पहिरोले गाईघाट-दिक्तेल सडक अवरुद्ध

पहिरोले गाईघाट-दिक्तेल सडक अवरुद्ध


उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कामा पर्ने गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोका कारण अवरुद्ध भएको छ ।

त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट-दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।

यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिएका छन् ।

नगरप्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको बताइएको छ ।