तीजका सन्दर्भमा यसो भन्छन् बेल्जियमका नेपाली महिला

तीजका सन्दर्भमा यसो भन्छन् बेल्जियमका नेपाली महिला


  • सनत आचार्य, बेल्जियम

बेल्जियममा गत वर्ष कोरोनाका कारण तीजमा भेला हुने र नाचगानका माध्यमबाट मौलिक संस्कृतिको जगेर्ना गर्न नपाएका महिलाहरूले यस पटक दिल खोलेर दर खाए, नाचगान गरे र भ्याएसम्म तीजको ब्रत पनि बसे ।

सधै कामको चटारोमा व्यस्त रहने महिलाहरूले कोरोनाका कारण सरकारले तोेकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै काम छोडेर भए पनि दिनभरी नाचगान र खानपानमा समय बिताए ।

बेल्जियमको राजधानी ब्रसेल्समा ब्रसेल्स मिलन केन्द्र लगायत संघसंस्थाहरूले तीजमा सामुहिक रुपले दर खुवाउने कार्यक्रम राख्यो । महिला पुरुष सबैले दर खाए । तीजका आधुनिक गीतमा घण्टौँ नाचे । सबै दङ्ग परे ।

लुभेनमा युरो नेपाल कलाकार संघ बेल्जियम (इना) ले पनि आफूहरूले शुरु गरेको कामलाई निरन्तरता दिन महिलाका लागि दर खुवाउने र नाचगान गर्ने भब्य कार्यक्रमको आयोजना गऱ्यो ।

यो कार्यक्रममा विदेशी महिलासमेत ब्रत बसेर रमाए । बेल्जियमबासीले पनि दर खाए । नाचे । खुशीयाली मनाए ।

लुभेनको कार्यक्रममा सहभागी हुन बेल्जियमका विभिन्न क्षेत्रबाट महिलाहरू आए । दिनभरी नाचगान गरे । रमाए । संस्कृति र परम्परालाई निरन्तरता दिए ।

बेल्जियमको पर्यटकीय क्षेत्र बुर्गे (ब्रुज)मा एनआरएनए बेल्जियमकी सचिव सावित्रा गिरीको अगुवाईमा त्यसक्षेत्रका नारीहरू मिलेर पार्कमा दर खाए । नाचगान गरे । बाटोमा हिँड्ने सयौँ बटुवाहरू नेपाली नाच हेरे । बेल्जियमको दोश्रो शहर आन्तर्पेनमा पनि महिलाहरूले सामुहिक रुपमा दर तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरे । व्यक्ति-व्यक्ति मिलेर सामुहिक रुपमा आयोजना गरेको उक्त कार्यक्रममा पनि महिला उल्लेख्य रुपमा सहभागी भइ दर खाएर रमाइलो गरे ।

गैरआवासीय नेपाली संघ आइसीसी सदस्य गंगाप्रसाद शर्मा आचार्यले पनि व्यक्तिगत तवरमा आफ्नै रेष्टुरेण्ट होली काउमा महिलाहरूका लागि दर कार्यक्रम आयोजना गरे ।

आचार्यले आफू अभिभावक भएको नाताले हिन्दुनारीहरूको महान पर्व तीजको अवसरमा सुखदु:ख बाँड्दै दरका लागि आग्रह गरेको बताए ।

उनले आयोजना गरेको कार्यक्रममा लुभेन नगरपालिकाकी उपमेयर डेनिस भान्डे भोर्ट समेतको उपस्थिति थियो ।

यसैक्रममा हामीले तीज र दरलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा बेल्जियमका महिलाहरूको भनाइ :

सावित्रा गिरी, एनआरएनए बेल्जियम सचिव, ब्रुज

परापूर्व कालदेखि मनाउँदै आएको पर्व हो । टाढा-टाढा रहेका वर्षौंदेखि माइत नआएका चेलीहरूलाई बोलाउने, दर खाने, रमाइलो गर्ने र तीजको दिन दिनभरी ब्रत बस्ने चलन हो ।

हामीलाई पनि सानैदेखि यो पर्वका बारेमा सिकाइन्थ्यो । यो महिलाहरूको सनातनी पर्व पनि हो । यो सुख दु:खको पर्व पनि हो । दिदि बहिनीहरू एक आपसमा भेट हुने, दुःख सुखका कुरा गर्ने पर्व पनि हो । यो परम्परा हिन्दु नारीहरूले देश बिदेशमा कायम राख्नु पर्दछ ।

तर पछिल्लो समयमा यो पर्वमा विकृति देखिन थालेका छन् । खासगरी खानपान, गरगहना, कपडा लत्तामा प्रतिष्पर्धा देखिन थालेको छ । विभिन्न संघसंस्थाहरूले दर खुवाउन होडबाजी गर्न थालेका छन् । एक स्थानमा एक संस्थाले आयोजना गर्दा मितव्ययी हुन आउँछ । बेल्जियमका विभिन्न शहरहरूमा कुनै एक संस्थाको अगुवाइमा दर खाने र सामुहिक पुजा गर्ने प्रचलन स्थापना गर्न सके राम्रो हुने देखिन्छ ।

त्यो भन्दा पनि अबको पछिल्लो पुस्तालाई तीज के हो ? किन मनाउने र कसरी मनाउने भन्ने सिकाउन बुझाउन अनिवार्य छ । यो अहिलेका अहम् प्रश्न पनि हो । हामीले अबको पुस्तालाई पनि क्रमशः यसप्रति आकर्षित गर्दै लानु पदर्छ हैन भने प्रवासमा यो संस्कार मासिन सक्छ ।

000

कविता थपलीया, गृहणी, लुभेन

हरितालिका तीज महिलाको लागि बिशेष पर्व हो । यो पर्व समस्त हिन्दु नारीहरूको साझा पर्व हो । यो परापूर्व कालदेखि नै चलिआएको सनातनी पर्व पनि हो । हामीहरू बाल्यकालमा हुँदा घरमा चेलीबेटीहरूलाई बोलाउने र बर्ष दिन सम्म कामको चटारोमा परेका दिदी-बहिनीहरू माइत आउने र दु:ख-सुख बाँड्ने पर्व पनि हो । हामीहरू प्रवासमा रहेर पनि यो पर्वलाई मनाउन पाउनु गर्वको कुरा हो । यो पर्व र दरको भेटघाटले माईतीलाई बिर्सने पनि बनाउँछ ।

हामीहरूले अब आउने पुस्तालाई यो पर्वका बारेमा बुझाउन सकेनौँ भने प्रवासमा क्रमशः लोप हुने सम्भावना पनि छ ।

तसर्थ पनि हामीहरूले यो परम्परालाई निरन्तरता दिन आवश्यक छ । अवको पुस्तालाई पनि यस्को बारेमा सिकाउने र गर्न लगाउने जरुरी छ ।

000

रेणु केसी, समाजसेवी

हामी महिलाहरूलाई यस्तो कार्यक्रमले मनमा शान्ति दिन्छ । हामी यस्तो कार्यक्रममा सहभागी भएर मनोरंजन गर्दा माइती बिर्सने गछौं । हामी प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दा र सहभागी हुँदा हाम्रा ससाना नानीहरूले पनि हाम्रो परम्परा धर्म संस्कृतिको बारेमा जानकारी लिन्छन् । तसर्थ, यो पर्व र भेला भनेको एक प्रकारको सिक्ने वातावरण पनि हो ।

लामो समयसम्म नेपाल माइती जान नसक्दा हामी सबै महिलाहरूले माइती नै सम्झेर यस्तो कार्यक्रममा आउँछौँ । दर खान्छौँ । नाच्छौँ र रमाउँछौँ पनि ।

तसर्थ यो पर्व हामी नारीहरूको महान र साझा पर्व हो । यस्लाई निरन्तरता दिन आवश्यक छ ।

000

रश्मी निरौला, सामाजिक अभियन्ता

तीज पर्व हिन्दु नारीहरूका लागि बिशेष हुन्छ । त्यहि भएर पनि प्रवासमा समेत हामी नारीहरू एकठाउँमा जमघट भएर रमाईलो गर्ने र चाडलाई सम्झने गर्दछौ ।

परदेशी जीवनमा पनि आफ्नो चाँडलाई निरन्तरता दिइएको छ । माईतीको माया मोहलाई नविर्सनका लागि हामी एक ठाउँमा जम्मा भएका छौँ ।

हामी सबै जम्मा भएर, नाचेर, दर खाएर, पुजा आजा गरेर पनि प्रवासमा सबैजना एकसाथ छौँ भनेर सन्देश पनि दिएका छौँ ।

000

लक्ष्मी पाण्डे सापकोटा, पूर्वशिक्षिका /सामाजिक अभियन्ता, ब्रुज

,

तीज हिन्दु नारीहरूको महान र साझा पर्व हो । यो सदियौ देखि दिदिबहिनीहरूले माईतीमा आएर मनाउने पर्व पनि हो । तीजका दिन भगवान शिवजीको आराधना गर्ने र शिवजी जस्तै पति होस र पाइयोस भनेर पनि यो पर्व मनाउने गरिन्छ ।

प्रवासमा पनि हामी महिलाहरू निरहार ब्रत बसेर यो पर्व मनाउँछौ । धर्म संस्कृतिलाई निरन्तरता दिएका छौँ ।

ब्रत बस्नु राम्रो कुरा हो । शरिर हेरेर ब्रत बस्नु पर्दछ । मनमा आनन्द आउँछ । मन शुद्ध हुन्छ । सन्तुष्टि मिल्छ ।

तर पछिल्लो समयमा यो पर्वमा अलि तडक भडक देखिन थालेको छ । बिदेशमा महिलाहरू आत्मनिर्भर भएर होला अलि भड्कीलो देखिन्छ ।

अवका बर्षहरूमा तीज लगायतका चाडपर्वहरूमा तडकभडक कम पर्दै यस्लाई निरन्तरता दिन आवश्यक छ ।