काठमाडौं आइपुगे ली चानशु

काठमाडौं आइपुगे ली चानशु


जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु काठमाडौं आइपुगेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन् ।

विशेष विमानबाट आज अपराह्न काठमाडौं आएका अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरे भने विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि उपस्थित थिए ।

सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार नै सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् भने भ्रमणका क्रममा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने क्रार्यक्रम छ ।