- file photo
अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले-कुमसोत-पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५, पाङ्गेरमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ, पानी परिरहेको र, पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल यो सडकखण्ड सञ्चालन हुने सम्भावना छैन ।
जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुट्दै आएको छ । पाङ्गेरसहित पोखरी-डेढगाउँ र पोखरी-बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ । अन्य स्थानमा समेत ठाउँठाउँमा साना साना पहिरो झेरको छ ।
यसैगरी पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको प्रहरीको भनाइ छ । दुवैतर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।
पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।
यता पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिराुका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी यातायात सञ्चालन गरिएको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया