काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-९ स्थित श्री शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनहरूको उद्घाटन गरेका छन् ।
शिक्षा क्षेत्रमा भारत-नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा भारत सरकारको आर्थिक सहयोग पाँच करोड ९२ लाख लागतमा उल्लिखित दुई परियोजना अघि बढाइएको हो ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघिसारेको ‘India@75 आजादीका अमृत महोत्सव’कै एक हिस्साको रूपमा यी परियोजनाहरुको उद्घाटन गरिएको हो ।

शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । यी विद्यालयका लागि मित्रराष्ट्र भारतको सहयोगमा निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कपिलवस्तु जिल्लाका पाँच गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ज्ञातव्य छ, भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
प्रतिक्रिया