- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ३ अन्तर्गत नारायणी नदी नियन्त्रणको लागि राखिएको प्रकोपाइन चोरी भएको छ । सुस्ता ३ रेवा गाउँदेखि दक्षिणतर्फ नदीको किनारामा राखिएका प्रकोपाइन मध्ये ६० पिस चोरी भएको गण्डक योजनामा नेपाल सरकारका मुख्य अधिकारी लाइजन अधिकृत अमित खड्काले जानकारी दिनुभएको छ ।
नदीको धार नियन्त्रणका लागि सयौँको संख्यामा राखिएको प्रकोपाइन तीन दिनपूर्व चोरी भएको बारे इलाका प्रहरी कार्यालय बेलाटारीलाई जानकारी गराइएको खड्काले बताउनुभयो ।
नारायणी नदीको बेग रोक्न र नेपालतर्फको भूक्षय रोक्नका लागि भारत उत्त प्रदेश सिचाईं कार्यालय महाराजगन्जबाट ल्याइएको प्रकोपाइनलाई केही कुनियत भएका अज्ञात ब्यक्तिबाट चोरिएको भारतीय जुनधिर प्रावधिक रविन्द्र प्रसाद यादवले बताएका छन् ।

नदी नियन्त्रण कार्यका लागि नदीकिनारामा राखिएको प्रकोपाइन चोरी भएको तीन दिन बितिसक्दा पनि चोर पत्ता लगाउन सकेको छैन भने प्रहरीले गोप्य रुपमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । नेपाल भूमिमा नदी नियन्त्रण कार्य भारतीय पक्षले गर्दै आएकोमा नदी नियन्त्रण सामाग्री नै चोरी हुनुलाई चिन्ताको विषय भएको भारतीय पक्षले बताउँदै आएको छ ।
यसैगरी सुस्ता गाउँपालिका ३ रेवाअन्तर्गत नारायणी नदी किनारामा भारतीय पक्षबाट निर्माण गर्न थालिएको रेगुलेटर साइफनलाई केही स्थानीयले अवरोध गरेको जुनियर प्राविधिक रविन्द्र यादवले जानकारी दिनुभएको छ । पहाडी खोलाको पानी नदीतर्फ जान दिने र नदीमा आउने बाढीको पानी बस्तीतर्फ आउन रोक्ने उद्देश्यले निर्माण गर्न लागिएको साईफनलाई केही स्थानीयले आफ्नो जमिन परेको भन्दै निर्माण रोकेको बताइएको छ ।
भारत युपी सरकारले ४५ लाखको लागतमा निर्माण गरिने साइफन निर्माणमा अवरोध भए निर्माण कार्यको विनियोजित रकम फिर्ता जाने पनि भारतीय प्राविधिक यादवले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया