मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता


  • तस्बिर रासस

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।

लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् ।

बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले जानकारी दिए । घटनास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ ।

पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रहरीको भनाइ छ ।

जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुऱ्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ ।

जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।