पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु

पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु


गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बताइएअनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।

करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ ।

इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ । त्यस्तै, रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको सिन्ह्वाले जनाएको छ।

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता

यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन् ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका छन् ।

सो वार्तालाई लिएर क्रेमलिनले ‘राष्ट्रपति पुटिनले रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान चाहेको’ उल्लेख गरेको छ ।