अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षितगरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताएका हुन् । यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उनले फिर्ता लिएका छन् ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन् । निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, हर्मुज नजिकको केशम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो ।
इरानी सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकू विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ । रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकी सैन्य सुविधा र आवासीय संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले वासिङ्टनसँग द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौतालाई प्रभावहीन बनाएको बताएका छन् ।
यसैबीच अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा दुईवटा जहाजमाथि भएको आक्रमणमा दुई चालकदल सदस्यको मृत्यु भएको छ । ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको एमटिआई नेटवर्कले जनाएको छ भने कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ ।
इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ ।
तनाव क्षेत्रीय रूपमा फैलिँदै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका धेरै हवाई आक्रमणहरू निष्क्रिय बनाइएको दाबी गरेको छ भने जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालिएको जनाएको छ ।
अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी)ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ । साथै, अमेरिकाको हितसँग जोडिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने आइआरजिसीको भनाइ छ ।
फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका-इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढेको छ ।
इरानी सरकारी टेलिभिजन आइआरआइबीका अनुसार आइआरजिसीले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरिएको जनाएको छ । त्यससँगै अमेरिकाको आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित समुद्री ऊर्जा मार्गहरू थप जोखिममा पर्न सक्ने चेतावनी पनि दिइएको छ ।
आइआरजिसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले आफ्नो समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा प्रभाव पार्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको परिणामस्वरूप अमेरिकाका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने अन्य ऊर्जा निर्यात मार्गहरू पनि अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि कुन–कुन मार्ग प्रभावित हुन सक्छन् भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
विज्ञप्तिमा ‘यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि हुनेछ वा कसैका लागि पनि हुनेछैन’ भन्ने चेतावनीसमेत दिइएको छ । आइआरजिसीले आफ्नो प्रतिकारात्मक कारबाही निरन्तर जारी रहने र अमेरिकाले आक्रमण नरोकेसम्म हर्मुज जलघाँटी बन्द रहने स्पष्ट गरेको छ ।
प्रतिक्रिया