मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो


मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको र अर्का दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका हुन् ।

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए ।

ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारिएको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । करुणा अस्पतालले दुई जना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ । दुवैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।

उद्दार गरिएका दुई जनाको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीको छ । अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने प्रहरीको आङ्शका छ ।

मनास्लु हिमालको तेस्रो आधार शिविरमा आज बिहान हिमपहिरो गएको हो । गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका तीन सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् ।