मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना


हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिएका छन् ।

काठमाडौंमा हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पुनः हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ । उनका अनुसार आज काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ । काठमाडौं उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि सोमबार पनि मधेस प्रदेशका एक/दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।