भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको पूर्व श्री ५ को ठहर

भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको पूर्व श्री ५ को ठहर


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले पदलोभ, सत्ता-स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ भनी प्रश्न गर्नुभएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादशैँको शुभकामना सन्देश दिँदै उहाँले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको समेत उल्लेख गर्नुभएको छ ।

शुक्रबार बिहान भिडियोमार्फत् जारी शुभकामना सन्देशमा पूर्व श्री ५ ज्ञानेन्द्रले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने जिकिर गर्नुभएको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उहाँको ठहर छ । शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आमभावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दोरहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो रहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनःनिर्माणमा ध्यान दिनुपर्ने र नेपाललाई फेरि महान् बनाउनु परेको बताउनुभएको छ ।

रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिइरहेकोमा राजा ज्ञानेन्द्रले चिन्ता प्रकट गर्नुभएको छ भने हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने उहाँको तर्क छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’