एउटा हाकिमको नलेखिएको डायरी

एउटा हाकिमको नलेखिएको डायरी


  • यश घिमिरे

दिनाङ्क …

बिहान ८ बजे –

‘‘यस्बेलासम्म चिया खान पाइया’ छैन । आफूलाई भने नखाइ ट्वाइलेट लाग्दैन ।’’- पलङमा सिरानीको अडेस लगाउँदै बसेर एक्लै भुतभुतायो । सिरानीबाट मोबाइल निकालेर अन्लाइन समाचारहरूमा आँखा लगाउँदै ओछ्यानबाटै करायो- ‘लौ न ए बुढी, चिया त देऊ ।’

श्रीमतीले ‘लेमन टी’ बनाएर घरमा काम गर्न राखेको १४ वर्षीया बच्ची अनिताको हातमा पठाइदिइन् । चिया दिँदै गर्दा छचल्किएर कपमुनिको प्लेटमा थोरै चुहियो । ढङ्ग नभएकी केटी भन्दै गाली गऱ्यो ।

१० बजे –

‘आज एउटा आइएनजीओको गोष्ठीमा निम्तो छ, म हिँडेँ’- श्रीमतीलाई यो भन्दा अरु भनिरहनु जरुरी सम्झेन । दौरा-सुरुवाल, कोट र ढाका टोपी लगायो । बाहिर माघेझरीको सिमसिम पानी पर्दै थियो । उसैलाई कुरेर बसेको तम्तयार ड्राइभर दौडेर आयो अनि छाता ओढाएर सरकारी गाडीसम्म पुऱ्यायो । ‘हाकिमसाब’को लागि एकहातले छाता ओढाउँदै अर्को हातले गाडीको ढोका खोलिदियो ।

मध्याह्न १२ बजे –

महिला तथा बालबालिकाहरूको आधारभुत मानवअधिकार, एसियाली मुलुकहरूमै नेपालको अवस्था दयनीय रहेको । महिलाले बिहान झिसमिसेबाट अबेर रातसम्म गर्ने श्रमको कुनै मुल्याङ्कन नभएको । गरिबीले गर्दा ठूलो संख्यामा बालबच्चाहरूले ५ कक्षा पुगेपछि स्कुल छोडेर घरेलु श्रमिक बन्नुपरेको । उनीहरूको आर्थिक, मानसिक र शारीरिक शोषणको अवस्था भयावह रहेको आदि-इत्यादिबारे गोष्ठीमा लामो भाषण दियो । भाषण जस्तै लामो ताली खायो ।

१४ बजे –

अफिस पुग्यो । कुर्चीमा कोट झुन्ड्यायो । टेबलमाथि चाङ लागेर बसेको सेवाग्राहीहरूको फाइलमध्ये टुप्पोको कुनोमा बिशेष ‘कोड’ अङ्कित फाइलहरू छुट्यायो र हेर्दै नहेरी रातो मसीको सही धस्कायो ।

अगाडि उभिएको पियनलाई भन्यो- ‘ल यो-यो फाइल अहिल्यै कार्यान्वयनको लागि पठाउनू । बाँकीचाहिँ पछि हेर्दै गरुम्ला ।’

१६ बजे –

‘अहो ! प्लटिङको लागि जग्गा हेर्न जानु छ’- झँल्यास्स सम्झियो अनि एक मिनेट पनि ढिलो नगरी कार्यालयबाट निस्कियो ।

१८ बजे –

साँझ दैनिक भेटघाट हुने, सम्बन्धित बिचौलियाहरूसँग अतिरिक्त आम्दानीको हिसाबकिताब हुने खाजाघरमा पुग्यो । एकपछि अर्को गर्दै साथीभाइ र ‘ब्रान्डेड’ रक्सीको पेगहरू थपिँदै गए । एक-डेढ घन्टामा सधैंको जसरी श्रीमतीको फोन आयो- ‘आउने बेला भएन ?’

सधैंको जसरी नै जवाफ दियो- ‘ल ल आइहालेँ ।’

२० बजे –

घर पुग्यो । श्रीमती र काम गर्न राखिएको केटी सिटिङरूममा बसेर ‘कहानी घर–घर की’ टेलिश्रृङ्खला हेर्दै रहेछन् । श्रीमानलाई देखेर सधैंको जसरी कामदारलाई अह्राइ- ‘अनिता, सरलाई खाना तताइदे !’
उसले पनि सधैं भन्ने जवाफ दियो- ‘होस्, पर्दैन । खाएर आइसकेँ ।’
बच्चाहरूको कोठाको ढोका खुल्लै रहेछ, यसो चियायो- सुतिसकेछन् । आफ्नो कोठातिर लाग्यो ।

‘किङ्ग साइज’ पलङमा ढल्केर मन्त्रालयको सचिवज्यूलाई फोन लगायो । सकेको चाकडी बजायो । आफुले सक्दो गर्दागर्दै पनि अमुक-अमुक पत्रकारले साह्रै खेदो गर्ने गरेको बिन्ती बिसायो ।

फोन गर्नुपर्ने र बोल्नुपर्ने अन्य ठाउँहरूमा पनि फोन घुमायो ।

२२ बजे –

फेसबुक खोल्यो । एउटा देशभक्तिले ओतप्रोत भएको कविता पोस्ट्यायो । दुइ-चार भद्रभलाद्मीका पोस्टहरूमा ‘थम्ब्स अप’ थिच्यो । अनि तानवी र नवीनालाई एउटै ब्यहोरा राखेर इन्बक्समा लेख्यो- ‘हेलो डियर, गुड एभनिङ, सन्चै ?’

उताबाट केही आशा र गुनासाका पोकाहरू फुके । धेरैबेरसम्म पालैपालो जवाफ फर्काउँदै बस्यो ।

० बजे –

श्रीमती आइन् । बत्ती निभाएर उतिर ढाड फर्काएर सुतिन् । उसको च्याटिङको पनि अन्त्य भयो । सुत्यो ।
……