बस्नेत र राणामाथि गरिएको हिंसाको विरोध

बस्नेत र राणामाथि गरिएको हिंसाको विरोध


घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत र संचारकर्मी एवम् सिड कमिटी सदस्य बन्दना राणामाथि सुनियोजित रूपमा गरिएको संगठनात्मक डिजिटल आक्रमणको विभिन्न संघ-संस्था तथा ब्यक्तित्वहरूले विरोध गरेका छन् ।

बन्दना राणाले अभिनेता पल शाहसम्बन्धी मुद्दामा सामाजिक संजालमा लेखेको स्टेटस् र बबिता बस्नेतको २०७८ फाल्गुण १८ गते घटना र विचारमा प्रकाशित ‘बलात्कारसम्बन्धी कानूनको समीक्षा गरौँ’ शीर्षकको लेखलाई लिएर एउटा समूहले बस्नेत र राणालाई बहिष्कार गरौँ भन्दै अभियान चलाएका थिए ।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरी बबिता र बन्दनाविरुद्ध सामाजिक संजालमा देखिइरहेका अभिब्यक्तिप्रति आपत्ति जनाएको छ ।

महासङ्घको विज्ञप्तिमा भनिएको छ- ‘बस्नेतले लेखेको लेख र राणाले सामाजिक संजालमार्फत अभिब्यक्त गरेको धारणालाई लिएर उहाँहरूलाई बहिष्कार गर्नेसम्मका अभियान सामाजिक संजालमा देखिनु दुःखद घटना हो । कुनै विषयमा लेख, रचनामार्फत आफ्नो विचार राख्न पाउनु प्रत्येक ब्यक्तिको अभिब्यक्ति स्वतन्त्रता हो । कसैले सार्वजनिक रूपमा ब्यक्त गरेको विचारको विरोध या खण्डन गर्न पाउनु पनि अभब्यक्ति स्वतन्त्रता नै हो । लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध या खण्डन बहस र अभिब्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट हुनुपर्छ । विचार ब्यक्त गरेकै कारण उहाँहरूलाई हतोत्साही गर्ने, बहिष्कार गर्ने जस्ता अभियान चलाउनु अभिब्यक्ति स्वतन्त्रताको विरुद्ध हो ।’

यसैगरी लोकतन्त्र र प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत फ्रिडम फोरमले सम्पादक बबिता बस्नेतमाथि भएको संगठित डिजिटल हिंसाको विरोध गरेको छ । यसैगरी महिला पत्रकारहरूको संस्था संचारिका समूहले संस्थाका पूर्व अध्यक्षद्वय बन्दना राणा र बबिता बस्नेतमाथि भएको संगठित डिजिटल हिंसाप्रति खेद प्रकट गर्दै यस्ता अभियानले नेपालको महिला आन्दोलन कमजोर बनाएको उल्लेख गरेको छ ।

सम्पादक बबिता बस्नेतले आफूले लेखेको लेख कुनै एक ब्यक्तिप्रति लक्षित नभइ कानूनको सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै आफ्नो देशको कुनै पनि नीति तथा कानूनका बारेमा विश्लेषण गर्न र सुझाव दिन हरेक नेपाली नागरिक स्वतन्त्र भएको बताउनु भएको छ । ‘टीनएजर’ युवाहरूले सहमतिमा सम्बन्ध राख्दा बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका घटनाप्रति एउटा पत्रकारको रूपमा आफू गम्भीर रहेको बताउँदै उहाँले भन्नुभयो- ‘बलात्कारका बारेमा मैले पहिलोपल्ट कलम चलाएको होइन, वर्षौंदेखि लेखिरहेकी छु । उक्त लेख मैले बालबालिका र वयष्कका लागि नभइ १७/१८ वर्षका युवाहरूको बारेमा लेखेको हो । सहमतिको सम्बन्ध राखे पनि बलात्कार ठहरिने कानून युवाहरूको सवालमा ठिक छैन र यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो धारणा जेल परेका केही निर्दोष युवाहरू, प्रहरी र न्यायलयसम्बद्ध ब्यक्तित्वहरूलाई भेटेपछि बनेको हो । आफूले देखेको वास्तविकता एउटा पत्रकारको रूपमा सर्वसाधारणदेखि नीति निर्माण तहसम्म पुगोस् भन्ने लागेर मैले लेखेकी हुँ । जुन धारणाप्रति म प्रतिबद्ध छु ।’

लेखेकै कारणले सम्पादक बस्नेतमाथि गरिएको हिंसालाई लिएर शुभ संचार प्रालिले खेद ब्यक्त गरेको छ ।

लेख हेर्नुहोस्-