सावधिक जीवन बिमा र म्यादी जीवन बिमाबापतको साढे दुई करोड रुपैयाँ ठगीसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका-६ स्थायी ठेगाना भइ हाल बाँके कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका-१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका-८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका-११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका-१ का २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।
सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको बिमा रकम ठगीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बैजनाथ गाउँपालिका-६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका थिए । सर्जन चढेको भे.१० प १७२७ नम्बरको मोटरसाइकललाई मिनी बसले ठक्कर दिएको थियो । सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गत वैशाख २ गते मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान हुँदा मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको पाइएको थियो । उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएको थियो ।
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया