डडेल्धुरा एमालेले भङ्ग गऱ्यो बीपी काङ्ग्रेससँग चुनावी तालमेल

डडेल्धुरा एमालेले भङ्ग गऱ्यो बीपी काङ्ग्रेससँग चुनावी तालमेल


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा नेकपा एमालेले नेपाली काङ्ग्रेस (बीपी) सँग गरेको चुनावी तालमेल तोडेको छ । सहमतिविपरीत बीपी काङ्ग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारलाई नभइ स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै चुनावी तालमेल भङ्ग गरिएको जनाएको छ ।

एमाले डडेल्धुराको शुक्रबार बसेको जिल्ला कमिटिको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यसअघि प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस बीपीका कर्ण मल्ल र प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै उम्मेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी काङ्ग्रेसबीच सहमति भएको थियो ।

तर, बीपी काङ्ग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसंग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकासबहादुर साउद र सचिव गजेन्द्र शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकोे छ । साथै एमाले एकल रुपमा चुनावमा जाने पनि बताइएको छ ।

यसअघि नेपाली काङ्ग्रेस बीपीसंग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् । प्रदेशसभातर्फ २ वटा क्षेत्र रहेको डडेल्धुरामा १२ जना उम्मेदवार रहेका छन् ।