सिङ्गो कर्णालीको एक्लो सन्तनेता : मनऋषि

सिङ्गो कर्णालीको एक्लो सन्तनेता : मनऋषि


जनयुद्धको बैठान सही ढंगबाट नहुँदा र सत्ताप्राप्तिपछि आफ्ना मुद्दाहरू छोड्दै जाँदा माओवादी पार्टीको साख गिर्दाे छ, तर धितालको कद उँचो छ ।

जनादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट बेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दीक्षित छन् । जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई ‘सिद्धान्तलाई व्यवहारमा उतारेका एक पात्र’को रूपमा बुझ्दा न्याय हुन्छ । यसको प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि । उनमा कुनैपनि खालको लोभलालच देखिँदैन ।

एकातिर सिद्धान्त र आदर्श तथा अर्कातिर व्यवहार गरेर लथालिङ्ग राजनीतिको पछि नलागि इमान्दारिताका सथा जिम्मेवारी निभाउँदै आएका उनलाई यतिबेला नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा सिफारिस गरेको छ । उनीसँगै पूर्वसभासद् एवम् कर्णाली प्रदेशका पूर्व काननुमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गोमा कुँवर र कर्णाली विकास आयोगका पूर्व अध्यक्ष डा. कलबहादुर रोकाया पनि सम्भावित उम्मेदवारको सुचिमा छन् । यी चार जनामध्ये एक जनाले मात्रै टिकट पाउने सम्भावना रहन्छ । हाललाई यो माओवादीको गर्भभित्र छ ।

कर्णाली प्रदेशभरिबाट माओवादी केन्द्रले छानेका सम्भावित उम्मेदवारहरूमा एक मात्र सन्त नेता हुन्- धिताल, जसले माक्र्सवादी राजनीतिसँगै पत्रकारिता गरे । वर्गीय समाजमा पत्रकारिताको पनि वर्ग हुन्छ । जनताका खास कुराले जनतालाई नै सचेत पार्न र अधिकार प्राप्तिको लडाइँमा होमिने उत्प्रेरणा दिनको लागि जनताकै पत्रकार हुनुपर्ने मान्यताका कारण मिसन पत्रकारिता सुरु भएको हो । जसले व्यापक जनतालाई सचेत र संगठित गरि क्रान्तिमा लगाउन सकिन्छ ।

लगानीकर्ता र मालिकभक्तिलाई प्राथमिकतामा राखेर पुँजीवादी व्यवस्थाको छाँयाबाट उम्कन नसक्ने व्यवसायिक पत्रकारिताले निम्न वर्गको प्रतिनिधित्व गर्न सक्दैन । जहाँ गरिबदुःखीका कथाहरू त अटाउलान् तर उनीहरूले सोचेको जस्तो न्यायपूर्ण व्यवस्था आउँदैन ।

त्यसकारण पनि धितालले राजनीति सँगसँगै पत्रकारिता गरे । उनलाई पार्टीभित्रबाट खासगरी जुम्लाबाट ‘नेता कम, पत्रकार बढी’ भनेर प्रचार गरिँदा पार्टीपङ्क्तिका तल्ला समितिसँग उनको राम्रो हिमचिम छैन, तथापि यो सामान्य कुरा हो । उनले यो भ्याकुमलाई चाँडै पूरा गर्न सक्छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पनि आफूलाई पत्रकार सम्झन्थे । राज्यले जबर्जस्ती पछाडि धेकेलेको कर्णाली र देशको निम्न वर्ग, जातजाति, भाषाभाषीलाई कलमको माध्यमबाट अगाडि ल्याउन धितालले राजनीति सँगसँगै पत्रकारिता गरे । माओको विचारलाई आदर्श ठान्ने धिताल यसकारण पनि पत्रकारितासँगै खुला राजनीतिमा लागे । अहिले मैदानमा आउन अति जरुरी भइसकेको छ ।

तर, यति ढिलो गरि किन ? यो प्रश्न उनीमाथि उठिरहेको छ र, उठिरहने छ । राजनीतिमा इमानदार र असल नेताहरू नआइदिँदा देशको हालत समाल्न नसकिने गरी बिग्रेको छ । उनी राजनीतिमा चाँडै आएको भए साविकको कर्णालीका जनाद्र्धन उनी हुने थिए । उनी जस्ता लोभलालच नभएकाको हातमा डाडुपन्यू पर्दा जनताले समानताको अनुभूति गर्न पाउने थिए । आसेपासे र हनुमान मोटाइरहेका हुने थिएनन् ।

यसको विरुद्धमा बोल्ने आँट कसैको छैन । कम्युनिस्ट पार्टीले प्रश्न गर्ने कार्याकर्ता उत्पादनमा जोड दिन्छ । तर आज कम्युनिस्ट पार्टीको नेतृत्व नै कार्यकर्ताको हनुमानकरण खोजिरहेको छ । वर्गीय पक्षरधरताको कठिन राजमार्गमा उनले रोजेको इमानदारिताको परिणाम २०७९ मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा उनी संघको सम्भावित उम्मेदवारको रुपमा चयन भएका छन् । उनले टिकट पाउलान्, नपाउलान् त्यो पार्टीको आन्तरिक कुरा होला । स्वार्थ र लाभका हिसाबले कुरा गर्ने हो भने उनले टिकट नपाउँदा नै ठिक होला । सामुहिक स्वार्थ र वास्तविक रुपमा जनताको समस्या समाधानका लागि उनीजस्ता सन्तनेता नभइ कर्णाली बन्दैन ।

हरेक वर्ष बजेट भाषणसँगै हनुमनहरूले हाम्रा नेताले हाम्रा लागि यति ठाउँमा योजना हाले भनेर फेसबुकका भित्ता रंग्याउने गर्छन् । ती योजना चलाउने काम पनि उनीहरूकै हुन्छ । त्यसैलाई तथास्तु भनेर आफूलाई शक्ति केन्द्र ठान्ने नेता अहिले कर्णालीको जरुरी होइन ।

केही समयअघि कर्मचारीतन्त्रमा राम्रो पहुँच बनाएका र विभिन्न मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालेका एक जुम्लाका एक उच्च तहका कर्मचारीले विदेशबाट भनेका थिए, ‘हामीले पनि मन्त्रालयम हुँदा मातृभूमिका निम्ति केही गरेका हौँला तर मैले गरे भनेर सुनाउन जरुरी छैन । किनभने त्यो मेरो कर्तव्य हो । त्यसका लागि जनताले तिरेको करबाट मैले तलब खाएको छु ।’

उनको निचोड थियो, कुनै नेताले मैले फलानो गरेँ, हलानो गरेँ भनेर फुर्ती लाउनु जरुरी छैन । किनभने उसले त्यही गर्नकै लागि जनताबाट मत पाएको हुन्छ । मत पाउनेले गर्नैपर्छ । त्यो उसको कर्तव्य हो । अहिले नभनिकनै काम गर्ने नेता जनताले बढ्ता रुचाउँछन् । माओवादी पार्टी र धितालाई अलग देखाउनु यो लेखको चेष्टा होइन । तथापि पार्टीका सिद्धान्त र व्यवहार तथा उनको कार्यशैलीको फरकमा भने देखाउनैपर्छ ।

जनयुद्धको बैठान सही ढंगबाट नहुँदा र सत्ताप्राप्तिपछि आफ्ना मुद्दाहरू छोड्दै जाँदा माओवादी पार्टीको साख गिर्दाे छ, तर धितालको कद उँचो छ । स्वभाविक रुपमा व्यक्ति भन्दा पार्टी मुख्य हुन्छ । तर आफ्नो नेतृत्वको सरकार र संयुक्त नेतृत्वको सरकारमा सहभागी हुँदा जनयुद्धका मुद्दा तथा निर्वाचन घोषणापत्रमा जाहेर गरिएको न्युनतम प्रतिबद्धताहरू पूरा नगरेको माओवादी पार्टी जनताको रोजाइमा नपरेर व्यक्ति पर्न सक्ने सम्भावना उच्च छ । यस्तो बेला पार्टीले धिताल जस्ता सन्तनेता अगाडि सार्न जरुरी छ ।

तत्कालीन जनमोर्चाले देउवा सरकार समक्ष राखेका ४० बुँदालाई हेर्ने हो भने जनयुद्धको सुरुवात सही थियो । नेपालको राजनीतिमा चलखेल गरिरहेको भारत उसको प्रमुख दुश्मन थियो । माओवादी नेतृत्वले २०६१ असोजमा रुकुमको फुन्टिवाङमा भएको केन्द्रीय समिति बैठकबाट ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ, वैदेशिक हस्तक्षेपविरुद्ध व्यापक तयारी गरौँ’ भन्दै भारतविरुद्ध सुरुङयुद्ध गर्न आफ्ना छापामार र कार्यकर्ता परिचालन गरेको थियो । पश्चिमी पहाड र तराईमा सयौं खाल्डा खनेको माओवादीको नेतृत्वले त्यसअघि भारत सरकारसँग भारतीय हितप्रतिकूल केही नगर्ने लिखित प्रतिबद्धता जाहेर गरेको खुलासा ‘नेपाल इन ट्रान्जिसन : फ्रम पिपुल्स वार टु फ्रेजायल पीस’ नामको पुस्तकले गरेको थियो ।

पुस्तकमा भारतीय प्रोफेसर एसडी मुनिको ‘ब्रिङगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स : इंडियाज रोल्स’ शीर्षकको लेखमा माओवादी नेतृत्वले २०५९ असारमा भारतीय प्रधानमन्त्री कार्यालय (पिएमओ) मा त्यस्तो प्रतिबद्धता जनाएको किटान विवरण छ । त्यसबेला जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक रहेका मुनिले माओवादी नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एसडी थिए ।

माओवादी नेतृत्वले निकट सम्बन्ध बनाएको प्रा. मुनिको लेखले अविश्वसनीय सम्बन्धका पाटाहरू सार्वजनिक गरेको छ । लेखले ‘विस्तारवादी भारत’का जासूसी एजेन्सीहरू ‘इन्टेलिजेन्स ब्यूरो’ (आईबी) र ‘रिसर्च एण्ड एनालाइसिस विङ’ (रअ) सँग माओवादी नेतृत्व कसरी नजिक भयो र उनीहरूमार्फत पिएमओमा कसरी प्रतिबद्धता जनायो भन्ने कुराको सविस्तार वर्णन छ । भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे ‘जनयुद्ध’ र राष्ट्रियताको आन्दोलन कसरी तुहिँदै गयो र जनतासँग कसरी धोका हुँदै गयो प्रष्ट हुन सकिन्छ ।

माओदीको तर्फबाट संगठित रुपमै यसको खण्डन हुन सकेन । आज देशको स्थिति बिग्रँदै जानुमा माओवादी पार्टी र यसको नेतृत्व सबैभन्दा बढी जिम्मेवार छ । यस्तो अवस्थामा धिताल उम्मेदवार बन्न निकै ढिलो भएको छ होइन ? भन्ने प्रश्न पनि उब्जेका छन् । राजनीतिले खराब मोड लिएर भँड्खालोमा जाँकिदै गर्दा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा विदेशिका भाँडा माज्न निस्किएका उनले यो भ्याकुम पिरियडको क्षतिपूर्ति पनि दिनुपर्नेछ ।

जुम्ली जनताले उम्मेदवार दोहोऱ्याएको इतिहास छैन । यस्तो अवस्थामा पार्टीहरूले पुरानै अनुहार देखाए जनताबाट हुने अप्रिय निर्णय देख्न कुनै आइतबार कुर्नुपर्ने छैन । सांगठनिक रुपमा बलियो माओवादीले इतिहासको कदर गर्न सकेको खण्डमा आफ्नो संगठन थप मजबुत गर्न सक्ला !

प्रस्तुति : महेश नेपाली