सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्दा तीनको मृत्यु, १२ जना घाइते

सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्दा तीनको मृत्यु, १२ जना घाइते


  • तस्बिर रासस

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जनाएका छन् ।

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीको भनाइ छ । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्‍याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा प्रहरी लागेको जानकारी दिँदै डिएस्पी पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्न सक्ने बताए । मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रुख आइतबार दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको थियो ।

यसैक्रममा प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको नि:शुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।