पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मत

पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मत


पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सङ्घीय संसद् संसदीय सुनुवाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको शुक्रबारको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिएअनुसार समिति बैठकमा सदस्यहरुले राखेको जिज्ञासामा नेपालले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताएका थिए ।

पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाइ छ । युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाएका छन् ।

गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपाली नागरिकको सङ्ख्या बढिरहेको छ । मुख्यगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपाली पोर्चुगल जाने गरेका छन् ।