‘प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

‘प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान


प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गर्नुभयो । उहाँले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गर्नुभयो ।

महारथी शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दर्ज्यानी चिन्ह, सहायक रथी डा. प्रेम सिंह बस्न्यात (अ.प्रा.)लाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान, सुवेदार पुरमल बस्नेत (अ.प्रा.)लाई प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान, जमदार टंकबहादुर कार्की (अ.प्रा.)लाई प्रधानसेनापति उत्कृष्ट उद्यमी सम्मान, जमदार टहलबहादुर कार्की (अ.प्रा.)लाई प्रधानसेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार सम्मान, अमल्दार स्वर्गीय सुरेन्द्र वि.सी.का श्रीमती शोभा विसीलाई प्रधानसेनापति उत्कृष्ट समाज सेवा सम्मान, एकल महिला तर्फ हुद्धा स्वर्गीय केशवबहादुर कार्कीका श्रीमती विनु कार्की र अवकास प्राप्ततर्फ जमदार सुकबहादुर विश्‍वकर्मा (अ.प्रा.)लाई प्रधानसेनापति सफल लघुवित्त उद्यमी सम्मानअन्तर्गत पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा कृषि, प्राकृतिक प्रकोप उद्धार, समाज सेवा र लघुवित्त क्षेत्रमा उत्कृष्ट उद्यमीलाई सम्मानित गरिएको थियो ।

सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी एवं प्रसंशनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दैआएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिन्छ ।