रुइबा : चिनियाँ कारागार र न्याउलीको कथा

रुइबा : चिनियाँ कारागार र न्याउलीको कथा



‘रुइबा’ झट्ट सुन्दा कुनै युवतीको नाम जस्तो लाग्छ । ‘रुइबा’ उपन्यासको आवरणमा लेखिएको यो नामले मुख्य पात्र रुइबा होलिन् जस्तो लागेको थियो । तर पढ्दै जाँदा थाहा भयो कुरा अर्कै रहेछ । चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’को सुरुमै लेखिएको छ- ‘यस उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन् । कोही कसैसँग मेल खाएमा संयोग मात्र मानिने छ ।’ कथा काल्पनिक भए यस्तो लेखिरहनु नै पर्दैन भन्ने ठान्दै पढ्न सुरु गरेको यो उपन्यास साँच्चिकै सत्य घटनामा आधारित लाग्छ । लेखकले नै काल्पनिक भनेपछि सायद मानिदिनुपर्छ, तर घटनाक्रमहरूले उपन्यासलाई काल्पनिक मान्दैनन् । मानिसहरू काल्पनिक कुरालाई सत्य घटनामा आधारित र सत्य घटनामा आधारितलाई काल्पनिक किन भन्छन् ? आफू ‘पोलिटिकल्ली करेक्ट’ हुन सायद साहित्यमा यस्तो गरिन्छ, गर्ने गरिएको छ । विशेषगरी सत्य घटनालाई काल्पनिक भन्ने अर्थमा ।

जङ्गलमा विरही गीत गाउनुपर्ने न्याउली कसरी जेलमा पुगी ? कथा चीनको सछ्वान प्रान्त घुम्न जाने सिलसिलाबाट सुरु हुन्छ । उपन्यासका लेखक चेतनाथ आचार्य लामो समयदेखि चीनको राजधानी बेइजिङमा बस्दै आएका छन् । स्वभाविकै हो कि पत्रकारका रूपमा लेखकले धेरै ठाउँको भ्रमण गरेका छन्, तर विभिन्न सजिला-अप्ठ्यारा परिस्थिति भोगेका मानिसहरूसँग भेटघाट गरेका छन् । ‘रुइबा’ यस्तो पात्रको कथा हो जसले नेपालमा भइरहेका विभिन्न घटनाक्रमदेखि अपराधीहरूको अन्तर्राष्ट्रिय जालो सम्मलाई प्रतिनिधित्व गर्छ ।

धादिङको पावाङ गाउँकी न्याउली तामाङ आफ्नै गाउँमा दुःखसुख गरेर सामान्य जीवन बिताइरहेकी थिइन् । हुर्कंदै बढ्दै जाँदा उनको जीवनमा एकपछि अर्को नसोचेका घटनाहरू भए । आम युवतीको जस्तै किशोरी अवस्थामा विवाह भयो । विवाहपछि दुई बच्चाहरू भए । बच्चाको लालनपालन र आफ्नो जिन्दगी धान्न पति वैदेशिक रोजगारीमा गए । दलालमार्फत विदेशिएका उनको मलेशियामै मृत्यु भयो । ऋण तिर्ने एक मात्र आश पतिको मृत्यु भएपछि गर्भे टुहुरी छोरीलाई लिएर काठ्माडौं आएकी न्याउलीले छोरी सोममायालाई बालमन्दिरमा राखिन् । छोरा मङ्गले हजुरआमासँग घरमै थिए, काठमाडौं शहर उनका लागि पनि निर्मम बन्यो जसरी आम गाउँलेहरूका लागि बन्छ । आफूले काम गरेकी ठाउँकी साउनीको टोकासो, समयमा नपाएको तलब, ‘के गरुँ, कसो गरुँ’को जिन्दगी । त्यसैबीच निरक्षर न्याउलीलाई लागुऔषध ओसार पसार गर्ने मानिसहरूले भेट्छन् । चाँडै धनी बन्ने सपना देखाउँछन् । खास कुरा के हो, के गर्नुपर्ने हो थाहै नपाइ उनको पासपोर्ट बनाइन्छ । पेटभरि लागुऔषधका गोली खाएर उनको चीनतर्फको यात्रा सुरु हुन्छ । अन्ततः उनको यात्रा जेलमा गएर टुङ्गिन्छ । न्याउलीको चिनियाँ भाषाको अनुवादित नाम स्याउ न्याओ राखिन्छ । स्याउ न्याओ जेल परेका सैयौँ अपराधीमध्ये सोझी र निर्दोष हुन्छिन् । आफूले के गरिरहेको छु भन्ने थाहै नपाइ उनी अपराधिक गतिविधिमा सामेल थिइन् भन्ने कुरा प्रहरीदेखि न्यायलयसम्म सबैलाई थाहा हुन्छ, जानकारी भएपनि अपराध त अपराध नै हो । यही जानकारीका कारण उनले मृत्युदण्ड पाउँदिनन् तर आजीवन काराबास भने भोग्नुपर्छ ।

‘रुइबा’ तामाङ जातिको मृत्यु संस्कारको शब्द रहेछ । छोरा र छोरीमा विभेद नगर्ने तामाङ जातिमा छोरीको महत्व निकै छ । बाँच्दा मात्र होइन मृत्युमा पनि त्यतिकै महत्व दिइन्छ । अहिले जेलमैं रहेकी न्याउलीलाई लाग्छ, म मरेपछि माइतीले मेरो संस्कार गर्न पनि पाउँदैनन् । न्याउलीलाई अभियोग सन् २००६ को अक्टुबर १६ तारिखका दिनदेखि चीनमा थुनिएकी उनी अहिले छाङ्ग्तुनगर कारागारमा रहेकी छन् ।

पुस्तकमा गरिएको चीनको जेलको वर्णन रोचक छ । विभिन्न अपराधमा जेल परेकाहरूलाई गर्ने सरकारी अधिकारीको ब्यवहार परिवारका सदस्यलाई जस्तो छ । उनीहरू सँगै बसेर सुन्दर तरिकाले चाडबाड बनाउँछन् । खानेकुरा खान सुरु गर्नुअघि कैदीहरूलाई सम्बोधन गर्दै जेलर भन्छन्, ‘हामी एउटै परिवारका सदस्य हौं । रमाइलो गरेर चाड मनाऔं ।’ जेल परेकाहरू कोही पनि खाली हात बस्दैनन् । सबैले कुनै न कुनै काम गर्छन् । आ-आफ्नो इलम गरेर पैसा कमाउँछन् र घर पठाउँछन् । न्याउलीसँग पनि पैसा छ, काम गरेर उनले कमाएकी छन् तर घर पठाउने उपाय छैन । पैसा घरसम्म पुऱ्याइदिने मानिस छैनन् । आफ्नी आमा, माइती परिवार र छोरो मङ्गलेको अवस्था कस्तो छ भन्ने उनलाई थाहा पनि छैन । चन्द्रमामा आफन्त हेर्नेदेखि लिएर वसन्त ऋतुलाई स्वागत गर्नेसम्म चीनका चाडबाडहरू अनौठा हुँदा रहेछन् । पुस्तक पढ्दा त्यहाँका चाडबाड पनि सरर आँखा अगाडि आउँछन् । चीनमा बन्दीलाई उपहार दिइँदोरहेछ, चाडबाडमा मन खिन्न नहोस् भनेर खेलमा प्रतिस्पर्धा गराइँदोरहेछ र जन्म दिन मनाइदिने गरिँदोरहेछ । नेपालमा कुनै अपराधमा जेल परेपछि जिन्दगीभर अपराध मात्रै बोध गराइन्छ तर चीनमा कैदीहरूलाई खुशी र रमाइलो महसूस पनि गराइँदोरहेछ ।

‘रुइबा’ले गाउँबाट काठमाडौं आउने सर्वसाधारणलाई सजग हुनुपर्ने सन्देश दिएको छ । धेरैको लागि काठमाडौं निर्मम छ, यहाँ जे पनि हुन सक्छ र केही नहुन पनि सक्छ । प्रत्येक दिन गाउँबाट कामको खोजीमा न्याउलीहरूको काठमाडौं प्रवेश हुन्छ । धेरैको कथा दोहोरिन्छ । नजाने कति न्याउलीहरू विभिन्न मुलुकको जेलमा होलान् । चीनको जेलमा रहेकी न्याउलीको बारेमा जर्मन नागरिकमार्फत राजदुतावासले थाहा पाएको हो । काठमाडौंको बालगृहबाट सोममायालाई धर्मछोरी बनाएर लाने जर्मन आमाले खोजी गर्ने क्रममा न्याउलीको बारेमा पत्ता लागेको हो । सोधखोज गरिदिने कोही नहुँदा कति न्याउलीहरू अहिले विभिन्न जेलमा होलान् । अपराधिक जालोबाट नेपालीहरूको मुक्तिका लागि के पहल गर्न सकिएला ? पुस्तक पढिसक्दा पाठकको मनमा अनायसै यस्तो प्रश्न आउँछ । प्रश्नहरू अरु धेरै हुन सक्छन् तर जवाफ एउटै छ, आत्मनिर्भरता र सचेतता । म कहाँ जाँदैछु ? किन जाँदैछु ? कसैले मलाई किन राम्रो गर्दैछ ? यो काम मैले के कारणले पाइरहेको छु ? यति धेरै पैसा एकैपल्ट किन दिन्छु भन्यो ? रोजगारीका नाममा आउने कुनै पनि अस्वाभाविक अफरहरूमा हरेक सर्वसाधारणले यस्ता प्रश्नहरू आफैसँग गर्नु आवश्यक छ । उपन्यासका लेखक चेतनाथ आचार्यले यो पुस्तकमार्फत ब्यक्ति, समाज र राज्यलाई एकै पटक विविध सन्देश दिएका छन् । ‘रुइबा’ धेरै चर्चा नपाएको तर सर्वसाधारण नेपालीले पढ्नैपर्ने पुस्तक हो ।

  • बबिता बस्नेत