डिएसपीले पोखरीमा धकेलेर आफूमाथि अन्याय गरेको वडाध्यक्षको दुःखेसो

डिएसपीले पोखरीमा धकेलेर आफूमाथि अन्याय गरेको वडाध्यक्षको दुःखेसो


रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई बुटवलका डिएसपी ठगबहादुर केसीले पौडीपोखरीमा धकेलिदिएपछि आलोचना भएको छ ।

आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले ठूलो अन्याय गरेको वडाध्यक्ष क्षेत्रीले प्रतिक्रिया दिएका छन् । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस्,’ उनको माग छ ।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफूअनुकुल निर्णय हुने नदेखेपछि नगरप्रमुख खाणले गणपुरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।