प्रहरीद्वारा ४२० बोरा अवैध चिनीसहित ट्रक बरामद

प्रहरीद्वारा ४२० बोरा अवैध चिनीसहित ट्रक बरामद


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाको टिसिएन चोकमा प्रहरीले चिनी लोड गरी लैजाँदै गरेको अवस्थामा ट्रक बरामद गरेको छ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटबाट पूर्वतर्फ लैजाँदै गरेको ना.६प २९०३ नम्बरको ट्रकमा चिनी लोड गरी लैजाँदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप)का डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् । इलाका प्रहरी बर्दघाटका प्रहरी निरीक्षक वीरेन्द्र के.सी. को नेतृत्वमा गएको प्रहरी टोलीले चेकजाँचको क्रममा चिनी र कागजपत्र शङ्कास्पद देखिएकोले चिनीसहितको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

ट्रकचालक सिराहा धनगढी माइ नगरपालिका १० बस्ने वर्ष ४८ का विनोद ठाकुरलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजस्व कार्यालय बुटवलमा पठाइएको हो। अवैध रुपमा ल्याइएको चिनी ४२० बोरा रहेको र चिनीको हालको बजार मूल्य १५ लाख ८५ हजार रहेको र ट्रकको अन्दाजी मूल्य २० लाख रहेको बताइएको छ।

पश्चिम नवलपरासीको बर्दघाटसम्म ल्याइपुर्‍याइएको अवैध चिनी जिल्लाको दक्षिणी सिमावर्ती ईलाकाबाट ल्याइएको अनुमान गरिएको छ। जिल्लाको सिमा क्षेत्रबाट बर्दघाटसम्म आइपुग्दा करिब आधा दर्जन सुरक्षा चेक पोइन्टलाई छली अवैध चिनीसहितको ट्रक आइपुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।