एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी घोषणा

एनआरएनए महासचिवमा गौरीराज जोशीको उम्मेदवारी घोषणा


बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्ने जोशीद्वारा संघको २०२१-२०२३ कार्यकालका लागि महासचिवमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघमा ‘स्मार्ट’ एनआरएनएको अवधारणा स्थापित गराउने व्यक्ति भनेर चिनिएका ‘डाइनामिक’ व्यक्तित्व गौरी राज जोशीले संघको आसन्न निर्वाचनमा आफूलाई महासचिवको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने भएका छन् । महासचिव पदका लागि जोशीले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

संघमा वर्तमान सचिवको जिम्मेवारीमा रहेका जोशी बितेको २०१९-२०२१ अवधिभन्दा अघिको कार्यकाल (२०१७-२०१९) मा अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजकका रूपमा आफ्नो जिम्मेवारीलाई सशक्त रूपमा निभाइसकेका व्यक्ति हुन् ।

गैरआवाासीय नेपाली संघमा स्मार्ट एनआरएनएका लागि बनाइएको टास्क फोर्सको जिम्मेवारी पाएका सुपरिचित एनआरएन अभियन्ता जोशीले आफ्नो दुईवर्षे नेतृत्वकालमा यसलाई मुर्त रूप दिइ आसन्न निर्वाचनमा विश्वभर रहेका गैरआवासीय नेपालीहरूले मोबाइलको स्क्रिनमा एक क्लिक गरी निर्वाचन गर्न सकिने प्रविधिको विकाश गरेका हुन् । यस कार्यमा संघका बहालवाला सचिव जोशीलाई संघका महासचिव डा. हेमराज शर्माको सहयोग रहेको बताइन्छ ।

पेशाले आइटी इन्जिनियर रहेका जोशी आफ्नो लगन र परिश्रमले अमेरिका जस्तो मुलुकमा आइटी क्षेत्रमा राम्रो ब्यवसाय गरिरहेका छन् भने आफ्नो कर्मभूमिलाई पनि हरदम योगदान दिइरहने व्यक्तिमा पर्दछन् ।

गौरी जोशीसँग महासचिवमा प्रतिष्पर्धा गर्न डा. केशव पौडेलले पनि अमेरिकाबाटै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । डा. पौडेल २०१९–२०२१ कार्यकालका लागि कुल आचार्य समूहबाट अन्तिम समयमा आफ्नो उम्मेदवारी परिवर्तन गरेर उपाध्यक्षको उम्मेदवारी दिँदै उप-विजेता बनेका व्यक्ति हुन् । यसरी हेर्दा यसपटकको महासचिवको प्रतिष्पर्धा एकै क्षेत्र (अमेरिका) बाट हुने देखिन्छ । तथापि, इमानदार र मेहनती स्वभावका कारण निर्वाचन परिणाम जोशीकै पोल्टामा पर्ने चर्चा सम्बद्ध क्षेत्रमा चल्न थालिसकेको छ ।

बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने मान्यता बोकेका जोशी संघले दिएका हरेक जिम्मेवारीलाई पूराका पूरा समय दिएर पूर्णता दिएको दाबी गर्छन् । ‘मातृभूमिको लागि हामीले नगरे कसले गर्ने ?’ भन्ने अभिव्यक्तिलाई ‘स्लोगन’कै रूपमा अङ्गिकार गरेका जोशी संस्थागत अनुशासन र विश्वभर रहेका एनसीसीहरू नै संघका मेरुदण्ड हुन् भन्ने धारणा राख्दछन् ।

गैरआवासीय नेपाली संघकै अर्को परियोजना मोबाइल ब्लड ब्याङ्क अवधारणामा पनि काम गरेका जोशी नेपालमा यस परियोजनाबाट दुर्घटनामा परेका अनगिन्ती घाइतेहरू र अपर्झट सर्जरी गर्नुपर्ने बिरामीहरूको ज्यान बचाउन निकै मद्दत पुगेको बताउँछन् ।

घटना र विचारसँगको संक्षिप्त कुराकानीमा आफ्नो उम्मेदवारीबारे जोशी भन्छन्- ‘निर्वाचन भएर कर्मक्षेत्रमा फर्किंदा फर्किंदै कोभिड महामारीले संसार अस्तव्यस्त बनायो, यसै अस्तव्यस्तका बीच हामीले आफ्नो र परिवारको सुरक्षासँगै मातृभूमिका लागि हामीबाट हुन सक्ने कामहरू गऱ्यौँ । महामारीकै कारण पनि संघले आफ्नो कार्यसूचीको प्राथमिकतामा राखेका केही कामलाई अझै निष्कर्षमा पुऱ्याउन सकेको छैन । हामी प्रयासरत थियौँ, छौँ । हामीले तय गरेका विभिन्न एजेण्डामध्ये थुप्रै एजेण्डालाई निष्कर्षमा पुऱ्याउन बाँकी नै छ । त्यसैले मसँग भएका भिजनका साथै थाती रहेका महत्वपूर्ण योजनाहरूलाई मुर्त रूप दिनका लागि पनि मेरो उम्मेदवारी स्वभाविक र अपरिहार्य ठानेको छु ।’