लोकतन्त्रको विस्थापन निश्चित

लोकतन्त्रको विस्थापन निश्चित


शत्रु बन्न र गाली खान पनि मानिसको योग्यता पुगेको हुनुपर्छ । जीवनमा भेटिने हरेक पात्र गालीका निम्ति योग्य हुँदैनन् र गालीका निम्ति योग्य हरेक व्यक्ति बन्ने योग्यताका हुन पनि सक्दैनन् । नेताहरूलाई मित्र ठानिन्छ, त्यसैले सम्मान गरिन्छ, योग्य ठानिन्छ त्यसैले गाली या आलोचना गर्ने गरिन्छ । तर, विगत ६ वर्षयताको व्यवहारले नेताहरूको गाली खानुपर्ने योग्यतामाथि प्रश्न खडा गरेको छ । नेता सबै उस्तै छैनन्, यो भनिरहनुपर्ने कुरा होइन । परिणामलाई मात्र हेरेर समीक्षा गर्नुपर्दा व्यक्ति-व्यक्ति छुट्याएर बुझिँदैन, समग्रमा राजनीतिक नेतृत्वले गाली खाने योग्यता कायम राख्न नसकेको देखिन्छ । त्यसैले अब गाली थाप्ने पालो ‘जनतामा र्सार्न ढिलाइ भइसकेको छ । देश सञ्चालनको जिम्मेवारी राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले लिइरहेका हुन्छन्, त्यसमा जनताको के दोष हुन्छ र तिनलाई आलोचना गर्ने भन्ने जिज्ञासा स्वाभाविक रूपमा प्रकट हुनसक्छ । तर, राजनीतिक क्षेत्रबाट देशकै अस्तित्वसमेत नामेट तुल्याउने हदसम्मको कार्यव्यवहार हुँदा पनि पशुपतिको साढेझैं प्रतिक्रियाविहीन चुपचाप बसिरहन्छन् भने जनता मात्रलाई दोषमुक्त ठान्न सकिँदैन, त्यसैले यसपटक गाली खाने पालो जनताको आएको छ ।
करिब दुई दशकअघि तात्कालिक सर्वोच्च नेता गणेशमान सिंहले काठमाडौंका जनतालाई भेडाबाख्राको संज्ञा दिनुहुँदा काठमाडौंवासी रिसाए, बाहिरकाहरूले चाहिँ सिंहको यही भनाइलाई हँसिमजाकको विषय बनाए । राजधानीवासीमा त्यस्ता के गुण या वैगुन देखेर उहाँले त्यसबेला भेडाबाख्राको संज्ञा दिनुभएको थियो भन्ने विषयमा व्याख्या-विश्लेषण गरिरहन बौद्धिक समुदायले आवश्यक ठानेन, बरु पत्नी मंगलादेवी र सुपुत्र प्रकाशमान सिंहलाई निर्वाचनमा हराइदिएपछिको पीडा र आक्रोश गणेशमानजीले पोख्नुभएको टिप्पणी गरियो । अहिले पनि जनतालाई भेडाबाख्रा भनिने या भनिएको विषयले महत्त्व पाउने गर्दैन । जनताकै बारेमा ब्रिटेनका चर्तित नेता विस्टन चर्चिलको एक टिप्पणीलाई पनि निकै रमाइलो मानिन्छ । दोस्रो विश्वयुद्धताका अधिक चर्चित नेता चर्चिल बेलायतमा आयोजित एक आमसभालाई सम्बोधन गर्न पुगेका थिए । सभामा लाखौँको उपस्थिति देखेर उत्साही एक मित्रले सुटुक्क चर्चिललाई भने, ‘हेर, तिमी कति लोकप्रिय छौ, तिमीलाई सुन्न लाखौँ मानिस यहाँ उपस्थित भएका छन् ।’ मित्रको कुरा सुनेपछि चर्चिलले प्रतिक्रिया दिए, ‘होइन, भोलि यही ठाउँमा चर्चिललाई फाँसी दिइँदै छ भनेर प्रचार गरियो भने यहाँ आज उपस्थित भएकोभन्दा दोब्बर बढी मानिस मलाई फाँसी दिइएको हेर्न आउनेछन् ।’ चर्चिलको यस भनाइले उनी जनतालाई कसरी पनि हर्ेदथे भन्ने बुझन सकिन्छ । वि.सं. ०१५ सालमा सम्पन्न आमनिर्वाचनमा दुईतिहाइ मत दिएर काङ्ग्रेसलाई सत्तामा पुर्‍याउने नेपाली जनता थिए र डेढ वर्षपछि तात्कालिक राजा महेन्द्रद्वारा बहुदलीय प्रजातान्त्रिक प्रणालीसहित काङ्ग्रेस नेतृत्वको सरकार अपदस्थ गरिँदा दीपावलीसहित खुसी प्रकट गर्ने पनि जनता नै थिए । माओवादीलाई आतङ्ककारी भन्दै चरम घृणाको व्यवहार गर्ने पनि जनता थिए र संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दलको हैसियतमा माओवादीलाई पुर्‍याइदिने पनि जनता नै हुन् । ०६१ मा तात्कालिक राजा ज्ञानेन्द्रले सत्ता लिँदा उनले जनताकै नाम लिएका थिए र राजाको अभिनन्दनहरूमा लाग्ने भीड पनि जनताकै थियो ।
आफूले चलाएको हिंसात्मक सङ्घर्षलाई माओवादीले ‘जनयुद्ध’ नामकरण गरेका थिए, शान्तिपूर्ण जनआन्दोलनका पक्षपातीहरूले त जनता नाम प्रयोग गर्नु स्वाभाविक हुने नै भयो । यसरी ‘जनता’को प्रयोग र उपयोग धेरैले आ-आफ्नै ढङ्गले गर्ने गरेका छन् । जसले जनतालाई जसरी उपयोग या प्रयोग गर्न चाहेका भए पनि पछिल्लो कालखण्डमा वास्तविक जनताको अस्तित्व बोध गर्न पाइएको छैन । कुनै खास विषयमा असन्तुष्टि या आक्रोश जाहेर गर्न चाहेका भए पनि पछिल्लो कालखण्डमा वास्तविक जनताको अस्तित्व बोध गर्न पाइएको छैन । कुनै खास विषयमा असन्तुष्टि या आक्रोश जाहेर गर्न विभिन्न दलविशेषले बेलाबखत आफ्ना कार्यकर्तालाई सडकमा उतार्ने गरेका छन् र तिनका उपद्रवलाई ‘जनताको भावना या आक्रोश’का रूपमा परिभाषित गर्ने गरिएको छ, हामीले तिनैलाई जनता भन्ने-ठान्ने गरेका छौँ । तर, नेपालको सन्दर्भमा जनताविहीनताको महसुस गर्न थालिएको छ । महान् विचारक रूपचन्द्र विष्टको भाषामा स्वतन्त्र र निष्पक्ष अभ्यासमा उदासीन मानिस जनता होइनन्, त्यस्तो अभ्यास यहाँ हुन खोजिरहेकै छैन । राजनीतिकर्मीहरूले आफूबाहेक बाँकी सबैलाई ‘जनता’का रूपमा हेर्ने गरेका हुन्छन्, अर्थात् साधारण मानिसलाई जनता र साधारणभन्दा केही या धेरै तह माथिका आफूलाई चाहिँ नेताका रूपमा महसुस गर्नु राजनीतिकर्मीहरूको सामान्य मनोविज्ञान हो । कसैले जनता नाम लिएर आलोचना या टिप्पणी गरे भने जनतामध्येका हरेकले आफूबाहेकलाई गाली गरेको ठान्नु जनतामध्येको विशेषता हो । अनुहारबिना मानिसको अस्तित्व कल्पना गर्न सकिँदैन, तर अनुहार नै अनुहारको भीडको चाहिँ कुनै अनुहार, आकार, प्रकार, रूपरेखा र नापनक्सा केही पनि हुँदैन । समग्रमा एउटा अमूर्त शक्ति हो जनता ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन माओवादीका कार्यकर्ताले देशमा धेरै ठूलो र जोखिमपूर्ण हिंसात्मक सङ्घर्ष गरे । एउटा निश्चित पार्टी र विचारको लागि लडेका बीसौँ हजार कार्यकर्ताको पालनपोषण राज्यले गरिरहेको छ, जनता मौन छन् । नक्कली लडाकु खडा गरेर करिब पौने दुई अर्ब रूपैयाँ हिनामिना गरिएको छ, जनता मौन । देशको सार्वभौमसत्ता, राष्ट्रियता र राष्ट्रिय एकतामाथि बारम्बार विध्वंशकारी आक्रमण भइरहेको छ, जनता मौन छन् । झन्डै असी प्रतिशत सनातनी हिन्दू धर्मावलम्बीको बसोबास रहेको नेपालले विश्वको एक मात्र हिन्दू राष्ट्रको परिचय बनाएको थियो । युरोपका केही इर्साई मुलुकको प्रभाव र प्रलोभनमा परी केही नेताविशेषले हिन्दू राष्ट्रको पहिचान मेट्ने निधो गरे, जनता चुपचाप हेरिरहे । पृथ्वीनारायण शाहले समयमै आफ्नो कौशलपूर्ण अभियान सञ्चालन नगरेका भए आज हाम्रो पहिचान कम्तीमा नेपालीका रूपमा कायम रहन असम्भव थियो । यर्सथमा आजको नेपाल र नेपालीका रूपमा हाम्रो पहिचान बन्नुको श्रेय पृथ्वीनारायण शाहलाई जानु अनिवार्य रूपले स्वाभाविक हुन्छ । तर, नेपाली नागरिकताको प्रमाणपत्र धारणा गरेका कतिपय ‘बुद्धिजीवी’हरूले पृथ्वीनारायण शाहको एकीकरण अभियानमाथि वैधताको प्रश्न उठाउँदै अवैधानिक करार दिने चेष्टा गरेका छन् । ०६३ वैशाखमा राजाद्वारा पुन: स्थापित संसद्मा कुनै निर्वाचनमा उम्मेदवारीसमेत नदिएका सयभन्दा बढी व्यक्तिलाई सांसद बनाउने र बन्नेहरूले पृथ्वीनारायण शाहद्वारा सुरु गरिएको राष्ट्रिय एकीकरण अभियानलाई अवैध भन्नु आफैंमा हास्यास्पद भए पनि तिनले भन्न छोडेका छैनन् । कुन विष्मार्क र नेपोलियनले संविधानमा लेखेर फ्रान्सको राष्ट्रिय एकीकरण अभियान चलाएका थिए भन्ने प्रश्न गरियो भने युरोपमा प्रश्नकर्तालाई मानसिक रोग उपचार गराउन सल्लाह दिइएला, तर नेपालमा ती साधारण मानिससरह हामै्रवरिपरि घुमिरहेका छन्, नेपालको लगनखेल या भारतको राँची पुर्‍याइएको छैन, जनता भने प्रतिक्रियाविहीन छन् ।
०६५ सालमा भइरहेको राष्ट्रिय सहमतिको सरकारलाई विस्थापित गरी प्रचण्डको नेतृत्वमा बहुमतीय सरकार गठन गरिँदा चुपचाप रहेका जनता अहिले तिनै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाइनुपर्छ भनिरहँदा पनि चुपचाप सुनिरहेका छन् । प्रचण्डले आफ्ना लडाकुको सङ्ख्या सात हजारभन्दा बढी नरहेको, तेत्तीस हजार लडाकु देखाएर सबैलाई उल्लु बनाएको भनी व्यक्त विचारको भिडियो रेकर्ड बजारमा आयो, कसैले कुनै परिणाममुखी प्रतिक्रिया व्यक्त गर्न सकेनन् । वास्तविक लडाकुलाई क्यान्टोनमेन्टमा नराखी अर्धभूमिगत रूपमा ब्यारेक बनाएर बाहिरै राखियो, जनता बोलेनन् ।
महँगी र बेरोजगारी बढ्दो छ, वैदेशिक रोजगारीका निम्ति नेपालबाट पलायन हुनेहरूको सङ्ख्या झन्झन थपिँदो छ, ऊर्जा र इन्धनको अभावले जनजीवन थप कष्टकर र अत्यासलाग्दो बन्दै छ, नयाँ उद्योग-व्यवसायका निम्ति वातावरण अनुकूल ठानिएको छैन, पुराना र स्थापित उद्योगहरू धमाधम बन्द भइरहेका छन् । ०६३ सालयता आठ हजारभन्दा बढी साना उद्योग बन्द गरिएका छन्, तर जनता बोल्दैनन् । राष्ट्रलाई पोल्दा पनि प्रतिक्रिया नजनाउने, आफैंलाई पोल्दा पनि नबोल्ने, बरु डढ्न-जल्न तयार हुने अवस्थामा नेपाली जनता पुगेको देखियो । नेपालमा जनता छैनन् भनौँ भने हालै मात्र सम्पन्न जनगणनाको तथ्याङ्कअनुसार यहाँ पौने तीन करोड मानिसको बसोबास रहेको देखिन्छ । पार्टी काममा हिँड्ने सबैको सङ्ख्या पाँच प्रतिशत राख्ने हो भने पनि जनताको नाममा गल्ली चहार्नेहरूको सङ्ख्या पन्ध्र लाख नाघ्ने हिसाब देखिँदैन, बाँकी त सबै जनता नै हुन् भन्नुपर्छ । तथापि कहिल्यै कुनै प्रतिक्रिया देखिएन, देशको स्वाभिमान र स्वतन्त्रताको खिल्ली उडाइँदा पनि कसैको आत्मसम्मान जागेन र नेपालीका रूपमा आफैं सकस र सङ्कटको भुमरीमा पर्दा पनि कसैको आहट सुनिएन । त्यसैले नेपालमा जनता भए-नभएको अनुसन्धान पो गर्नुपर्ने अवस्था आएको हो कि भनी ठान्नुपर्ने भएको छ ।
देश बर्बादीका निम्ति बितेका कैयन वर्षयता हामी सबैले दलका नेता र देशको नेतृत्वलाई जिम्मेवार ठानेर तिनको तीव्र आलोचना गर्दै आयौँ, अझै गर्दै छौँ । तर, देश निर्माणमा नेतृत्वको मात्र भूमिका नभएजस्तै देशको बर्बादीका निम्ति पनि नेतृत्वलाई मात्र जिम्मेवार ठान्नु गलत हुनसक्छ । कुनै आपराधिक घटनामा संलग्न व्यक्तिभन्दा ती कम्ती दोषी मानिँदैनन् जसले घटनामा मूकदर्शकको मात्र भूमिका निर्वाह गरिरहेका हुन्छन् । त्यस्तै देशमा भइरहेका आपराधिक क्रियाकलापलाई मौन समर्थन गरेर अनुमोदन गर्दै जाने जनतालाई पनि दोषमुक्त ठान्न सकिँदैन । विगत ६ वर्षभित्र शान्ति र संविधानका नाममा खास-खास दल र तिनको नेतृत्वले जुन प्रकारको व्यवहार प्रस्तुत गरिरहेका छन् त्यसलाई सहन सक्ने क्षमता जीवित मानिसमा हुनुलाई दुर्लभ मान्नुपर्ने हुन्छ । नेपाली जनताले दुर्लभ क्षमता प्रस्तुत गरेका हुन् या होइनन् भन्ने कुराको यथार्थ जानकारी पाउन थप जति समय प्रतीक्षा गर्नुपर्ने हुन्छ, त्यसबेलासम्म नेपालको अस्तित्वमाथि नै प्रश्न नउठ्ला भन्न सकिन्न ।
एकात्मक मुलुकलाई सङ्घीय संरचनामा लैजाने क्रममा जुन प्रकारका अभ्यास भइरहेका छन् । सार्वभौमसत्ता विखण्डन गर्न जसरी जातीयतालाई आधार बनाइँदै छ, यसले नेपाललाई दिगो हिंसा र युद्धमा लैजाने निश्चित छ । सङ्घीय संरचनाबिनाको संविधान जारी गरियो भने सङ्घीयताका पक्षधरहरूले त्यस्तो संविधानलाई अस्वीकार गर्दै सङ्घर्षमा उत्रनसक्ने सम्भावना जति छ सङ्घीयतामा मुलुकलाई लैजाँदा राष्ट्रवादीहरूले सङ्घर्ष सुरु गर्ने सम्भावना पनि त्यति नै देखिँदै छ । जातीयतामा आधारित सङ्घीय संरचना बनाउँदा राज्य प्राप्त नगर्ने जातीय समुदाय र राष्ट्रवादीहरूले अस्वीकार गर्ने र भूगोल तथा सामर्थ्यका आधारमा सङ्घीयताको खाका प्रस्तुत गर्दा जातिवादीहरू प्रतिवाद गर्दै मैदानमा उत्रन सक्ने आधारभूमि बनिसकेको छ । यसरी जस्तोसुकै अवस्थामा पनि मुलुकमा द्वन्द्व भइछाड्ने स्पष्ट देखिँदा पनि जनतामा कुनै प्रकारको चिन्ता र तदनुरूपको व्यवहार नदेखिनुले आश्चर्य र विस्मात्को स्थिति पैदा गरेको छ । राज्य पुनर्संरचना आयोग नामको कुनै स्वार्थमण्डलीले बहुमतको आधारमा तयार पारेको भनिएको सङ्घीयताको रूपरेखा देशलाई मात्र होइन नेपाली भएकोमा गौरव गर्ने हरेकको मन-मस्तिष्कलाई समेत छियाछिया तुल्याएको छ । यसप्रकारको संवेदनशील विषयमा समेत जनता प्रतिक्रियाविहीन देखिएपछि कतै हाम्रो राष्ट्रियताको प्राण नै उडिसकेको त होइन भन्ने सन्त्रासपूर्ण आशङ्का पैदा गरेको छ । जनताको उपस्थिति रहेको देशमा यस्ता निर्मम घटना हुँदैनन् ।
अनेक आदर्श र विचार बोकेका समूहहरू नेपाली राजनीतिमा क्रियाशील छन्, तर व्यवहारमा विचार शून्यता छ । बाहुबलमा आधारित राजनीतिले प्रजातन्त्रको उपहास गरिरहँदा पनि न नेतृत्वले लज्जाबोध गरेको छ न जनताले प्रतिवाद गर्ने जाँगर चलाएका छन् । राजनीतिक नेतृत्वजस्तै जनताले पनि गाली या आलोचना खाने योग्यता गुमाए भने स्पष्ट छ- यो देशको अस्तित्व अरू धेरै लामो समयसम्म जोगिने विश्वास गर्नु हुँदैन, कदाचित स्वाभिमानबिनाको मुलुकको अस्तित्वसम्म जोगिएछ भने पनि लोकतन्त्रको विस्थापनचाहिँ निश्चित हुँदै गएको छ ।

ब्राह्मण कुलमा जन्मनुको पीडा
अहिले देवप्रकाश त्रिपाठी नामधारी मेरो जन्म, मेरो आफ्नै या अरू कसैको योजनाबद्ध कार्यक्रमअनुरूप भएको थिएन । एउटा सुनिश्चित आकस्मिकता मात्र थियो- मेरो अस्तित्व । मलाई जन्म दिने माता-पिता ब्राह्मण कुलको हुनुहुँदोरहेछ, आठ वर्षको उमेरमा मेरो ब्रतबन्ध गर्ने क्रममा मलाई यस महात्म्यको बोध गराइयो । ब्रतबन्धसँगै जीवनयापन क्रममा निर्वाह गर्नुपर्ने केही सूत्रहरू पालन गर्न मलाई पुरोहित र मेरा अभिभावकहरूबाट निर्देशन भयो । हरेक बिहान उठेर नुहाउनुपर्ने, नित्यकर्मका क्रममा जनै कानमा राखी मुख पूरा बन्द गर्नुपर्ने, नित्यकर्मपश्चात् सफा पानीले मुख कुल्ला गरेर मात्र कसैसँग बोल्नुपर्ने, खाना खानुअघि हरेक बिहान पूजा र पाठ गर्नुपर्ने, खानाको समयमा पनि नबोलीकन खानुपर्ने, अण्डा, खुकुरा, सुँगुर आदिलाई छुन नहुने, जहाँ पायो त्यहाँ जो-कसैले पकाएको खान नहुने, खान बसिसकेपछि जनै हातमा बेरेर गायन्त्री मन्त्र जप्नुपर्नेजस्ता कठोर निर्देशन मेरो बाल मस्तिष्कमा यसरी प्रक्षेपण गरियो कि यस्ता कर्म गरिएनन् भने पापको ठूलै भारी बोकेर नरकबास जानुपर्ने त्रास पनि देखाइयो । मेरो गाउँमा ब्राह्मण र क्षत्रीहरूको मात्र बसोबास भए पनि गैरब्राह्मण समुदायको बसोबास पनि धेरै टाढा थिएन । उनीहरूका छोराछोरीहरू जो मसँगै बढ्थे तिनीहरूको जीवन मेरोजस्तो कठोर आचारसंहिताबाट जेलिएको थिएन । जीवन बाँच्ने क्रममा मेराजस्ता कुनै पनि कठोर संहिताको घेरामा पारेर जीवनलाई जटिल तुल्याउने कार्य त्यहाँ भएको थिएन । तिनका पनि आफ्नै मौलिक परम्परा र संस्कार त थिए, सबै सहज र सरल तर रंगिन प्रकृतिका थिए । विद्यालयमा शिक्षकले पालन गर्न लगाउने अनुशासनको फेहरिस्त जुन सबैले अवलम्बन गर्नैपथ्र्यो, त्यो त्यति कठिन थिएन मेरा निम्ति, तर ब्राह्मण कुलमा जन्म भएकै कारण जे-जस्तो कठोर संहिताको घेरामा आफूलाई राखिएको थियो, त्यो मेरा निम्ति एकप्रकारको दण्ड-सजायसरह थियो । खानाको समयमा नुहाइसकेपछि कपडा बदलेर पञ्चायन पूजा गर्नैपर्ने अनिवार्य नियमबाट आजित मेरो भाइ जयप्रकाशले हिउँदको एक बिहान पञ्चायन देवताको रूपमा रहेको शाल्रि्राम ?काला र बुट्टेदार पत्थर) लाई हातमा लिएर भन्दै थियो, ‘आज तिमीले मैले चढाएका प्रसाद खानैपर्छ, खाएनौ भने भोलिदेखि पूजा गर्दिनँ ।’ जाडोको समयमा नुहाएर अर्धनग्न भई पूजामा बस्नुपर्दा सायद उसलाई पनि मलाई जस्तै सास्तिबोध भएको हुँदो हो । आफ्नै उमेर-समूहका तर अन्य जातिका मानिस बिहान उठ्नेबित्तिकै हातमुख पनि नधोई खाना खान पाउँथे, खानेबित्तिकै विद्यालय जाने र विद्यालयबाट फर्किएपछि खेल्न निस्कनु उनीहरूको नियमित चर्या थियो । आफूलाई भने विद्यालयको पाठ सकिनेबित्तिकै रुद्री, चण्डी, गीता, रामायण, महाभारत र देवी भागवतका पुस्तकहरू पाठ गर्न लगाइन्थ्यो, भनिन्थ्यो- ‘ठूलो विद्वान् पण्डित हुनुपर्छ, पिता-पुर्खाको नाम-इज्जत राख्नुपर्छ, कहिल्यै कुनै गलत काम गर्नुहुँदैन ।’ अनि यो पनि बारम्बार भनियो कि पैसाभन्दा नाम, इज्जत धेरै ठूलो हो, ज्ञानी गुणी बनेपछि नाम, इज्जत आफैं आउँछ ।’
ब्राह्मण कुलमा जन्मिएका कारण जवानीको प्रारम्भिक कालसम्म यसप्रकारका ‘सास्ती’ खुब व्यहोरियो । प्रवेशिका उत्तीर्ण गरेर कलेज भर्ना भएपछि भने ‘कुलसंहिता’ दु्रत गतिमा तोड्न थालियो । बाल्यकालमा जुन जीवन पद्धति अपनाउन बाध्य पारिएको थियो, त्यो अत्यन्त सुन्दर तथा अनिवार्य पक्ष रहेछ भन्ने आत्मबोध हुँदासम्ममा मैले ब्राह्मण कुलमा जन्मेका कारण पालन गर्नुपर्ने सम्पूर्ण चिनो मेटिसकेको थिएँ । तर, जीवनको प्रारम्भिक कालखण्डमा ब्राह्मण भएकै कारण पाएको सास्ती मेरो मानसपटलमा अझै ताजा छ ।
अहिले जीवनको उत्तराखण्ड प्रवेशको पूर्वसन्ध्यामा आइपुग्दा ब्राह्मण कुलमै जन्मेका कारण अर्को पीडा सुरु भएको छ । विगतमा को-कसले देशको शासन गरे, ब्राह्मण-क्षत्री कुलका कसले कसरी सत्ताको केन्द्रबिन्दुमा रहने मौका पाए त्यसको समीक्षा नभईकन विगतका कमी-कमजोरीका निम्ति सम्पूर्ण रूपले ब्राह्मण-क्षत्रीहरू दोषी रहेको निष्कर्ष निकालिँदै छ र यिनलाई कसरी किनारा लगाउने भन्ने सोचका साथ अहिले व्यवहार गरिँदै छ । देशमा कैयन समुदाय विभिन्न कारणबस पछाडि परेका छन् र तिनलाई माथि उठाउनु हामी सबैको दायित्व हो । दक्षिण अफ्रिकामा जस्तो छालाको रंगका आधारमा राज्यले ‘विधिवत्’ पृथक व्यवहार गरेको स्थिति यहाँ थिएन । अवसर प्राप्त गर्ने छुट हरेक जाति, धर्म, भाषिक र क्षेत्रीय समुदायकालाई थियो । तथापि दक्षिण अफ्रिकाका गोराहरूलाईझैं यहाँ क्षत्री-ब्राह्मणलाई ‘दुश्मन’का रूपमा व्यवहार गर्ने प्रयास भइरहेको छ । ब्राह्मण-क्षत्री समुदायका कोही माथि पुगेका भए ती कति सङ्घर्ष गरेर आफूलाई स्थापित गर्न सफल भएका हुन् भन्नेतर्फ किञ्चित विचार-विमर्श नगरी ‘माथि’ पुग्नु नै गल्ती ठानिँदै छ । योग्यता र क्षमतालाई भन्दा जाति र क्षेत्रलाई प्राथमिकता दिने सोच-व्यवहारले ब्राह्मण-क्षत्रीलाई दरकिनार गर्ने प्रयास हुँदै छ । एउटा शाखा अधिकृत बन्न ब्राह्मण-क्षत्रीले हज्जारौँका बीच प्रतिस्पर्धा गर्नुपर्ने अन्य कतिले चाहिँ सोही अवसर प्राप्त गर्न खास प्रतिस्पर्धा गर्नै नपर्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, एउटा शाखा अधिकृतलाई बढुवा हुन कम्तीमा पाँच वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ, तर कतिपयले चार वर्षमै उक्त अवसर प्राप्त गर्न सक्नेछन् । यसो गर्दा एउटा योग्य मानिसभन्दा पहिले अर्कै बाटोबाट आएका मानिस हाकिम बन्न पुग्ने निश्चितप्राय: छ । अर्थात् एउटा योग्य मानिसले कम प्रतिस्पर्धाबाट अगाडि आएका मानिसको अन्तर्गतमा रहेर काम गर्नुपर्ने अवस्था सिर्जना गरिँदै छ । समाजमा पछौटेपन रहँदासम्म पिछडिएको समुदायका मानिसलाई निश्चित कालसम्म आरक्षण दिएर भए पनि माथि उठाउन खोजिनु स्वाभाविक हुन्छ । तर, खास जातीय समुदायको भएकै कारण कसैलाई अनन्तकालसम्म त्यस किसिमको अवसर उपलब्ध गराइने सोच राखिनुलाई चाहिँ स्वाभाविक र प्राकृतिक ठान्नु किमार्थ न्यायोचित हुन सक्दैन । यहाँ आरक्षणलाई जन्मसिद्ध र स्थायी अधिकारका रूपमा प्रयोग गर्ने चेष्टा हुँदै छ । त्यति मात्र होइन एकात्मक राज्यलाई जातीय आधारमा विभाजन गरी निश्चित जातिलाई शासन सञ्चालनमा अग्राधिकार दिइनेसम्मका ज्यादतिपूर्ण अवधारणा अघि सारिएका छन् । अवसरहरूबाट अप्राकृतिक किसिमले निश्चित जातलाई वञ्चित गर्न भइरहेका प्रयासहरूले न्यूनतम मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य-मान्यतालाई समेत खिल्ली उडाइरहेको छ । मौका मिल्नेबित्तिकै क्षत्री-ब्राह्मणलाई प्रहार गर्ने, हरेक अवसरबाट तिनलाई वञ्चित गर्ने प्रपञ्च यसैगरी चलिरहने हो भने यो मुलुक योग्यता र क्षमतामा विश्वास गर्नेहरूका निम्ति क्रमश: परायभूमि बन्न सक्ने जुन खतराका सङ्केतहरू देखिएका छन् । यसले भविष्यमा दक्ष जनशक्ति यहाँबाट पलायन गराउने सम्भावना बढाएको छ ।
ब्राह्मण-क्षत्रीलगायत कतिपय राष्ट्रवादी समुदाय र व्यक्ति यो मुलुक खण्डित भएको अवस्था व्यहोर्न चाहँदैनन् । नेपाली हुनुको गौरव कायम राख्दै समग्र मुलुकको समृद्धिका निम्ति क्रियाशील रहनु नै गल्ती हो भने त्यस्तो गल्ती ब्राह्मण-क्षत्रीले अवश्य गरिरहेका छन् र यसप्रकारको गल्ती दोहोर्‍याई-तेहेर्‍याई बारम्बार यिनले गरिरहने पनि छन् । आफ्नो समुदायको हितका पक्षमा मात्र आन्दोलित हुने हो भने त्यसप्रकारको आन्दोलन सुरु हुने सम्भावना पनि जीवित छ । तर, क्षत्री-ब्राह्मणले समेत देशको कुरा गर्न छोडेर आफ्नै हितमा मात्र केन्द्रित हुन थालेमा यो मुलुकको अस्तित्व र भविष्य कसरी जोगिन सक्ला ? चिन्ता थपिएको छ । देशलाई सुडान, नाइजेरिया, बुरुण्डी या इथियोपिया बन्न नदिन निश्चित समुदायले निर्वाह गरिरहेको भूमिका कमजोर हुँदा देशको समग्र रक्षा हुने विश्वास गर्न सकिँदैन, जीवनको उत्तराखण्ड प्रवेशको पूर्वसन्ध्यामा ब्राह्मण कुलमा जन्म हुनुको पीडा थपिएको छ, अब यसप्रकारको पीडाबाट कसरी उन्मुक्ति प्राप्त गर्न सकिएला ?
-डीपी त्रिपाठी