राष्ट्रपतिको चिन्ता : साँस्कृतिक पुनर्जागरणका निम्ति शिक्षा नै पहिलो शर्त हो

राष्ट्रपतिको चिन्ता : साँस्कृतिक पुनर्जागरणका निम्ति शिक्षा नै पहिलो शर्त हो


राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अवस्थालाई लिएर गम्भीर चिन्ता प्रकट गर्नुभएको छ । मुलुकको अर्थतन्त्रलाई लिएर यसरी उहाँले सर्वाजनिक रूपमै चिन्ता प्रकट गर्नुभएको सम्भवतः पहिलो पटक हो ।

मंगलबार (साउन १० गते) शितल निवासमा आयोजित एक विशेष समारोहमा विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको नाजुक अर्थतन्त्र र विश्वव्यापी तापमान वृद्धिले नेपाललाई पारेको असरलाई लिएर गम्भीर बन्न सरकार र आमनागरिकलाई आह्वान गर्नुभयो ।

राष्ट्रपतिको भनाइ छ- ‘अर्थतन्त्रमा हाल देखिएका चुनौतीलाई कम गर्न तत्काल दुई उपायहरू अवलम्बन गर्नुपर्ने देखिएको छ, यसमध्ये पहिलो हो- फजुल खर्च नियन्त्रण र मितब्ययिता अवलम्बन । हरेक नागरिक, परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ । दोस्रो- अर्थ व्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्नेगरी कामको सुरुवात गर्नुपर्दछ ।’

उहाँले खेतबारी बाँझो नराख्न बेग्लै अभियान चलाउन आवश्यक भएको बताउँदै स्थानीय जनप्रतिनिधिहरूले यस किसिमको अभियानको नेतृत्व गर्नसक्ने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिले विदेशी मुद्राको सञ्चितिमा आएको ह्रासप्रति चिन्ता जनाउँदै विदेशी मुद्राको ठूलो अङ्श पेट्रोलियम पदार्थ आयातमा खर्च भइरहेकोले जलविद्युतलाई जनताको भान्सासम्म पुऱ्याएर एलपी ग्यासको आयात कम गर्दै लैजान सकिने सुझाव पनि दिनुभएको छ । उहाँले ‘नेपालको मौलिक पहिचान, संस्कृति र सभ्यता हाम्रो स्वाधीनतासँग अन्तरसम्बन्धित रहेको स्पष्ट गर्दै भन्नुभएको छ- ‘बौद्ध एवम् सनातन सभ्यताहरूको विकास भएको मानिने हाम्रो भूखण्डसँग भएका सम्भावनाहरूलाई व्यवहारमा रुपान्तरण गर्न सबल शिक्षा प्रणालीको आवश्यकता रहेको छ । मुलुकको सांस्कृतिक एवम् सभ्यतागत पुनर्जागरणका लागि शिक्षा नै पहिलो र एक मात्र शर्त हो ।’

पर्वतीय मुलुक भएको हुनाले नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको सूचिमा सबैभन्दा माथि रहेको बताउँदै राष्ट्रपति भण्डारीले अगाडि भन्नुभएको छ- ‘पानीका प्राकृतिक मुहानहरू सुक्दै जान थालेका छन् भने हाम्रो हिमालमा हिउँको मात्रा घट्दै गएको छ, वर्षातको प्रवृत्ति बदलिएको छ । हिमाली क्षेत्रको तापक्रम निरन्तर बढिरहेको निष्कर्श वैज्ञानिकहरूको छ । यसतर्फ सबैको गम्भीर ध्यान जान आवश्यक छ ।’