ऐतिहासिक लामपाटी दरबारको मर्मत कार्य शुरु

ऐतिहासिक लामपाटी दरबारको मर्मत कार्य शुरु


  • मुक्तिनाथ भुसाल/अर्घाखाँची

नेपालको इतिहासमा अमिट नाम खोपेका जंगबहादुर राणाद्वारा निर्मित अर्घाखाँचीस्थित लामपाटी दरबारको विशेष संरक्षण गरिने भएको छ । दरबारको संरक्षणका लागि पर्याप्त बजेट अभावकै अवस्थामा पनि मर्मत कार्य शुरु गरिएको हो ।

संरक्षणको अभावमा जीर्ण बनेको ऐतिहासिक धरोहरको रूपमा प्रख्यात अर्घाखाँचीको बीसखुट्टे दरबारका रूपमा समेत परिचित लामपाटी दरबार संरक्षणका लागि बजेट अभावकै बीच मर्मतका केही कार्य शुरु गरिएको सन्धिखर्क नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष रिषव अधिकारीले बताउनुभयो ।

बालनरसिंह कुँवरले दैलेखमा जागिर खाएको समय आफ्नी गर्भवती पत्नीलाई पैदल काठमाडौं पठाउने क्रममा यो स्थानमा जगंबहादुर जन्मिएको इतिहास छ । आफू शक्तिमा रहेको समय जन्मस्थानको सम्झनामा जगंबहादुरले निर्माण गरेको नेपालकै एकमात्र बीस खुट्टे दरबारको संरक्षणसँगै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक रहेको बताइन्छ । कीर्तिपुर विश्वविद्यालयमा रहेको दुई हजार सालभन्दा अगाडिका कागजातमा समेत जंगबहादुर राणा यो स्थानमा जन्मिएको प्रमाण सुरक्षित रहेको जानकारहरू बताउँछन् ।

सदरमुकाम सन्धिखर्कबाट करिब १२ किलोमिटर कालोपत्रे सडकमा पुग्न सकिने लामपाटी दरबारवरपर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान अवस्थित छ । लामपाटी दरबारनजिकै रहेको गोपेश्वर पीठलाई २४ लाख गायत्री जापद्वारा तीर्थ स्थान बनाइएको कारण यहाँको दर्शन गरे मनले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ ।