बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामध्ये हालसम्म चार वटा वडाको मतगणना सकिएको छ । मतगणना सकिएका चार वटै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका चार वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।
वडा नम्बर १ मा नेकपा एमालेका रणबहादुर थापा, वडा नम्बर-२ मा पदम बहादुर भण्डारी, वडा नम्बर-८ मा मीनबहादुर सिंह र वडा नम्बर-१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् ।
बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर)ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।
प्रतिक्रिया