काङ्ग्रेसको महाधिवेशनमा नेता र एजेन्डाको खोजी !

काङ्ग्रेसको महाधिवेशनमा नेता र एजेन्डाको खोजी !


काङ्ग्रेस महाधिवेशनले ‘नेता होइन, नीतिको’, ‘पपुलर भाषण होइन, एजेन्डाको’, ‘धन, डन र रवाफ होइन, सदाचार र सभ्यताको’ परीक्षण गरी मौलिक काङ्ग्रेसको पुनर्जागरण गर्न जिम्मेवार नेतृत्व चयन गर्न सक्नुपर्छ । नेतृत्वमा युवा भन्नाले उमेरको मानकलाई लिनु हुन्न, जिम्मेवारी, विचार र आचारण जस्ता मानकमा परीक्षण गर्नुपर्छ ।
  • उत्तम देवकोटा

देशकै ठुलो र प्रजातन्त्रको लडाइँमा खारिएको इतिहास बोकेको काङ्ग्रेस आफ्नो १४औँ महधिवेशनको मुखमा आइपुग्दा एजेन्डाविहीन जस्तै बन्न पुगेको छ । काङ्ग्रेसको यो हविगतले यसका कार्यकर्ता मात्र होइन देशको राजनीति र समाजको गतिशीलतामा पनि अन्योल देखिएको छ । काङ्ग्रेसको सिनियर पुस्ताले मात्र होइन युवा पुस्ता भन्न रुचाउने नयाँ पुस्ता पनि समाज र देशको राजनीतिलाई दिशाबोध गर्न सक्ने एजेन्डा लिएर आउनुको सट्टा काङ्ग्रेसको इतिहासको ब्याख्या गर्ने र सिनियर नेताको आशीर्वादको लागि संघर्ष गर्ने गरी एजेन्डा तयार गर्ने होडबाजीमा लाग्दा देशले खोजेको निकास र त्यसको लागि चाहिने नेतृत्व युवा पुस्ताबाट तत्काल परिपुरण हुने देखिन्न ।

प्रजातन्त्रको खारिएको इतिहास बोकेको काङ्ग्रेसले आफ्नै पार्टीको आन्तरिक प्रजातन्त्रलाई मुजबुद बनाउन नसक्नु, समयसापेक्ष एजेन्डा बनाउन नसक्नु, प्रजातन्तलाई नितान्त सीमित वर्गको हित र फाइदाका लागि प्रयोग गराउनु, आफ्नो पार्टीकार्यकर्तालाई आर्थिक अनुशासनमा रोक्न नसक्नु र समाज मा ब्याप्त भ्रष्टाचार तथा विसङ्गतिलाई नियन्त्रण गर्न नसक्नु आजको काङ्ग्रेसको लागि चुनौती हुन् । अन्तर्राष्ट्रिय सम्बद्ध र राष्ट्रिय हितको विषयमा देशभित्र एक मत निर्माण गर्ने, राष्ट्रिय पहिचान र स्वतन्त्र अस्तित्वको जगेर्ना गर्ने तथा देशभित्रका शक्तिहरूबीच समान्वय गरी राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा बनाउन सिनियर तथा युवा पुस्ता दुवै असमर्थ भएको देखिन्छ ।

प्रजातन्त्रको लडाइँ लडेको इतिहास बोकेको काङ्ग्रेस पार्टीको आन्तरिक जीवन यति धेरै अलोकतान्त्रिक छ कि उ आफ्नो महधिवेशन पनि निर्धारित समयमा गर्न सक्दैन र आफ्ना भातृसङ्गठनको नेतृत्व पनि समयमा महधिवेशनमार्फत चयन गर्न सक्दैन । यो पटक पनि महाधिवेशन गर्न उसलाई आफ्नो विधान होइन देशको संविधानले तोकेको अन्तिम समयसीमा कुर्नु पऱ्यो । स्वतःस्फुर्त समयमा नै महाधिवेशनको लागि तयार नहुनु अलोकतान्त्रिक पद्दति हो ।

त्यसैगरी नयाँ पुस्तालाई राजनीतिमा ल्याउने पहिलो खुड्किलो नेवि सङ्घका युवालाई राजनीतिमा अभ्यास गराउने तरुण दल, महिला सङ्घ जस्ता आफ्ना भातृसङ्गठनको अधिवेशन नगरी आसेपासेलाई टीका लगएर नेतृत्व दिने चलन प्रजातन्त्रको उपहास सिवाय अरु के हुन सक्छ ? समय गुजारेर सुरु भएको महाधिवेशनमा पनि गुट-उपगुट, चाकरी, धन, डन र नेतासँगको आत्मियताको रवाफले सहज रूपमा सक्षम नेतृत्व चयन हुन सकेन । कतिपय जिल्लामा केन्द्रले हस्तक्षेप बढाउँदा स्वतन्त्र अधिवेशन हुन सकेन र केन्द्रिय निर्वाचन समितिका सम्योजकले पटक-पटक राजीनामा दिन पऱ्यो भने पार्टीको केन्द्रिय कार्यालय कार्यकर्ताको अनसनस्थल बन्न पुग्यो । यो परिस्थितिमा महाधिवेशनमार्फत फेरि सभापति हुने तयारी गरेका शेरबहादुर देउवा वा पार्टीमा गुट-उपगुटको अभ्यास गरिरहेका रामचन्द्र पौडेलले पार्टीको आन्तरिक जीवनमा प्रजातन्त्रको एजेन्डालाई कसरी स्थापित गराउन सक्छन् भन्ने प्रश्न नसोध्ने बरु तिनै शेरबहादुर र पौडेलको फेरो समाइ राजनीतिमा फाइदा लिन सकिन्छ भन्ने मनोविज्ञान भएका युवा पुस्ताबाट प्रजातन्त्रको सुदृढिकरण को एजेन्डा स्थापित हुन सक्दैन ।

के महाधिवेशनमा देशको हराएको राष्ट्रिय पहिचान, कमजोर राष्ट्रिय एकता, मित्रराष्ट्रहरूसँगको अविचलित सम्बन्ध र त्यस्ता सम्बन्धहरूमा राष्ट्रिय स्वार्थको खोजी कमजोर भइरहेको बारेमा छलफल गर्न सक्ने नेता कोही निस्कन्छ ? पार्टी हितभन्दा ठुलो राष्ट्रिय हित हुन्छ भन्न सक्ने र यो कुरामा कम्युनिष्टहरूलाई समेत बाटो देखाउन सक्ने कोही निस्कन्छ यो महाधिवेशनमा ?

अर्को ज्वलन्त परिस्थिति भनेको पार्टीनेता तथा कार्यकर्तालाई आर्थिक अनुशासनमा राख्न नसक्नु र यो विषय नेताहरूको चुनावी एजेण्डा नबन्नु दुःखद् पक्ष हो । यो विषयलाई एजेण्डा बनाउने नैतिक बल अब काङ्ग्रेसको सिनियर पुस्ता र नयाँ पुस्ता दुवैसँग बाँकी छैन । नेताहरूको आर्थिक उन्नति कसरी भयो भनेर सोध्न नसक्ने युवा पुस्ता र आफ्नो जिवनशैलीको पारर्शिता कायम नगर्ने नेता-कार्यकर्ताबाट देशमा ब्याप्त भ्रष्टाचार र बेथितिको निवरण चुनावी एजेण्डा बन्न सक्दैन । स्थानीय निकायमा चुनाव जितेका कार्यकर्ता, जिल्लाको नेतृत्वमा भएका नेता, केन्द्रीय नेता र नेतावरिपरि रहेका मान्छेहरूको आर्थिक अपारर्शिताको विषय पार्टीसँग मात्र सरोकारको विषय होइन, यो त देशमा ब्याप्त भ्रष्टाचार र बेथितिको जड पनि हो । आर्थिक सदाचारको एजेण्डा काङ्ग्रेसको अबको नेतृत्वको एक महत्वपूर्ण विषय बन्न नसक्नु यो देशको र काङ्ग्रेसको भविष्यको चिन्ताको कुरा हो । के काङ्ग्रेसले हरेक तहमा चुनाव लड्ने नेता कार्यकर्तालाई उसको आर्थिक र आचारणको पाटोमा खुल्ला सामाजिक लेखा परीक्षण गर्न/गराउन पर्ने ब्यवस्था गर्न सक्छ ? कृष्णप्रसाद भट्टराईबाट सदाचारको पाठ कसले लिने ? जसले आर्थिक उपार्जनको लागि राजनीति गर्ने होइन भन्ने सिकाउन खोजेका थिए । हरेक तहको जिम्मेवारीबाट आर्थिक उपार्जन गर्ने र त्यही धनको खर्चबाट माथिल्लो तहको लागि आफूलाई योग्य सावित गर्ने परम्परा अब काङ्ग्रेसमा कसले तोड्ने ? बीपी, गणेशमान, कृष्णप्रसाद र सुवर्ण शमसेर जस्ता त्यागी र आर्थिक रूपमा लोभलालच नभएका नेताहरूबाट दीक्षित अहिलेका सिनियर नेताहरूबाट समेत हुन नसकेको यो कर्म अहिले आफैमा आर्थिक अपारदर्शिताको पर्याय बनेका नेताहरूबाट दीक्षित युवा पुस्ताबाट होला भन्ने आश अति कम भए पनि नेपाली जनाताको चाहना र काङ्ग्रेसको भविष्यको लागि युवा नेताहरू यो विषयमा प्रष्ट अवधारणा र आर्थिक पारदर्शिताको एजेन्डासहित महाधिवेशनमा आउनुपर्ने हो जुन अहिलेसम्म आएको छैन ।

महाधिवेशनमा लोकप्रियताको नारा मात्र परीक्षण नभइ देशको वर्तमान परिस्थितिमा राजनैतिक निकास दिने अवधारणाको पनि परीक्षण हुनुपर्ने हो । तर अपारदर्शी तरिकाबाट जोडिएको धनको प्रयोगबाट चुनाव जित्ने प्रचलन र विधी रहेसम्म काङ्ग्रेसले सिद्धान्तमाथि छलफल गर्दैन । सस्तो लोकप्रियताको नारा र धनको खर्चबाट चुनाव जित्ने बानी परेको काङ्ग्रेसका नयाँ तथा पुराना नेताहरूले आफूभित्र कृष्णप्रसाद भट्टराई कहिले खोज्ने ? जसले लोकप्रियता दोश्रो कुरा, राष्ट्रिय आवश्यकता पहिलो कुरा भन्ने पाठ सिकाएका थिए । के महाधिवेशनमा काङ्ग्रेसको जैविक दृष्टिकोण र बीचमा बिराएको बाटोबाट कोर्स करेक्सनको बारेमा छलफल गर्न सक्ने कोही नेता निस्कन सक्ला ? आज देशभित्रका सबै शक्तिहरू बीचको सन्तुलन बिग्रिएको र परिणामतः देशको एकीकृत राष्ट्रिय शक्ति क्षीण भएको बारेमा छलफल र निकासको एजेण्डा बोक्न सक्ने कोही नेता निस्कन सक्ला ? के महाधिवेशनमा देशको हराएको राष्ट्रिय पहिचान, कमजोर राष्ट्रिय एकता, मित्रराष्ट्रहरूसँगको अविचलित सम्बन्ध र त्यस्ता सम्बन्धहरूमा राष्ट्रिय स्वार्थको खोजी कमजोर भइरहेको बारेमा छलफल गर्न सक्ने नेता कोही निस्कन्छ ? पार्टी हितभन्दा ठुलो राष्ट्रिय हित हुन्छ भन्न सक्ने र यो कुरामा कम्युनिष्टहरूलाई समेत बाटो देखाउन सक्ने कोही निस्कन्छ यो महाधिवेशनमा ?

र अन्त्यमा, पटक-पटक परीक्षण भइसकेका र कुनै एजेण्डा बाँकी नभएका नेताहरू किन पार्टीको नेतृत्वमा पुग्न दाबी गरिरहेका छन् ? सत्ता र शक्तिको लालचबाहेक देश, पार्टी र जनाताको लागि यी परिक्षीत नेताहरू (Tested Leaders) सँग के एजन्डा छ ? यो प्रश्न सोध्न सक्ने नेता महाधिवेशनमा कोही निस्कन्छ ? पार्टीको कोर्स करेक्सनको एजेण्डा कसले बोक्ला ? नयाँ कृष्णप्रसाद भट्टराईको जन्म पार्टीमा फेरि कहिले होला ? राष्ट्रिय अस्तित्व संरक्षणको एजेण्डा कसले बोक्ला ? कि फेरि नेताहरूको दौराको फेरो समाएर माथि उक्लने थलो मात्र बन्ला महधिवेशन ?

यी प्रश्न मात्र होइनन्, आजको देशको आवश्यकता हो र लाखौँ प्रजातन्त्रप्रेमी राष्ट्रवादी जनाताको चासो पनि हो । यी प्रश्नको उत्तर कम्युनिस्ट नेताहरूसँग खोजेर पाइँदैन । काङ्ग्रेसको यो महाधिवेशनले ‘नेता होइन, नीतिको’, ‘पपुलर भाषण होइन, एजेन्डाको’, ‘धन, डन र रवाफ होइन, सदाचार र सभ्यताको’ परीक्षण गरी मौलिक काङ्ग्रेसको पुनर्जागरण गर्न जिम्मेवार नेतृत्व चयन गर्न सक्नुपर्छ । नेतृत्वमा युवा भन्नाले उमेरको मानकलाई लिनु हुन्न, जिम्मेवारी, विचार र आचारण जस्ता मानकमा परीक्षण गर्नुपर्छ ।