पाल्पामा सडक-ठेकेदारको २० लाख रुपैयाँ लुटियो

पाल्पामा सडक-ठेकेदारको २० लाख रुपैयाँ लुटियो


पाल्पामा सडक-ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ लुटपाट भएको छ ।

पन्थ तानसेन नगरपालिका-५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधीन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना-थोर्गा-पानीट्याङ्की सडकका ठेकेदार हुन् ।

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र. ३ ०१-०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका-५ ढुंगाखानीनजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

सोही बेला पन्थ समेत दुई जनालाई अन्दाजी ७/८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चाबी समेत लुटी फरार भएका थिए ।

कुटपिटबाट घाइते भएका पन्थसमेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।