नेताको अधिकार गल्ती गर्नु, जनताको कर्तव्य माफी दिनु !

नेताको अधिकार गल्ती गर्नु, जनताको कर्तव्य माफी दिनु !


  • स्वयम्भूनाथ कार्की

नेपालमा शीर्ष नेताको विषेशाधिकार भएको छ बारम्बार गल्ती गरेर देश र जनतालाई पिर्नु । अघाउन्जेल गल्ती गरेर आफ्नो स्वार्थ पूरा भएपछि कोही स्वयम् माफी मागेको नौटङ्की गर्छन्, कोहीचाहिँ त्यही नौटङ्की पनि आफ्ना अह्रौटे-भरौटेमार्फत मञ्चन गर्छन् । यस्तो लाग्छ- गल्ती गर्नु नेता भनिएकाहरूको जन्मसिद्ध अधिकार हो र, माफी मागे पनि नमागे पनि माफ गर्नु जनताको बाध्यात्मक कर्तव्य हो । जनतालाई माफी नदिने अधिकार भने बिल्कुलै छैन । यसक्रममा मुलुक तथा जनतामाथि भएको कुनै पनि हानी-नोक्सानीको जिम्मेवारी नेताले बोक्नु पर्दैन । हद नै भए राज्यले क्षतिपूर्ति ब्यहोर्ला, तर राज्यले क्षतिपूर्ति ब्यहोर्ने कोष भने जनताकै रगत-पसिनाको कमाइबाट जम्मा गरिएको ‘कर’बाट बनेको हुन्छ । अनि कोष रित्तिएमा अनेकौँ बहानामा कर थपेर पूरा गरिन्छ ।

राजश्व जनताको सम्पत्ति हो, यसको आज जस्तो दुरुपयोग त नेपालको इतिहासमा कहिल्यै भएको थिएन । दुरुपयोगको प्रमाण खोज्न मेहेनत नै गर्नु पर्दैन । विगत दशकमा पहिलेकाले भन्दा ज्यादा राजश्व संकलन गर्ने होड चलेको छ । जनताको आर्थिक अवस्था दयनिय भइरहेको बेलामा पनि राजश्व भने लक्ष्यभन्दा धेरै संकलन भएको कुरा सगौरव प्रस्तुत गरिने गरेको छ । जब जनतालाई लाभ दिने परियोजनामा लगानी गर्ने कुरा आउँछ तब खर्च धान्न नसक्ने रोदन सुन्नुपर्दछ । दातासँग हात पसारिन्छ, अनेकौँ अनुचित र मुलुकले दूरगामी दुष्परिणाम भोग्नुपर्ने शर्तमा विदेशी कम्पनीलाई सुम्पने होडबाजी चल्छ । यसको भार जनताले बोक्नु पर्दछ तर कमिसन तथा लाभ भने नेताको पोल्टामा पर्छ ।

सबैजसो सरकारी कार्यालयहरूमा अत्याधिक कर्मचारी छन् भनिन्छ । तिनलाई तलब सुविधा दिन राजश्व बढाउनुपर्ने विवशता प्रदर्शन गरिन्छ । अनि कुनै काम मुलुक र जनताको हितमा गर्नुपऱ्यो भने जनशक्ति अभावको बहाना बनाइन्छ । त्यसपछि त विदेशीलाई कामको ठेक्का सुम्पने बाटो खुलिहाल्छ । कसैले यसो गर्नु हुँदैन भन्यो भने हण्डी खाएका अनेकौँ संस्था, समुह र व्यक्ति छन् त्यसको झाँको झार्न । बोलीमा अचम्म तरिकाले बन्देज छ, कसैले केही भन्न खोज्यो भने प्रश्न बर्सन्छ, उसँग त्यसको उत्तर भए पनि दिन भने पाउँदैन । एक वाक्य बोल्न नपाउँदै अर्को प्रश्न, आफ्नै व्याख्या शुरु हुन्छ ।

केही गरेर यी कुराहरू गलत सावित भयो वा जनआक्रोश बढ्यो भने माफी माग्ने ब्रम्हास्त्र तैयार छ । माफी मागिसकेको पनि हुँदैन अर्को त्यही प्रकारको गल्ती गर्न शुरु गरिसकिएको हुन्छ । सरकारको विरुद्धमा विरोध शुरु भए त्यही जनताको राजश्व खर्चेर गरेको दमनले केही जनताले प्राण त्याग्छन् । अनि सरकार तिनलाई नै शहीद घोषणा गरेर दस लाखको दरले राजश्वबाटै बुझाउँछ । आफ्ना विरुद्ध आन्दोलन गरेर आफैले प्राण हरेकाहरू शहीद हुन् भने शहीदको प्राण लिने खलनायक हुन् । यो विश्वले मानेको मापदण्ड हो, शहीदको प्राण हर्ने सत्तामा बस्न पाउँदैन उसमाथि कानुनी वा जनअदालतमा कारवाही हुन्छ ।

तर नेताले माफी मागेपछि उ चोखिन्छ, फेरि गल्ती नदोहोऱ्योउने शर्तमा हैन थप गल्ती गर्ने प्रतिवद्धताका साथ । यस्ता नेताहरूको विकल्प छैन भनेर बुद्धिजीवीमा दरिएकाहरू जनतालाई सम्झाउन थाल्छन् । जनता यति निरीह भएको छ कि न उ नेतालाई केही भन्न सक्छ न यस्ता बुद्धिजीवीको मुखमा मोसो नै पोत्न सक्छ । उ केवल चुपचाप सबै सहन विवश छ । नेपालमा अब एक्लो नाता भएर बाँच्न सक्ने अवस्था छैन । कुनै समुहसँग टाँसिन पाएर वा शक्तिकेन्द्रको चाकरी गर्न पाएर आफ्नो सामुन्ने ठालु भएका उदाहरण जनता देख्दैछन् । आफ्नो वा सन्ततिको भविष्य दिगोरूपमा सुरक्षित गर्न आवाज उठाउनु जनतालाई कठिन काम लाग्न थालेको छ । बरु आफू पनि त्यसै गरेर सहज जीवनयापन गर्नेतिर लाग्छ ।

हिजोसम्म तन्नम अवस्थामा भएका वर्तमान नेताहरू जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वले सम्पन्न भएका छन् । विश्वमा गरिव जनता भएको मुलुकका नेताहरू भने सम्पन्न छन् । बैठक गर्न तारे रिसोर्ट, अवतजावत गर्न करोडौँ मूल्यका गाडीको ताँती, सुरक्षाको निमित्त सैकडौँ सुरक्षकर्मीको ताँती नेपाली नेताको परिचय हो । सिंगापुर, थाइल्याण्ड अमेरिका, जापान जस्ता मुलुकमा वर्षमा दुई-चार चोटि ओहोरदोहोर सामान्य जीवनशैली भएको छ । रुघाखोकीको उपचार गर्न पनि एयर एम्बुलेन्स, विदेशका महँगा अस्पताल नभइ हुँदैन । यत्तिको राजशी जीवनशैलीले त विश्वको औंलामा गन्न सकिने धनीलाई पनि इष्र्या गर्न विवश बनाउछ ।

यो सब हुनाको कारण केवल एक छ, त्यो हो- जनताले आफ्नो विवश कर्तव्य सम्झेर लगातार दिने गरेको माफी । जबसम्म जनताले भो अब पुग्यो माफी भन्दैन तबसम्म यो क्रम रोकिँदैन । बुझ्नै नसकेको कुरा त यो छ कि आफ्नो काम गर्नेले काम बिगारेको अवस्थामा हत्तपत्ति माफी नदिने जनता राष्ट्र बिगार्नेलाई हमेसा माफ कसरी गर्छ ? एक रुमाल किन्दा पनि राम्रो छान्न एक घण्टा लगाउने जनता नेता छान्न एक सेकेन्ड पनि किन खर्च गर्दैन ? कटेरो बनाउने कालिगढ कत्तिको सिपालु छ भनेर खोजी गर्ने जनता देश बनाउछु भन्नेसँग क्षमता छ-छैन किन चासो राख्दैन ? अब नेताहरूलाई माफी हैन सजाय दिने बेला भएन र ?