बालबालिकाका लागि २३ लाख मात्रा खोप आयो

बालबालिकाका लागि २३ लाख मात्रा खोप आयो


असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने

कोरोना भाइरस विरुद्ध बालबालिकालाई लगाइने खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप आइतबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।

चौरसियाका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । यही असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ ।

यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो । सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ ।

पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो । सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।

यस्तै, दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने बताइएको छ ।