प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने बताए । पदोन्नतिपछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने बाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भइ जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उनको भनाइ थियो ।
साथै, प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गरेकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गरे ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक वसन्तबहादुर कुँवरले कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, वफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया