महासंघ सदस्यता विवाद : नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा तालाबन्दी

महासंघ सदस्यता विवाद : नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा तालाबन्दी


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाइकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार पश्चिम नवलपरासीमा तालाबन्दी गरिएको हो।

महासंघ पश्चिम नवलपरासी शाखाको परासीमा रहेको कार्यालयमा युनियनका जिल्ला अध्यक्ष उमेशकुमार बिक को नेतृत्वमा तालाबन्दी गरिएको जिल्ला सदस्य रन्जित शर्माले जानकारी दिएका छन् ।

युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्डविपरीत निष्कृय एवम् गैरपत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरी र बलजफ्ती, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधानविपरीतका गतिविधि बन्द गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको हो।

तालाबन्दीपछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेशकुमार बिकले एक प्रेसविज्ञप्ति पनि जारी गरेका छन् ।

निर्देशिकाको धज्जी उडाउँदै सञ्चारकर्ममा निरन्तर क्रियाशील नभएका र मुख्य पेशा शिक्षण र गैह्रसरकारी संस्थामा आवद्ध ब्यक्तिहरुको नामसमेत महासंघको सदस्यता नामावलीमा समावेश भएकोले आपत्ति जनाउँदै नेपाल प्रेस युनियन नवलपरासी शाखाले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीमा समेत बारम्बार लिखित र मौखिक रुपमा समेत यो गम्भिर त्रुटी सच्याइ पुनरावलोकनका लागि ध्यानाकर्षण गरिएको विषयलाई समेत नजरअन्दाज गरी जिल्ला शाखाको पुर्वाग्रही एवम् निर्देशिका विपरीत गरिएको सिफारिस नामावलीलाई केन्द्रिय समितिले समेत परेका उजुरीको विषयमा छलफल नगरि हुबहु स्वीकृत गर्ने विषय दुर्भाग्य र लोकतान्त्रिक मुल्य मान्यताविपरीत रहेको यस नेपाल प्रेस युनियन नवलपरासी शाखाको ठहर रहेको छ- विज्ञप्तिमा भनिएको छ ।

मागको सम्बोधन नभएसम्म जिल्ला शाखाको भूमिका समेत अमान्य रहने नेपाल प्रेस युनियन नवलपरासीले जनाएको छ ।