(भाग २)
हामी यौनको बारेमा कुरा गर्दा पनि डराउँछौँ, तर सत्य यो हो कि मानव जीवनमा योभन्दा महत्वपूर्ण अरु केही छैन । यौनसँग डराउने होइन, यसलाई छलफल गरेर बुझ्ने प्रयास गर्नुपर्छ । त्यसका सिमा र परिधिबारे छलफल गर्नुपर्छ । यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे नयाँ ढंगले बहसको थालनी गर्नुपर्छ ।
✍ डिल्ली अम्माई

पूर्वीय सभ्यताको उच्चतामा वैवाहिक परम्परा यौनको लागि बाध्यकारी थिएन । मन मिल्यो रति कामना आयो सम्भोग भयो ! यसलाई प्राकृतिक भोजनकै रुपले सहज मानिन्थ्यो । तर, करकाप र डर-धम्की तथा अपहरणद्वारा गरिने यौनलाई अपराध कर्म मानिन्थ्यो । दुबैको रुचि भएसम्म यो कर्म ब्यक्तिगत हुन्थ्यो ।
पौराणिक उपनिषद् र साहित्यमा लेखिएअनुसार, पाण्डुकालमा उद्दलक नामका एक प्रसिद्ध ऋषिका एकमात्र श्वेतकेतु नामक पुत्र थिए । एक पटक श्वेतकेतु आफ्ना आमा-बुवासँग बसिरहेको बेला एक परिब्राजक (परपुरुष) आएर श्वेतकेतुकी आमाको हात समातेर भने, ‘आऊ सम्भोगको लागि जाऔँ !’ त्यसपछि परिब्राजकसँग सम्भोग गर्न ऋषि उद्दलककी पत्नी अरुणिका गइन् । त्यो दृश्य देखेर श्वेतकेतु क्रोधित भए र बुबासँग जवाफ मागे । उनको बुबाले ‘वैदिक कानुनअनुसार महिलाले चाहेको ब्यक्तिसँग सम्भोग गर्न गाईजस्तै स्वतन्त्र छ’ भनेर जवाफ फर्काए । यसबाटै थाहा हुन्छ कि त्यस समय महिलाहरू यौनको लागि पुरुष जत्तिकै स्वतन्त्र थिए !
महाभारत कालमा कुन्ती र मान्द्रिबाट जन्मेका सबै सन्तान फरक–फरक पुरुषबाट जन्मेका सन्तान थिए । अनि पाण्डु र धृतराष्ट्र पनि महर्षि ब्यासका सन्तान हुन् । त्योबेला पुरुषप्रधान समाज नै भए पनि आफ्नो लोग्नेबाट सन्तान नहुँदा फरक-फरक पुरुषबाट सन्तान जन्माउन पाउँथे महिलाहरूले । कुलबधु जस्तै किन्नरी, अप्सरा, नगर बधु र उनीहरूका सन्तान पनि सम्मानित मानिन्थे त्यो बेलासम्म । दुश्यन्तपत्नी सकुन्तला, पाण्डु, धृतराष्ट्र, कर्ण, पाण्डव त्यसका ज्वलन्त उदाहरण हुन् ।
पौराणिक कालदेखि नै पुरुषको वशीकरणका लागि नारीको सुन्दरता एक अचुक अस्त्र मानिएको छ । त्यस्तै सुन्दर, कामुक, बहादुर र बलिष्ठ पुरुष महिलाको रोजाइमा हुन्थे महाभारत कालसम्म । राजसभामा समेत राजकुमारीले आफ्नो लागि योग्य बर आफै रोज्न पाउँथे ।
तथापि, वेश्याको पनि शोषण हुनु हुँदैन भन्ने बलियो धारणा राख्थे महर्षि वात्स्यायान । ऋषि भन्दछन्- नगरबधु वा वेश्याले पनि समाजमा सम्मानपूर्ण जीवन जिउन पाउनुपर्छ । त्यसैले पौराणिक साहित्यमा बेश्याहरूलाई नगरबधु, अप्सरा वा गणिका भनिएको हो । कामसूत्रले वेश्यागमलाई समेत वर्जित र अनैतिक नमानी समाजको अङ्ग मानेको छ । उनका अनुशार, एक युवतीलाई अप्सरा वा गणिका बनाएको नीजि सम्पति, पुरुषप्रधान राज्य ब्यवस्थाको उद्भव, बंशको चिन्ता र उनीहरूको विलासी जीवन पद्दतिले हो । त्यसमा महिलाको कुनै दोष छैन ।
‘काम’को अर्थ प्रेम, यौन, समभोग, रतिभोग र आनन्द हो भन्ने कुरा यो दर्शनका ‘सूत्र’हरूले स्पष्टसँग बताएका छन् । यस ग्रन्थले सम्बन्ध, नैतिकता र सामाजिक मान्यताबारे समेत बिशेष चर्चा गरेको छ । यसले प्रेमपुर्ण लौकिक भोग, पारस्परिक सम्मान र समझदारीका लागि मानवलाई मार्गदर्शन गरेको छ । सन् २०१६ मा प्रकाशित ‘रिडिमिङ द कामसूत्र’ नामक पुस्तकमा भारतीय संस्कृति र समाजका विद्वान् वेन्डी डोनिगरले वात्सायन महिलाको यौन आनन्दका पक्षधर मात्र नभइ उनीहरूको शिक्षाको अधिकार र इच्छा व्यक्त गर्ने स्वतन्त्रताको पनि वकालत गर्थे भनेर लेखेका छन् । पुरुष वर्चस्वलाई सुदृढ गर्नुभन्दा कामसूत्रले आपसी आनन्द र सहमतिको महत्वलाई जोड दिएको छ । पुस्तकले यौन सम्बन्धलाई पुरुषका लागि मात्र नभएर महिला–पुरुष दुबैको साझा आनान्दानुभूतिका रूपमा चित्रित गर्छ । त्यसैले यस दर्शनलाई कुनै एकलिङ्गीय बर्चस्वको दर्शन नभएर यौन समानताको साझा दर्शन भन्न सकिन्छ ।
केही बौद्धिक मान्छेहरू प्रश्न गर्दछन्- ब्रह्मचारी हुँदाहुँदै पनि वात्स्यायनले कसरी अनुभवी कामयोगीले झैँ कामसूत्र लेखे ? त्यसको सहज उत्तर दिन नसके पनि आत्मिक अनुभूति र भोक्ताहरूको अनुभवबाट पनि उनले कामसूत्र लेखेका हुन सक्छन् भन्न सकिन्छ । यो प्राग कालमा लेखिएको एक यौन मनोविज्ञानको पुस्तक समेत हो ।
सूर्यनारायण व्यासले कालिदास र वात्स्यायनको कार्यको तुलना गर्दा वात्स्यायनलाई कालिदासपछि ईसापूर्व प्रथम शताब्दीको मानेका छन् । कसै-कसैले उनी इशापूर्व दोस्रो वा तेस्रो शताब्दीमा भारतको बिहारको पाटलीपुत्र अर्थात पटनामा जन्मेका थिए भनेर पनि लेखेका छन् । उनका अनुशार कामुकता भनेको आनुवंशिक विशेषताहरूको संयोजन र मिश्रण गर्ने प्राकृतिक प्रक्रिया हो । यौनसम्पर्कको क्रममा विशेष कोषहरू (गेमेट्स)को मिलनबाट बन्ने नयाँ जीवमा आमाबाबु दुवैको विशेषता हुन्छ । त्यसलाई अनुबांशिक विशेषता भन्न सकिन्छ ।
महर्षि वात्सयायनको जीवनको एक प्रमुख भाग वाराणसीमा बित्यो । मानिसहरूको काम-तृष्णालाई आत्मैदेखि महसूस गरेर, त्यसका सिमा र प्राकृतिक बहावको गहिरो अन्वेषण गरेर उनले त्यहीँ मनोवैज्ञानिक यौन दर्शन ‘कामसूत्र’को रचना गरेका थिए । दुई हजार वर्ष बितिसक्दा पनि यो पुस्तकलाई यौनको बारेमा जानकारी प्रदान गर्ने सबैभन्दा प्रामाणिक पुस्तक मानिन्छ । वात्स्यायनको बारेमा भनिन्छ कि, उनले यो पुस्तक वेश्यालयहरूमा गएर, त्यहाँका आसनहरू अवलोकन गरेर र वेश्याहरूसँग कुरा गरेको अनुभवलाई अनुभूत गरेर लेखेका थिए । तर्क गरिन्छ, ब्रह्मचारी भएकोले उनले कहिल्यै रति गतिविधिहरूमा भाग लिएनन् र आनन्द लिन पाएनन् । प्रसिद्ध लेखिका वेन्डी डोनिगरले पनि आफ्नो पुस्तक रिडीमिङ द कामसूत्रमा महर्षि वात्सयायनको बारेमा विस्तृत रूपमा कुरा गरेकी छन् । कामसूत्रका अनुसार, यौन क्रिया गर्ने ठाउँको विशेष व्यवस्था हुनुपर्छ । जथाभावी गरिने यौनसम्पर्कले सोचेजति सन्तुष्टि प्राप्त हुँदैन । कामसूत्रका अनुसार यौनक्रिया यस्तो कोठामा गर्नुपर्छ जसमा चारैतर्फ सुगन्ध होस् । मधुरो उज्यालो होस् । यो माहोलले तपाईंको निजी पललाई थप रोमाञ्चक बनाउँछ र आनन्दको आयुलाई अविस्मरणीय र प्रेमिल बनाइदिन्छ ।
दम्पतीले यौन क्रियाअघि आफ्ना सबै चिन्ता भुल्नुपर्छ । दुवैको मस्तिष्कमा केवल प्रेम भावनामात्र पैदा हुनुपर्छ । प्रेम भावनाका साथ गरिने यौनक्रियाले पूर्ण सन्तुष्टि प्राप्त हुन्छ भनेर कामसूत्रमा लेखिएको छ ।
पहिलो पटक ऋषिले आकर्षण शास्त्र के हो भनेर वैज्ञानिक रूपमा व्याख्या गरे । जसरी हामी जीवनका सबै पक्षहरूको बारेमा कुरा गर्छौं, त्यसरी नै हामीले यौनलाई पनि बेवास्ता गर्नु हुँदैन भन्ने उनको विश्वास थियो । वात्स्यायन धार्मिक शिक्षासँग सम्बन्धित थिए । तर धार्मिक अन्धता र रतिभोगलाई गोप्य राख्नुपर्छ भन्ने कुराका सशक्त विरोधि थिए । उनले यौनपूर्वका पाक कार्यहरूमा विशेष महत्व दिएर महिला-पुरुष समरूपमा समर्पित हुनुपर्ने कुरा लेखेका छन् । उनको पुस्तकमा लेखिएका ६४ सम्भोग कला महिला र पुरुष दुबैका लागि हो । भनिन्छ, यसलाई पछि केही अनुवादकहरूले पुरुषकेन्द्रित बनाउने काम पनि गरे ।
जस्तै, सन् १८८३ मा बेलायती सैनिक र अन्वेषक सर रिचर्ड बर्टनले अनुवाद गर्दा महिलाको स्वतन्त्रतालाई उजागर गर्ने अंश हटाएका वा परिमार्जन गरेका थिए । यसले महिलाको भूमिकालाई सक्रिय सहभागीबाट परिवर्तन गरी पुरुष आनन्दका लागि मात्र समर्पित पात्रका रूपमा प्रस्तुत गरिएको थियो । तर, गणेश शैलीजस्ता विद्वानले मूल कामसूत्रले महिलालाई अन्तरंग सम्बन्धमा समान सहभागीका रूपमा चित्रण गरेको भनेर लेखेका छन् । ग्रन्थअनुसार महिलाले आफ्नो आवश्यकता हाउभाउ, भावना र शब्दमार्फत अभिव्यक्त गर्थे, जसले उनीहरूको आनन्दलाई पुरुषको बराबरी स्थानमा राख्थ्यो । अझ महत्वपूर्ण के थियो भने संवादलाई अन्तरंगताको अभिन्न हिस्सा मानिएको थियो, जसले महिलाको सहमतिविना यौन सम्बन्ध अस्वीकार्य रहेको पुष्टि गर्थ्यो ।
‘कामसूत्र’ यौनिक स्वतन्त्रताको दस्तावेज :
यो रति कर्मको बहु-आयामिक दर्शन भए पनि यसको मर्मलाई उजागार गर्न सकिएको छैन । पूर्वीय समाजले अझै पनि महिलाको यौनिकतासम्बन्धी बहसलाई प्रायः दबाइरहेको छ । भारतीय यौन शिक्षक तथा पत्रकार लिजा मंगलदासका अनुसार महिलाको यौन आनन्द अझै पनि वर्जित विषय मानिन्छ, जहाँ सांस्कृतिक अपेक्षाले महिलालाई मौन, अधीनस्थ र विवाहपूर्व यौन निष्क्रिय रहन बाध्य पार्छन् । समाज वैज्ञानिक दीपा यो दमन परिवारबाटै सुरु हुनुपर्ने तर्क गर्छिन् । बालिकालाई आफ्नै शरीर अस्वीकार गर्न र पुरुषका इच्छालाई प्राथमिकता दिन सिकाइन्छ । हाम्रो समाज पिछडिनुको प्रमुख कारण यही लिङ्गभेद, महिलाको इच्छाको बस्तुकरण र यौन शिक्षालाई लुकाएर राख्नु हो ।
यो नियन्त्रण पितृसत्तात्मक सामाजिक मान्यतामा विस्तार भयो, जसले महिलाको कुमारीत्वलाई सद्गुणका रूपमा चित्रण गऱ्यो, तर पुरुषका लागि यस्ता कुनै अपेक्षा राखेन । यौन सम्बन्धलाई महिलाले जसरी पनि ‘दिने’ कुराजस्तो गरिन्छ, न कि उनीहरूले भोग्ने अनुभवका रूपमा हेरिन्छ । आनन्दलाई पुरुषको अधिकारका रूपमा हेरिन्छ, तर महिलाका लागि यसलाई सधैँ गौण ठानिन्छ । पुरुषका लागि सम्भोग रमाइलोका लागि हुन्छ, तर महिलाका लागि मात्र बच्चा जन्माउने साधनका रूपमा चित्रण गरिन्छ । तर, कामसूत्रले फरक कुरा भन्छ । यसले मूलभूत रूपमा महिलालाई यौन आनन्दमा सक्रिय सहभागीका रूपमा वर्णन गरेको छ । यसले महिलाको संवेदनशीलतालाई फूलको कोमलतासँग तुलना गर्दै उनीहरूलाई माया, ध्यान र सम्मान आवश्यक पर्ने बताएको छ ।
‘कामसूत्र नारीहरूप्रति उत्तिकै संवेदनशील छ जति पुरुषप्रति । प्राचीन ग्रन्थ कामसूत्र केवल यौन सम्बन्धबारे मात्र नभइ यौन स्वायत्ततासँग पनि सम्बन्धित छ । यसले महिलालाई आफ्ना इच्छा अभिव्यक्त गर्न र आफ्नो आनन्द बन्धन मुक्त गराउँदै प्रचलित पितृसत्तात्मक मान्यतालाई चुनौती दिन्छ । कामसूत्रले महिलाको यौनिकतालाई नियन्त्रित वा दमन गरिनुपर्ने विचारलाई अस्वीकार गर्छ । यसले पारस्परिक सन्तुष्टि र सहमतिको पैरवी गर्छ ।
यौनविद डोनिगर कामसूत्रलाई नारीवादी ग्रन्थका रूपमा वर्णन गर्छिन्, किनभने यसले महिलालाई आफ्ना जोडी रोज्ने, आफ्नो इच्छा स्वतन्त्र रूपमा व्यक्त गर्ने र सुखद यौन सम्बन्धमा संलग्न हुने अधिकारको पक्षपोषण गर्छ । यसले महिलाको यौन स्वायत्तताका लागि आर्थिक स्वतन्त्रतालाई महत्वपूर्ण कारकका रूपमा मान्यता दिन्छ । वित्तीय स्वतन्त्रता व्यक्तिगत निर्णय गर्ने क्षमतासँग गाँसिएको हुन्छ । यसर्थ सम्पतिमा दुबैको बराबर अधिकार र दायित्व हुनु अनिवार्य छ ।
पौराणिक कालदेखि नै पुरुषको वशीकरणका लागि नारीको सुन्दरता एक अचुक अस्त्र मानिएको छ । यसैगरी सुन्दर, कामुक, बहादुर र बलिष्ठ पुरुष महिलाको रोजाइमा हुन्थे महाभारत कालसम्म । राजसभामा समेत राजकुमारीले आफ्नो लागि योग्य बर आफै रोज्न पाउँथे ।
अन्ततः कामसूत्रले पितृसत्तात्मक संरचना, जहाँ महिलाको यौनिकता नियन्त्रित गरिन्छ, त्यसका कारकहरू पहिचान गर्दै नियन्त्रण गरिहाल्नु पर्ने सुझाव दिन्छ । यसले यौन स्वतन्त्रताको दृष्टिकोणबीचको अन्तरद्वन्द्वलाई प्रतिनिधित्व गर्दै समाधानका उपायहरूपनि दिन्छ । यसले एउटा वैकल्पिक भाष्य प्रस्तुत गर्छ, जहाँ आकर्षण पुरुष वर्चस्वको नभइ पारस्परिक आनन्दको विषय हुन्छ । यसका शिक्षाले अन्तरंग सम्बन्धबारे खुला छलफललाई प्रोत्साहन गर्छन्, जसले महिलालाई आफ्नो यौन सम्बन्धमा उनीहरूका आवाज पुनः स्थापित गर्न मद्दत गर्छ । त्यसैले यो पुस्तक यौन दासताविरुद्धको सशक्त आवाज पनि हो । यसले महिलालाई आफ्नो यौन अधिकार भयमुक्त बनाउन निर्देशन दिएकोले पुरुषको बर्चस्व रक्षाका खातिर समाजमा कामसूत्र पढ्न दिइँदैन वा लुकाइन्छ ।
भाष्य :
एक शताब्दीभन्दा बढी समयदेखि कामसूत्रलाई गलत रूपमा बुझिँदै आएको छ । यसको क्रान्तिकारी सन्देशलाई सेन्सरसिप र सांस्कृतिक लज्जाका पत्रले ढाकिएको छ । तर, यसले सहमति, समानता र महिलाको स्वायत्तताको जे-जति महत्वबोध गरेको छ, त्यति महत्वबोध पश्चिमा दर्शनमा पनि गरिएको छैन । कामसूत्रलाई यौन सशक्तीकरणको मार्गदर्शकका रूपमा पुनर्स्थापित गर्नु र यसको व्याख्यालाई खुला विश्वविद्यालयहरूमा बहसको विषय बनाइनु आजको आवश्यकता हो । कामसुत्र दर्शन, गहिरो रूपमा जरा गाडिएका सम्भोग वर्जित भाष्यलाई तोड्न र महिलाको आनन्दबारेको छलफललाई पुनः परिभाषित गर्न सहयोगी हुन सक्छ । महिलाको मनोवैज्ञानिक इच्छा अझै पनि नियन्त्रण गरिरहेको वर्तमान अबस्थामा यो प्राचीन ग्रन्थले हामीलाई ‘महिलाको यौन आनन्द प्राकृतिक र सामाजिक अधिकार हो’ भन्ने कुरालाई पटक-पटक सम्झाउँछ । यसर्थ यो लिङ्गिय यौन-पक्षपात विरुद्धको सशक्त आवाज बोकेको पुस्तक हो भन्दा कुनै अत्युक्ति नहोला ।
पवित्रता :
यौन एउटा अदृश्य ऐना जस्तै हो, जहाँ सबै कुरा छर्लङ्ग देखिन्छ तैपनि सबै कुरा बल-जफत लुकाइन्छ । लुकाइँदा-लुकाइँदै कतिपय यौन कला र साहित्यका कुराहरूले काम-तृष्णा या यौन-मनोदशालाई गोप्य रहन दिंदैन । यो विषयलाई यौन मनोविज्ञानको रुपमा सार्वभौम बनाउने काम पनि पुस्तकले गरेको हुन्छ । त्यो हो कामुक कलाको सार्वजनिक प्रदर्शनी, जुन हरेक दिन पुजिने देवी-देवताका मन्दिरका टुँडालमा छरप्रस्ट छन् । साझा सहमतिको यौन मन्दिरका देवता जत्तिकै पुज्य कर्म हो र हुनुपर्छ भन्ने कुरा हाम्रा मन्दिरहरूमा रहेका प्रामाणहरूले बताउँछन् ।
‘सम्भोगदेखि समाधिसम्म’नामको आफ्नो प्रवचनमा ओशोले भनेका थिए- ‘मानिसको अन्त्य चिहान हो भने सम्भोग जीवनयात्राको सिंढीको पहिलो पाइला हो । अहिलेसम्म मानिसले यौनलाई दुब्र्यवहारबाहेक अन्य कुनै सम्मान दिएको छैन । उनले भन्छन्- हामी यौनको बारेमा कुरा गर्दा पनि डराउँछौँ, तर सत्य यो हो कि मानव जीवनमा योभन्दा महत्वपूर्ण अरु केही छैन । यौनसँग डराउने होइन, यसलाई छलफल गरेर बुझ्ने प्रयास गर्नुपर्छ । त्यसका सिमा र परिधिबारे छलफल गर्नुपर्छ । यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे नयाँ ढंगले बहसको थालनी गर्नुपर्छ । स्लील र अस्लीलताको भाष्यलाई रुपान्तरण गर्दै जानुपर्छ ।
केही विवादित भए पनि, करिव १००० बिसीमा निर्मित टेराकोटाको कचौरामा कोरिएको कामुक चित्र सबैभन्दा पुरानो मानिन्छ । विवाहित जोडीहरूले पहिलो शताब्दीताका प्रजननकी देवीका रूपमा त्यस्ता कलात्मक चित्रहरूलाई पुज्ने गरेको तथ्य पाइन्छ । दोस्रो शताब्दीपछि भने दुई वा सामूहिक कामुकताका चित्र टेराकोटामा कोरिएको पाइएको छ । सन् १९२१ मा जर्मनका विलियम कोहेनद्वारा प्रकाशित ‘इन्डिस्क प्लास्टिक’नामक पुस्तकमा उल्लेख भएअनुसार पहिलो र दोस्रो शताब्दीमा नग्न र अर्धनग्न देवीदेवताका चित्र ढुङ्गा हुँदै काठ र इँटाका संरचनामा कुँदिएका भेटिए, जसले संवेदनायुक्त प्रेमको प्रतिनिधित्व गर्थ्यो । पुराना हिन्दु मन्दिर र सत्तलहरूमा निर्मित पाकक्रिडा युक्त चित्रकला र ढुङ्गेमूर्तिकलाले पनि कामुक कलाको प्रसार गरेको छ । कामसूत्र कामुक कलाको आधार हो भन्नेमा विज्ञहरूको दुईमत छैन । वात्सायनले सङ्कलन गरेको स्मृतिग्रन्थ ‘कामसूत्र’मा धार्मिक पात्र कामदेव र रतिका अनेक भावभङ्गीमासहित पाकक्रिडा र कलाको विशेष व्याख्या गरिएको छ । कामसूत्र लिखित यौन सिद्धान्त हो भने कामकला अथवा क्रिडा अभिव्यक्त कला हो । युवावर्गलाई सुषुप्त यौनशिक्षा दिएर सन्तान उत्पादनमा सक्रिय गराउन सकिने अभिलाषा स्वरुप त्यस्ता कामुक कलाको सहारा लिइएको ठानिन्छ । यौन आत्मिक पूर्णताको पथ मात्र नभएर सृष्टि क्रिया भएको र यसले मानिसको आनन्द स्वरुप मानसिक तहमा पुगेर सृष्टि वा सिर्जनामा सघाउने गर्दछ ।
हनुमानढोका दरबार परिसरका जगन्नाथ मन्दिर, इन्द्रपुर मन्दिर, नौतले दरबार, नासलचोक, मोहचोक, त्रिदेवी मन्दिर (ठमेल चोक), गणेश मन्दिर (यट्खा टोल), हरिशङ्कर मन्दिर (चिँकमुगल), लक्ष्मीश्वर (टेकु), ललितपुरका चर नारायण मन्दिर, मनिमण्डप, देगु तलेजु मन्दिर, दक्षिण तलेजु मन्दिर, जीना बहालको गणेश मन्दिर, भक्तपुरमा यक्षेश्वर मन्दिर, उमामहेश्वर मन्दिर, ऐसामाडु सत्तल, दत्तात्रय मन्दिर कामुक पाक कलाले सिङ्गारिएका स्थानहरू हुन् । यीबाहेक काठमाडौं उपत्यकाको छेउ काभ्रे तथा भित्री सहरका विभिन्न टोलका मन्दिर, पाटी तथा सत्तलहरूका टुँडाल र खाँबाहरूमा कामुक कला कुँदिएका पाइन्छन् । जगन्नाथ मन्दिरका टुँडालहरूमा अङ्कित प्रणयचित्रमा प्रेममा मग्न महिला-पुरुषको समागमका अनेक आसनयुक्त दृश्यावली प्रस्तुत गरिएका छन् । मन्दिरका टुँडालमा प्रणयलापका चौरासी आसन छन् ।
भिन्न सांस्कृतिक सभ्यतामा यौन दृष्टिकोण :
पूर्वको तुलनामा पश्चिमा समाज यौनको मामिलामा अलिक उदार मानिन्छ । त्यहाँ विवाहपूर्व र विवाहपछि दुवै स्थितिमा यौन सम्बन्धलाई वैध मानिन्छ । अचेल पूर्वीय सभ्यताले महिला पुरुषको सम्भोग सम्बन्धलाई विवाह पछि मात्र अनुमोदन गर्छ । तथापि मन्दिरका टुँडालका कामुक कलाले पूर्वीय सभ्यताको गोप्य यौन मानसिकतालाई सदियौँअघि नै भङ्ग गरिसकेको छ । पूर्वीय सनातन सभ्यता कालमा यौन स्वतन्त्रता विभेदकारी थिएन, अहिलेको युगमा भन्दा महिला-पुरुषहरूले आफ्नो यौन स्वतन्त्रता सनातन कालमा बढी उपभोग गर्दथे भन्ने कुराका प्रमाण हुन् टुडालका ति कामुक मुर्तिहरू ।
यौन कला अर्थात् सुरक्षित समभोग कलालाई बात्सयानले समग्र जीवन जिउने उच्चतम कला भनेर बताएका छन् । दुवै यौन जोडीले त्यसका लागि उपयुक्त वातावरण, समान मनोदशा, उत्तेजनाको समान अवस्था र पाक क्रिडाको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसको लागि निम्नानुसार सर्तहरूबारे बहस गर्न सकिन्छ-
एक- यौनक्रियाका लागि यौनजोडी दुबैको ‘मूड’ वा मनस्थिति परिपक्व हुनुपर्छ ।
दुई- यौनक्रियाका लागि समय र स्थान यस्तो हुनुपर्छ, जहाँ निर्धक्क हुन सकियोस् ।
तीन- यौनक्रियाका लागि यौनजोडी दुबैको उपस्थिति र सक्रियता आवश्यक हुन्छ ।
चार- यौनक्रियाका लागि दुबैको भावनात्मक पहल हुनुपर्छ ।
पाँच- एउटै आसन उचित हुँदैन, आसन बदल्नुपर्छ ।

के हो पाकक्रिडा ?
यौन संसर्गमा यौनजोडीको तयारी र उत्तेजनाको स्तर समान नहुँदा रतिक्रिया आनन्ददायक नहुन सक्छ । त्यसको लागि यौनमग्न हुनुपूर्व गरिने पाकक्रिडाले अहम भूमिका खेल्दछ । यौनक्रियाको पूर्व तयारी हो- पाकक्रिडा । पाकक्रिडाको आवश्यकता यौनजोडीलाई एकसाथ यौनका लागि उत्तेजित बनाउन अभ्यास गरिन्छ । सामान्यतया पुरुष उत्तेजित हुँदा महिलामा त्यस्तो उत्तेजनाको अवस्था सुरु भइसकेको हुँदैन । महिलामा उत्तेजना सुरु हुँदैगर्दा पुरुष शिथिल भइसकेको हुनसक्छ । त्यसैले उत्तेजनाको तालमेल मिलाउन पनि पाकक्रिडाको अहम भूमिका रहन्छ । पाकक्रिडामा शरीरका केहि अंगहरूको महत्वपुर्ण भूमिका हुन्छ ।
१. पेटको तल्लो भाग,
२. तिघ्राको भित्री भाग,
३. कान,
५. पिठ्युँ,
६. पाइताला,
७. हात,
८. जिब्रो,
९. हातका भित्री भाग,
१०. आँखाको परेला; यसबाहेक कुनै कुनै युवक युवतीहरू कपाल मुसार्दामुसार्दै पनि उत्तेजनामा आउने हुन्छन् ।
यौनदर्शनमा पाक मनोविज्ञान र यौन स्वास्थ्य :
चरम आनन्दको लागि यौन मनोविज्ञान, यौन स्वास्थ्य, यौन शिक्षा, यौन साहित्य र वातावरणको अहम भूमिका रहन्छ । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अध्ययनकर्ताहरूले गरेको अध्ययनको निष्कर्षका अनुसार असुरक्षित यौन व्यवहार कति खतरापूर्ण हुन्छ भनेर गरिने सचेतना अभियानहरूले भन्दा यौन सन्तुष्टिका बारेमा सिकाउने कार्यक्रमहरूले कन्डमको प्रयोग बढाएको देखिएको छ । यसले अकस्मात सर्ने यौन रोगबाट समेत बचाउने काम गरेको छ ।
सुन्दर युवतीहरूको योनीरसले भिजेको पेन्टी, महिनावारी हुँदाको पेन्टी तथा उनीहरूले लगाएको ब्रा सुँघेर यौनसम्पर्क गर्दा चरम आनन्दको अनुभूति हुन्छ । यो के भएको होला ? भन्ने एक ब्याक्तिद्वारा सोधिएको प्रश्नको उत्तर दिने क्रममा यौनविद तथा डाक्टर राजेन्द्र भद्राले भनेका थिए- यौनका सन्दर्भमा लामो समयसम्म मानिस गन्धमा भर नपरी दृष्टिमा भर पर्छ भन्ने मानियो, तर पछिका अनुसन्धानले गन्धको प्रभाव यौनसाथी चयन गर्ने कार्यमा पर्ने देखियो । हामीलाई थाहै छ मानव भावना अनि यौनमा सुगन्धको प्रभाव पर्छ । मानव पसिना, पिसाव, सास, थूक, स्तनबाट निस्कने दुध, छालाका ग्रन्थीबाट निस्कने तैलीय पदार्थ वा यौनरस सबैमा सुगन्ध सम्प्रेषण गर्ने यौगिकहरू (scent-communicating compound) हुन्छन् । यस्ता कतिपय गन्ध मानवले स्पष्ट रूपमा थाहा नपाउन सक्छ ।
यस्ता यौगिकहरू वा भनौं मानव फेरोमोन रसायनको स्रोत के हुन सक्छ ? विशेष गरेर हाम्रो छालामा भएका सेबेसियस ग्रन्थी (sebaceous gland) नबिलम तथा एपोक्राइन ग्रन्थीहरू किशोरावस्थामा सक्रिय हुन्छन् र यति बेला नै कुनै पनि व्यक्तिले आफ्नो यौनसाथीको खोजी सुरु गर्छ । यो कुराले पनि यसको यौनसंगको सम्बन्धलाई संकेत गर्छ । विशेष गरेर एपोक्राइन ग्रन्थीहरू बढी मात्रामा हात, गाला, टाउको, स्तनको मुन्टोको वरिपरि तथा हाम्रा शरीरका ती भाग जहाँ बढी रौं हुन्छन्, त्यसैको वरपर निकै सक्रिय हुन्छन् । सम्भवतः मानव फेरोमोनहरू (pheromones)को प्रमुख स्रोत यही ग्रन्थिबाट निस्किएको श्राव नै हुनुपर्छ । एक अध्ययनले यी गन्ध मानव रोग प्रतिरक्षा प्रणालीसँग गाँसिएको समेत देखिएको छ ।
व्यक्तिको शरीरबाट निस्कने गन्धबाट यौन उत्तेजना हुने स्थितिलाई चिकित्सा शास्त्रमा ब्रोमिड्रोफिलिया भनिन्छ । यसका साथै केही युवा युवतीहरू भित्री वस्त्र कामुकता अर्थात् भित्री बस्त्र उत्तेजना (underwear fetishism)बाट ग्रसित भएको पाइन्छ । अहिले महिलाको भित्री बस्त्रलाई एक हदसम्म यौनसँग जोडिनुलाई सामान्य नै मानिन्छ । यद्यपि यो नभै यौन उत्तेजनामै पुग्न नसकिने स्थिति हो भने त्यो असामान्य अवस्था हो । यसको अवश्य उपचार गराउनुपर्छ ।
रतिदर्शन – जीवन दर्शन :
रतिदर्शनमा यौनरस र गन्धबाट यौनसाथी चिन्ने दुर्लभ क्षमताबारे समेत यथेष्ट बताइएको छ । यौनसम्बन्धी सबै प्रकारका गुण, क्षमता र तत्वहरू मिलेको हुनाले बात्सयानको कामसुत्र पूर्णरुपले यौन दर्शन भएको कुरामा पुर्व र पश्चिम दुवैतिरका यौनविदहरूको विश्वास रहेको छ । संसारभर लेखिने साहित्य, गीतमध्ये करिव असी प्रतिशत भन्दा बढीमा प्रेम, यौन वा रतिको प्रतक्ष प्रभाव रहेको हुन्छ । ती सबै साहित्यमा कुनै न कुनै पात्रले रतिभोगको अपेक्षा राखेका हुन्छन् ।
प्रेमाकर्षण यौन कामनाबाट प्रेरित भएपनि ति सबै कामनाहरू पुरा हुँदैनन् । ती कामनाहरू पुरा हुनु वा नहुनुका कारणहरू कुनै न कुनै रुपमा ऋषि बात्सयानले बताएका ‘६४ कलाको अज्ञानता हुनु’भित्र पर्दछन् । त्यसैले महर्षिले बताएका ६४ कला यौनजीवनलाई क्षणिक रुपले आनन्दित बनाउने कुरामा मात्र सिमित छैनन्; सम्बन्धलाई दिर्घजिवी, जिम्मेवार र निपुण बनाउने कुरासँग समेत जोडिएका छन् । प्रेम कलामा निपुर्ण ब्याक्ति कहिल्यै असफल, मनोगामी र स्वार्थी हुनै सक्दैन । कपटरहित सरल सम्बन्धले नै प्रेमरत प्रभावलाई रति वा सम्भोगको सफलतासम्म पुऱ्याइ जीवनभर परम् आनन्द दिन्छ ।
सम्भोगबारेको बहसलाई गोप्य राख्नुका मुख्य कारणहरू :
अघि नै भनियो, सम्भोग जस्तो पवित्र प्रकृतिप्रदत्त कर्मलाई गोप्य राख्नु, कात्तयानद्वारा लिखित कामसूत्रलाई पढ्न बन्देज वा अस्विकार गर्नुका सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक कारणहरू छन् भनेर । विद्वानहरूको विचारमा पूर्वीय समाजमा यौनजीवनलाई छोप्नुको प्रमुख कारण प्राकृतिक यौनको निजीकरण र पैचासीकारण नै हो । कृषिको युगपछि मानिसले निजि सम्पतिलाई महत्व दिँदै महिलाहरूको यौन अधिकारलाई पनि ब्यक्तिगत बनायो । समाजमा महिलाहरूको बर्चस्वलाई क्रमिक रुपले समाप्त पारियो र आर्जित सम्पति संरक्षणको लागि सुद्ध बंशको कल्पना गरियो । त्यसले महिलाहरूको यौनसाथी रोज्ने र बदल्ने अधिकारलाई पनि समाप्त पार्दै लग्यो । तर त्यसलाई पुरुषहरूको हकमा लागु नहुने नियम बनाइयो । यिनै मानिसबाट थोपरिएका कृत्रिम नियमले महिलाहरूको यौन अधिकारमात्र पेलिएन, उसको स्वतन्त्रतापुर्वक बाँच्ने अधिकार पनि पेलियो । सतीप्रथा त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।
अर्को, पुरुषले सम्पत्ति थुपार्न क्रमशः अरुका परिवारहरू पनि अपहरण गरि दास-दासीको रुपमा कजाउन थाल्यो । मालिकले मनपरेका सबै महिलाहरूलाई भोग गर्न सक्थ्यो तर महिलाहरूले सक्दैनथे । हो त्यही पुरुषको यौन बर्चस्व र त्रासदी लुकाउनको लागि यौन, प्रेम वा सम्भोगलाई लुकाइएको हो । धार्मिक राज्यहरूको निर्माण भएपछि त्यो उपक्रम उपल्लो तहका मानिस, पुरेत र पाण्डाहरूले दोहोऱ्याउँदै गए र यौनको प्राकृतिक प्रवृतिलाई अन्धविश्वासको अँध्यारो पर्दाले ढाके । त्यसका थुप्रै उदाहरणहरू धर्मको लेपन लागेका पुराना साहित्यहरूमा प्रसस्तै भेटिन्छन् । त्यही कुरालाई पुस्तान्तरण गरिएपछि त्यसले सांस्कृतिक रुप लिएको हो ।
मध्येयुगपछिका सबै विकृत धर्म-संस्कृतिहरू शक्तिशाली भ्रम उत्पादन गर्ने थोत्रा कारखाना जस्तै बनाइए । यस कारखानालाई संचालन गर्ने कथित पण्डित, पुजारी, सन्त-महन्त, राजा, रजौटा र महात्मा, जसले यौन दर्शन पढ्नु हुँदैन भनेर लज्जाको विषय बनाए । उनीहरूसँग त्यसको तर्क गर्ने उपाय थिएन । कुतर्कको आधारमा उनीहरूले लुकिछिपी अँध्यारोमा यौनभोग गरे र शासन गरिरहे । अहिलेसम्म समाजमा शासन त्यही वर्गले गर्दै आएको छ ।
अन्त्यमा, वास्तवमा उमेर पुगेपछि हुने प्राकृतिक यौन वा सम्भोग पवित्रताको तलाउमा फुलेका कमलको फूल जस्तै हो; जसबारे आधुनिक युबा पुस्ता जानकार हुनु नितान्त आवश्यक छ । महर्षि बात्सयानद्वारा लिखित ‘कामसूत्र’ यौन दर्शनले मानव जीवनमा यौन जीवनका अवरोध वा दुःखका कारणहरू खोजेर ६४ कलाद्वारा यौन जीवनलाई पवित्र बनाइ सम्मानित गरेको छ । त्यसैले प्रजनन् तथा यौन आनन्द र यौन स्वास्थ्यबारे सबैले बुझ्न पाउनु उनीहरूको अधिकार हो । अतः सुरक्षित यौन र पाकशिक्षा समेतलाई यौन शिक्षामा समावेश गराइ स्कुल तथा विश्वविद्यालयमा अध्यापन गराउन आवश्यक छ ।
यो पनि हेर्नुहोस्-
सृष्टि निरन्तरताका लागि कमल फूल जस्तै पवित्र सम्भोग दर्शन : कामसूत्र « Nepali Digital Newspaper
सन्दर्भ सामाग्री –
पूर्वीय पौराणिक दर्शन : ‘कामसूत्र,रति रहस्य र सुगंधित उद्यान
आधुनिक : Comfort, Alex; Quilliam, Susan (2008). The Joy of Sex. Gillian, Max (2002). The Illustrated Guide to Extended Massive Orgasm. Hunter House. Hooper, Anne J. (2002). Sexopedia. Kemper, Alfred M. (1972). Love Couches Design Criteria, (2005). Position of the Day Playbook, Sex Every Day in Every Way. Keath Roberts (2006). Sex. Wayne Weiten ; Margaret A. Lloyd; Dana S. Dunn; Elizabeth Yost Hammer (2008). Psychology Applied to Modern Life: Adjustment in the 21st Century,”Sexual Intercourse”. Discovery.com. Sanders, E.; Thumiger, C.; Carey, C.; Lowe, N. (2013). Erôs in Ancient Greece,6 Positions For Sexual Intercourse – In Order Of Popularity – Sex, Love And Marriage – Book of Lists – Canongate Home;Nafzawi, Muhammad ibn Muhammad al; Colville, Jim (13 October 2013). The Perfumed Garden of Sensual Delight; The Perfumed Garden, Shaykh Nefwazi [sic], translated by Sir Richard Francis Burton,Castleman, Michael (17 October 2010). “Easier Orgasms for Women in the Missionary Position”. Masters, Johnson (June 1970). Human Sexual Inadequacy (1st ed.). Little Brown and Company;Hooper, Anne J. (1998). Anne Hooper’s Kama Sutra ; Alex Comfort, The Joy of Sex ;Eric Berne, Sex in Human Loving
कामतृष्ष्णालाई मनोविज्ञानले कस्तो प्रभाव पार्छ र मानिसको यौनको रुचिमा प्राकृतिक स्वभाव कस्तो देखिन्छ ? अनुसन्धानमुलक लेख हेर्न यो लिङ्कमा जानुहोला-
प्रतिक्रिया