नारायणी नदीको पानी ‘सतर्कता तह’नजिक

नारायणी नदीको पानी ‘सतर्कता तह’नजिक


पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् भने घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका राससले जनाएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिएका छन् । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

यता, नारायणी नदीको पानी सतर्कता तहनजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ, नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला”, प्रजिअ घिमिरेको आग्रह छ ।

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो । सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।