न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने


नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’को आयोजना गरिने भएको छ ।

ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको जनाएको छ ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा ग्रेटर न्यूयोर्क नेपाली चेम्बरले न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना गर्न लागिएको सम्मेलनको नारा ’कनेक्टिङ क्यापिटल, आइडियाज एण्ड अपर्चुनिटिज’ राखिएको छ ।

आयोजक संस्था चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले त्यो सम्मेलन नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियानका रुपमा रहने बताए ।

सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीति निर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।

“नबिस एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो, यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पुँजी र मानिसलाई जोड्ने एउटा साझा मञ्च हो, अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिको ज्ञान, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो”, अध्यक्ष श्रेष्ठले भने ।

नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, पूर्वाधार, उत्पादनमूलक तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना रहेको हुनाले लगानीका लागि उपयुक्त थलो भएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भने, ‘विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा नबिसलाई अगाडि बढाइने छ ।’

अमेरिकाभर रहेका नेपाली व्यवसायीलाई सशक्त बनाउनु पनि सम्मेलनको महत्वपूर्ण उद्देश्य रहेको उनको भनाइ छ ।

न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्सास, इलिनोइस, फ्लोरिडा र वासिङ्टनसम्म नेपाली उद्यमीले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।

सम्मेलनले ती व्यवसायीबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान विश्वास लिइएको छ ।

अध्यक्ष श्रेष्ठ भन्छन्- ‘बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो, नेपाली-अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको हुन्छ ।’

सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तरराष्ट्रिय व्यापार तथा पुँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ ।

सम्मेलनका क्रममा अन्तरराष्ट्रिय तथा डायस्पोरा नेताको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय-व्यवसाय तथा व्यवसाय-सरकारबीच भेटघाट, रणनीतिक साझेदारी बैठक तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

स्टार्टअप तथा उद्यमीले आफ्नो व्यवसाय प्रस्तुत गर्न स्टार्टअप सोकेश तथा प्रडक्ट लञ्चका लागि आवेदन दिन सक्नेछन् ।

संयुक्त राष्ट्रसङ्घ (युएन)को महासभाको उच्चस्तरीय सप्ताह तथा ‘क्लाइमेट विक एनवाइसी’ को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले नबिस २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।