- डम्बर निदाल, डडेल्धुरा
सुदूरपश्चिमेलीहरूको मुख्य चाड गौरा पर्वको आज तेस्रो दिन, ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालुहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ । आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाउँदै गौरादेवीको पूजा गर्ने चलन छ ।
ब्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन रहेको पण्डित रामचन्द्र भट्ट बताउँछन् । महिलाहरूले सामूहिक रुपमा धान, साउँ, तील, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्रयाउने गरेको पनि उनले बताए ।
आज गौरादेवीमा चढाएको दुबधागोलाई एक दिनपछि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी ब्रतालु महिलाहरुले राति मिठो मसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर महेश्वरसँग विवाह गरी पूजा गर्ने चलन रही आएको पण्डित भट्टको भनाइ छ ।
विविध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्रयाइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । यसपछि विसर्जन नगरिएसम्म गौराघरनजिकको चौरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भइ स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुगाउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा इष्ट-कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।
प्रतिक्रिया