-शिवजी श्रेष्ठ
जब चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात् स्थगित भएको समाचार आउनेबित्तिकै यस्ता टीका-टिप्पणी र समाचारहरू नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरूका नेताहरूबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरू पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरूले मिडियाहरू रंगिएका थिए । सञ्चारमाध्यमहरू चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरूलाई लिएर यति नकारात्मक रूपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनी विज्ञप्ति नै प्रकाशित गर्नुपर्यो ।
कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरू, अधिकांश समाचार शीर्षकहरू नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कुल कम्पाउन्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरू प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको सुरुवात समाचार हेरेर वा पढेर सुरु गर्नेहरूको सम्पूर्ण दिन यिनै कुराहरूबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चारमाध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरूले भरिएको सर्न्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्ची म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चय, हिंसा, अस्थिरताबाट मात्रै गुज्रिरएको छ त ? भन्ने प्रश्नवाचक चिह्न प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरूको शृङ्खलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरू त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरू नभएका हुन् त ?
भारतका तत्कालीन राष्ट्रपति डा. एपीजे अब्दुल कलामले भारतको सञ्चारमाध्यम किन यति नकारात्मक भएका ? भन्ने प्रश्न उठाउँदै सन् २००६ मा हैदरावादमा एक महत्त्वपूर्ण भाषण दिएका थिए । त्यसमा भारतीय सञ्चारमाध्यमको तुलनात्मक रूपमा समीक्षा गर्दै गुनासो पोखेका थिए । उनले सोधेका थिए- सञ्चारमाध्यम किन यति नकारात्मक भएका ? आफ्नो शक्ति र उपलब्धताको पहिचान गर्ने हामी किन लजाएका ? हाम्रो राष्ट्र यति ठूलो छ, हामीसित यतिका सफलताका कुरा छन् । तर, हामीले यसलाई स्वीकार्न चाहेनौँ किन ? भारतमा हामी सधैँ हत्या, हिंसा, आतङ्क र अपराधका दुःखद् खबरहरू पढ्छौँ । किन हामी त्यही रुचाउँछौँ ? हामी रिमोट सेन्सिङमा पहिलो छौँ । दूध उत्पादनमा पहिला छौँ । गहुँ र धान उत्पादनमा हामी संसारमा दोस्रो छौँ, डा. सुदर्शनले एउटा सानो गाउँलाई समुन्नत बनाएका छन् । हामीले यस्ता लाखौँ उपलब्धि हासिल गरेका छौँ । तर, त्यसलाई छाडेर सञ्चारमाध्यमले सधैँ असफलताका कुराहरू मात्र सप्रेषण गर्छन् । अनि उनले आफ्नो अनुभवसहितको उदाहरण दिएका थिए, ‘म तेलअभिभ जाँदा एउटा इजरायली पत्रिका पढ्दै थिएँ । त्यो दिन त्यहाँ बम विस्फोटनका कारणबाट धेरै मानिस हताहत भएका थिए । तर, पत्रिकाले पहिलो पृष्ठमा चारजना यहुदीहरूले कसरी मरुभूमिलाई सुनगाभाको बगैँचा बनाए भन्ने लेख छापिएको थियो र दुर्घटनामा मानिस मरेको र दुर्घटनाको खबर भित्री पेजमा हराएको थियो ।’
सञ्चारमाध्यम भनेको त्यो राष्ट्रको ऐना हो, जहाँ त्यो राष्ट्रको मुहार हर्ेन सकिन्छ । संसारले नेपाल कस्तो देश हो ? भन्ने बुझ्ने माध्यम भनेकै त्यो देशको सञ्चारमाध्यमबाट हो । अनि संसारले त्यहीअनुसारको धारणा बनाउँछ । माथि डा. कलामले भनेझैँ हाम्रो देश पनि संसारको एउटा सुन्दर अनि सम्भावना बोकेको देश हो । संसारका चौधवटा आठ हजारभन्दा अग्ला हिमालय हाम्रो देशमा पर्द । छोटो समयमा नै छिचोल्न सकिने अर्थात् अनुभव गर्न सकिने तीन भिन्न भौगोलिक अवस्थिति हाम्रै देशमा छ । बुद्ध अझै भारतमा होइन नेपालमा जन्मिएको भनेर भनिरहनुपरेको छ । बुद्ध नेपालमा जन्मिएको हो भनेर विश्व अभियान चलाएको कपिलवस्तु दिवस अभियानले हाम्रो सञ्चारमाध्यममा पर्याप्त ठाउँ पाउँदैन, बरु चिनियाँ प्रधानमन्त्री नेपाल आउने हुँदा फ्री तिब्बत अभियानले चर्चा पाएको छ । ऐश्वर्या रायको छोरीको नाम नजुर्दा समाचार बन्छ तर शारीरिक रूपमा अशक्त तर खुट्टाले लेखेर इतिहास बनाएका झमककुमारी घिमिरेको नागरिक अभिनन्दन हुँदा सञ्चारमाध्यमले उचित स्थान दिँदैन । अमेरिकाको नासामा कुनै भारतीय वैज्ञानिकले काम गरेको समाचार बन्छ तर विदेशबाट स्वदेश फर्किएर नर्भिक अस्पतालमा काम गर्दै असम्भव प्रायः अवस्थाका पाँच रोगीलाई बचाएका डा. निरज जोशीको समाचार बन्दैन । धान्द्रकमा जुत्ताको माला लगाएको समाचार बन्छ तर सप्तरीको स्कुलमा शिक्षकलाई फूलको माला लगाएको समाचार बन्दैन । एनआरएनको पाँचौँ विश्व सम्मेलनका दुई नेतृत्वबीच अन्तरक्रिया गर्दा भएको सामान्य होहल्लालाई कुटाकुट भनेर ब्रेकिङ न्युज दिन कोही पछि पर्दैनन् तर त्यही नेतृत्व सर्वसम्मत हुँदा सामान्य समाचारमा परिणत भयो । नराम्रो कुरा प्रकाशित गर्न हामीलाई कत्रो हतारो हुन्छ, किन होला ?
साफ फुटबलको बेला नेपालले जिते अपार्टमेन्ट दिने घोषणा गरेका गणेश थापाको घोषणाको सराहना गर्नु त कता हो कता त्यसको नकारात्मक पक्षको खोजीमा समाचार केन्द्रित देखिन्थ्यो । लुक्लामा मौसम खराब भएर पर्यटक रोकिँदा जुन समाचारको बाढी आएको थियो तर भइरहेको उद्धार प्रयास र उदारकार्यले त्यति प्राथमिकता पाएन, शायद पर्यटक, ट्राभल एजेन्सीहरू त तिनै समाचारमा आँखा गाढेर बसिरहेको थिए होलान् । त्यसले आउने पर्यटकलाई नेपाल आउने वातावरण तयार गर्छ कि बिगार्छ ? केही समयअघि आयोजकबिनै हल्लैको भरमा काठमाडौं बन्द भएको थियो कारण सञ्चारमाध्यममा आएको समाचार ‘आज पनि उपत्यका बन्द’ भन्ने समाचार थियो । हाम्रा समाचारहरू बिकाउ प्रकृतिका हुन्छन्, ठूला-ठूला भँगेरे टाउकामा उत्तेजित, आक्रोशित वा त्रसित हेडलाइनबाट आफ्नो पत्रिकाको स्तर निर्धारित गर्ने प्रवृत्तिले पत्रिकालाई त फाइदा होला, तर त्यसले दिने सन्देशले जनतालाई, अनि देशलाई के फाइदा हुन्छ ?
चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनेबित्तिकै देशकै सरकार असफल भएको डङ्का पिट्नैपर्ने, नेपालका प्रत्येक सरकारको गठन र भविष्य भारतसँग जोडतोडका साथ जोड्नैपर्ने, सरकारमा रहनेहरूको आत्मविश्वास गिराउनैपर्ने ? कहिलेकाहीँ सकारात्मक सामाचारहरू दिँदा सकारात्मक काम गर्नेको मनोबल बढ्छ र अरूलाई पनि प्रोत्साहन हुन सक्छ भने कुरालाई पनि ख्याल गर्ने हो कि ? परराष्ट्र मन्त्रालयको राहदानी शाखामा लागेको लाइन देखाउनुभन्दा ओखलढुङ्गामा बाख्रापालन गरेर स्वावलम्बी भएको युवाहरूको कथा बढी प्राथमिकतामा छाप्ने हो कि ? अमेरिकामा डीभी परेको कथाभन्दा नवलपरासीको अस्ट्रिचपालनको कथालाई प्राथमिकता दिने हो कि ? परिस्थितिले परदेशिएकालाई स्वदेशको केही सप्रिएको परिस्थिति देखाएर स्वदेश फिर्ता गराउने समाचार छाप्ने हो कि ? नकारात्मक समाचार देखाएर उतै रोक्ने वातावरण बनाउने ? नेपालको गाउँ-गाउँमा बिहेमा ब्यान्डबाजा भित्र्याएको समाचारभन्दा बेलायतमा गुल्मेली समाजले भित्र्याएको पञ्चेबाजाको समाचार छाप्ने हो ?
जे होस्, स्वदेश वा विदेश, जहाँको नेपाली सञ्चारमाध्यममा भए पनि आफू र आफूभित्रको प्राथमिकतालाई केलाउनैपर्ने भएको छ । सकारात्मक वा नकारात्मक समाचार कुनलाई प्राथमिकता दिने ? त्यसको समयक्रममा प्राथमिकता निर्धारण गर्नु जरुरी छ । सकारात्मक समाचार पनि सकारात्मक सन्देश प्रवाह हुनेगरी छाप्न सकिन्छ । हामी अगाडि जान नसकेको हामी पछाडि नै छौँ भन्ने मानसिकताले त होइन ? हाम्रो विकास हुन नसकेको हामी अविकसित नै छौँ भन्ने मानसिकताले त होइन ? हाम्रा सरकार जुन आए पनि असफल भइरहने, जुन जोगी आए पनि कानै चिरेको भन्ने मानसिकताले त होइन ? अनि यी मानसिकता बन्ने वातावरण हाम्रै सञ्चारमाध्यमहरूमा सदा छाइरहने नकारात्मक समाचार सामग्रीहरूले त होइन ? किनकि सञ्चारमाध्यम भनेको समाज, राष्ट्र अनि त्यहाँका नागरिक जीवनको ऐना हुन् । त्यही ऐनाले सबै कुरा र्छलङ्ग देखाउँछ ।
तर्सथ, एकपटक ती तत्कालीन भारतीय राष्ट्रपति डा. कलामको गुनासो र सुझावलाई हामी पनि हाम्रै सर्न्दर्भमा पनि हेर्ने हो कि ? जहाँ मनाङको डा. देवी गुरुङ, नर्भिकका डा. निरज जोशी, महावीर पुनका कथाहरू आऊन् अनि कपिलवस्तु अभियानका डा. कवितारामदेखि रामकुमार श्रेष्ठजस्ता अभियन्ताहरूले पनि उपयुक्त स्थान पाइरहून् ।
प्रतिक्रिया