फेसबुकबाट चार मिलियन डलर चोरी भएको खुलासा

फेसबुकबाट चार मिलियन डलर चोरी भएको खुलासा


पक्राउ परिन् महिला कामदार

फेसबुकका एक पूर्वकर्मचारीले कम्पनीको करोडौँ डलर ठगी गरेको भेटिएको छ । कम्पनीले फेसबुकका एक पूर्वकर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । ती एक महिला कर्मचारी भएको र उनले विलासितामा ठूलो रकम खर्च गरेको पाइएको छ । क्यालिफोर्निया र जर्जिया गएर उनले ब्यापकमात्रामा पैसा उडाउने काम गरेकी थिइन् ।

बार्बरा फार्लो स्माइल्स नामकी महिला सामाजिक सञ्जाल फेसबुकमा काम गर्थिन् । अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ती महिलाले कम्पनीमा प्रमुख रणनीतिकारकै रूपमा काम गरेकी थिइन् । उनले सन् २०१७ देखि २०२१ सम्म कम्पनीमा काम गरेकी थिइन् । तर, यसैबीचमा उनले पैसा लुट्ने अनौठो तरिका अपनाउन सुरू गरिन् ।

जसअनुसार उनले ठगी बिक्रेता, नक्कली शुल्क र नगद किकब्याक आदि योजनामार्फत पैसा चोर्न सुरू गरिन् । उनले कम्पनीको लागि झुटा बिलहरू बनाइन् र कम्पनीले कहिल्यै नपाएको सेवाहरूको लागि पैसा लुट्ने काम गरिन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बारबराले विलासी जीवन बिताउन आफ्नो फेसबुक एक्सपेन्स खाता प्रयोग गरेकी थिइन् । उनले यो पैसा क्यालिफोर्निया र जर्जियामा गएर खर्च गरिन् । उनले कपाल स्टाइल, बेबी सिटर र प्रि-स्कूल ट्यूशनसहित व्यक्तिगत खर्चको लागि कम्पनी कोषको रकम प्रयोग गरिन् ।’

फेसबुकमा अनुसार बारबराले कम्पनीको क्रेडिट कार्डलाई पे पल, भेन्मो जस्ता डिजिटल पेमेन्ट एपसँग लिङ्क गरेको थिइन् । त्यसपछि उनले कार्डमा लागू नहुने सेवाहरू प्रयोग गरिन् ।

महिलाले आफ्ना साथी, आफन्त आदिलाई पनि योजनाको हिस्सा बनाएकी थिइन् । अन्वेषकहरूका अनुसार बारबराले गलत खर्च रिपोर्ट तयार गरेका थिइन् । त्यसपछि व्यापारीहरूले उनलाई नगद भुक्तानी गरे, जसअनुसार ती उनले फेसबुकबाट ४ मिलियन डलर भन्दा बढी चोर्न सफल भइन् । यसको खुलासापछि बारबारा पक्राउ परेकी छन् ।