटो मात्र अपनाउन खोज्छ । सञ्चार जगतमा आफ्नो चर्चाको निमित्त सञ्चारकर्मीको चाकरीको स्तर लाजमर्नु छ । राजावादीहरू सडकबाट, भाषणबाट, जुलुस-बन्द आदिबाट राजा फर्काउने सपना देख्छन् । कोही-कोही त सशस्त्र विद्रोह भन्न पनि पछि पर्दैनन् । यी सबै गरेर त्यत्रो लामो बन्द गरेर मधेशवादी भनिने दलहरूले के पाए ? बम पड्काएर, गाडी जलाएर सशस्त्र विद्रोह गर्नेहरूले के पाए ? राजालाई जनताको माया थियो र त्यस्ता विद्रोह-विरोधहरू सफल भएका थिए । तर बलिदान भन्दै जनताको रगतको आहालमा पौडिएर आएको यो व्यवस्था यस्ता कुराले हल्लिने पनि छैन ।

यो व्यवस्था हल्लिन जनताको आँगनमा हलचल हुनुपर्छ । त्यसको निमित्त विदेशबाट बाकसमा फर्कनेहरू आफ्नै आँगनमा हुनुपर्छ । आफ्नै करबाट पाउने अधिकार कुनै नेताको वा दलको कृपा पाएसरह लिनलाई जनता घिनाउनु पर्छ । यो सबै सडकमा कागज जलाएर हुन्न । सरकारसँग झगडा अनि वार्ता गरेर पनि हुन्न । जनताको घरदैलोमा आफन्त बनेर, आफन्तको अभिनय गरेर हैन, जाने सूरोपन चाहिन्छ । यो आन्दोलनको काँतरपनले सम्झौता हुन्छ, पद पाइन्छ तर राष्ट्रको भलो हुँदैन । त्यसैले सूरो जनतामा जान्छ काँतर सडकमा !