‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव


  • तस्बिर : रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले जानकारी दिए । ‘दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गऱ्यो पुनः बिग्रिन्छ, सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन’, उनले बताए ।

सोलारमा समस्या आउँदा घर-घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उनका अनुसार स्थानीयवासी घरबाट आधा घन्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन् ।

पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ । उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।

स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उहाँको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।

‘सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ’- थापाको भनाइ छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् ।