यौन तृप्ति तथा मानव स्वास्थ्यबीचको अन्तरसम्बन्ध र अन्तरविरोधबारे !
(भाग ३)
पूर्वीय दर्शनमा प्रचलित चार्वाक परम्परा पनि आनन्द वा सुखवादी दर्शन परम्पराकै एक भाग हो । यसले मानिसका तात्कालिक धारणा, आवश्यकता र त्यसको परिपुर्तिलाई ब्यवहारवादी दृष्टिकोण प्रदान गर्दछ । यो कुनै मिथक वा पारलौकिक कल्पनाबाट प्रभावित छैन । त्यस्तै, रति विज्ञान आफैंमा एक पूर्ण दर्शन भएर पनि चार्वाक दर्शनको यसमा अनन्य प्रभाव रहेको छ । चार्वाक दर्शन मानव खुशी र सुखसँग सम्बन्धित भएकोले मिथकहरूबाट पूर्ण मुक्त छ । त्यसैले यी दुवै दर्शन भौतिक तथा मानसिक सुख, आनन्द र मानविय प्रेमसँग एकापसमा अन्तरघुलित छन् भन्न सकिन्छ । पूर्वीय दर्शनहरूलाई तिलस्मी मिथकहरूबाट अलग बनाएर बुझ्ने हो भने सबै दर्शनहरूको निष्कर्षमा मानव समुदायको मात्र नभएर प्रकृतिको हित सन्निहित भएर अगाडि आउने छ । यसर्थ सबै पूर्वीय दर्शनबाट तिलस्मी मिथकहरूको फोहर हटाउनु वा हटाएर बुझ्नु अनिवार्य छ ।
✍ डिल्ली अम्माई
उमेर ढल्कँदै गएपछि मानिसहरूको शरीरमा क्रमशः उमेरअनुकुल शारीरिक तथा मानसिक परिवर्तन आउनु प्राकृतिक कुरा हो । प्राकृतिक रुपले मानिसको शरीरमा आएका मिहीन परिवर्तनको सामान्य मानिसले हेक्का राख्न सक्दैन । परिवर्तनको असरले उसको ब्यवहारमा प्रभाव पार्न थालेपछि मात्र उसले रुचिमा आएका बदलावहरूको अनुभूत गर्दै जान्छ ।
ब्यवहारमा महसूस गर्ने गरिआएका परिवर्तनहरू जस्तै मानिसले उमेरअनुसार छोड्ने बानीहरूमा यौन-जीवनबाट टाढिँदै जानुलाई पनि एक मानिन्छ । एक अध्ययन अनुशार झण्डै ७८ प्रतिशत मानिसले आफ्नो यौन स्वास्थ्यका बारेमा परिवार, साथीभाइ र डाक्टर वा कसैसँग पनि परामर्श नै गर्दैनन् । उनीहरूले त्यसको दोष लाज, घिन र सामाजिक मिथकहरूलाई दिन्छन् । हुन पनि हो, हाम्रो पूर्वीय समाजमा यौनबारे एक खालको पाखण्डी सोच छ, जसले अकारण हजारौँ मानिसको ज्यान लिइरहेको छ । यौनरोग बारेको अनभिज्ञता, छाउपडी प्रथाको अनुकरण, प्रसुति स्वास्थ्यबारे बेवास्ता अथवा अन्धविश्वासले पनि हजारौँ आमा–शिशुहरूको ज्यान गइरहेको देखिन्छ । के यो सही तरिका हो ? के यौन समस्याबारे परामर्श लिनु-दिनु नराम्रो कुरा हो ? उमेर ढल्कँदै गएपछि प्रेम, यौन, आत्मियता र तातो सम्बन्ध समाप्त हुँदै जान्छ, के उमेर धेरै भएपछि यौन सम्बन्ध स्थगित नै गर्नुपर्ने हो ? यी प्रश्नहरूको एउटै जवाफ हो- ‘यो कदापि हुनै सक्दैन ।’
सम्बन्धको खराबी उमेरले गर्दा हैन वैचारिक सिथिलता, यौनशिक्षाको अभाव, यौन संकीर्णता, सही दृष्टिकोण तथा सूचनाको अभाव र शारीरिक रसायनको टकरावबाट शुरु हुन्छ । माथि नै भनियो पहिलो कुरा विचार हो भनेर । यौन जोडीको विचार मिल्दैन भने युवा अवस्थामा पनि एकापसको सम्बन्धमा यौन आकर्षण रहँदैन । रति आकर्षणको लागि प्रेम जीवित हुनुपर्छ । त्यस्तै, यसमा हार्मोनल उतारचढावले पनि महत्वपुर्ण भूमिका खेल्न सक्छ, जसलाई क्रमशः बहस गरिँदै छ ।
यौन सम्बन्धका आधारहरू के-के हुन सक्छन् ?
के म आफ्नो यौन-जीवनका खतरनाक कठिनाइहरूसँग सङ्घर्ष गरिरहेको छु, वा जीवनको गुणस्तरलाई कायम राख्न सकेको छु ? त्यसको लागि मानिसले आफ्नै मनभित्र गहिरोगरि झाँक्नु जरुरी छ । हो, जब हामी सामाजिक, धार्मिक र सांस्कृतिक मिथकहरूलाई तोडेर यौन स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्ने साहस गर्ने हो भने यौन ब्यवहारको परिवर्तन र उमेरको असरबारे आवश्यक उपचारमार्फत यौन शक्तिको पुनर्ताजगी गर्न सकिन्छ ।
स्वस्थ यौन-जीवन केवल त्याग, प्रेम र स्वास्थ्य सजगताको विषय मात्र नभएर मानसिक अवस्थाको कुरा पनि हो । हामीले सामाजिक मिथकहरूलाई चिर्न सक्ने आत्मबल छ कि छैन ? उपचारको पहिलो सर्त आत्मबल हो । धार्मिक अन्धविश्वास र पाखण्डलाई फालेर स्वास्थ्यलाई हेर्ने वैज्ञानिक धारणाको आफैंभित्र विकास गर्न सक्यौँ भने यौन-जीवन शुन्दर हुन्छ । उमेर जतिसुकै किन नहोस्, त्यसले यौन भावनामा धेरै ठुलो परिवर्तन ल्याउन सक्दैन । सम्बन्ध सुमधुर हुँदाहुँदै पनि यौन-जीवनमा बिखरावको अवस्था आयो भने त्यसलाई हामीले स्वास्थ्य-चुनौतीको रूपमा बुझ्नुपर्छ र उपचारमा लाग्नु पर्छ । यौन स्वास्थ्यको गिरावटलाई चाह्यौँ भने हामी आफैंले रोक्न सक्छौँ । महर्षि बात्सायनले भनेका छन्, त्यसको लागि सही मार्गदर्शन, आत्मा जागरुकता, विधि र सचेत सक्रियताको आवश्यकता हुन्छ । यी चार कुराहरूको वरिपरि नै वास्तवमा यौन उपचारको रहस्य लुकेको छ ।
हुन त यौन व्यवहारबाट अलग हुनु भनेको जीवनबाटै अलग हुनु पटक्कै हैन । तर यौन-जीवनबाट अलग हुँदा मानिसको जीवन लय अस्थिर र विश्रृङ्खलित हुन जान्छ । प्रेमको कमीले साथी संगत सम्बन्ध र सामुहिक सुरक्षाभावको महसूस हुन थाल्छ अनि एक्लोपनको आभाषले भित्रभित्रै खाँदै जान्छ । प्रेमसृजित यौन गतिविधि बन्द गर्दा उसमा शारीरिक तथा मानसिकरूपले तात्कालिक र दीर्घकालिक प्रभाव पर्नुको कारणले हार्मोनल इफेक्ट पर्न थाल्छ ।
महर्षि वात्सयानले मात्र हैन, आधुनिक यौन चिकित्सकहरूले पनि यौन व्यवहारको असर शरीरमा मात्रै नभएर मनमा पनि पर्न जान्छ भनेका छन् । जस्तो कि यौन गतिविधि एक्कासी बन्द गर्दा हार्मोनल सिष्टममा परिवर्तन शुरु भइ नै हाल्छ । शरीरमा हुने टेस्टोस्टेरोन हार्मोनको स्तरमा क्रमशः कमी आउन थाल्दछ । टेस्टोस्टेरोन हार्मोन केवल यौनइच्छासँग मात्र सम्बन्धित हुँदैन, यसबाट मांशपेशी, हाडको शक्ति, मांसपेशीको शक्ति र आत्मविश्वास जस्तो मानसिक उर्जा पनि प्राप्त हुन्छ । यसको कमीले सर्वप्रथम शरीरका तिनै अंगहरूलाई कमजोर बनाउन थाल्दछ र क्रमशः त्यसले एक दीर्घरोगको रुप धारण गर्दछ ।
ब्रिटिश मेडिकल जर्नलमा सन् २०१५ मा प्रकाशित एक रिपोर्टअनुशार, हप्तामा दुई पटक यौन सम्पर्क गर्ने पुरुष वा महिलाको ब्लडप्रेसर, सुगर, युरिक एसिड र मोटोपनको समस्या, यौन कर्म नगर्नेको भन्दा कम भएको जनाइएको छ । जुन जोडीले नियमित यौन सम्पर्क गर्थे, यौन नगर्नेको तुलनामा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य स्थिर देखियो । त्यो अध्ययनअनुशार, यौन सक्रियताले रक्तसंचारमा समेत प्रत्येक्ष सकारात्मक प्रभाव पारेको देखायो । यौन समस्याले मेटोपोलिजममा गिरावट, अधिक थकान, प्रतिरोधात्मक क्षमतामा ह्रास, मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको देखियो । यौन-जीवनबाट टाढा भएका मान्छेहरूमा पिसाबमा समस्या, हार्मोनको स्तर सामान्य भन्दा ४० प्रतिशत कमी भएको देखियो । यौन स्वास्थ्य विज्ञहरूका अनुशार, यो अवस्थाबाट मानिसको स्वास्थ्यलाई पुनःस्थापना गर्न सकिन्छ । तर त्यसको लागि मनोरोगी स्वयमको आत्मिक जागरुकता चाहिन्छ ।
मानिसको यौन स्वास्थ्यको त्यति नै जरुरी हुन्छ जति मुटु, हड्डी, मानसिक स्वास्थ्यको जरुरी हुन्छ । यौन–जीवनबाट टाढिँदा आउने निराशा, थकान, आलस्य र विरक्तिलाई मानिसले सामान्य रुपमा लिने भुल गर्नु हुँदैन । यसको अर्को असर आत्मविश्वासमा गिरावट पनि हो । यसले हार्मोनल इफेक्टलाई असन्तुलित बनाएर लैजान्छ । टेस्टोस्टेरोनको कमीबाट मस्तिष्कमा डोपामेन्ट र अक्सिटोसिन रसायन पनि कमी हुन थाल्दछ । यी रसायनको कमीले मानिस सदैव दुःखी र एक्लो देखिन्छ ।
अघि नै भनियो, हामीले सर्वप्रथम धार्मिक मिथक र सामाजिक अन्धविश्वासहरूलाई तोड्नु अनिवार्य हुन्छ । शारीरिक रोगहरू भन्दा खतरनाक यस्तै अन्धविश्वास र धार्मिक जडताहरू हुन्, जसले यौन-जीवन र यौन स्वास्थ्यलाई लाज र गोप्यताको पर्दाले ढाकेर बुझ्नै दिँदैनन् ।
यौन रोग :
यौन रोग भनेको शारीरिक रोगकै एक भाग हो । हामीले यौन स्वास्थ्यमा ध्यान दिएनौं भने यौन अंगहरूमा प्रतक्ष रुपले देखिने र नदेखिने रोगहरूको संक्रमण हुन सक्छ । ब्याक्टेरिया, भाइरस र परजीवीहरूले यीमध्ये केही संक्रमणहरू निम्त्याउँछन् । यस्ता संक्रमणहरू वीर्य, योनीको तरल पदार्थ, रगत वा शरीरबाट निस्कने अन्य तरल पदार्थहरू मार्फत एकअर्कोमा फैलिन्छन् । यौनसंचारित रोगहरूलाई सामान्यतया यौनसंचारित संक्रमण भनिन्छ । क्यान्डीडा वा ‘यिस्ट’ सङ्क्रमण, ब्याक्टेरियल भाएजिनोसिस्, गोनोकोकल भाएजिनिटिस, नन् इन्फेक्टिअस भाएजिनीटिस्, ट्राइकोमोनिआसिस, गोनोरिया, मानव पापिलोमा भाइरस, एचआईभी, सिफलिस र क्लामिडिया जस्ता संक्रमित रोगको बेलैमा उपचार नहुँदा मानिसहरू गम्भीर बिरामी परेका देखिन्छन् । त्यसको प्रमुख कारण यौन सजगताको कमी र लाज हो । लाजको कारण हामीले यी रोगहरूको उपचार गर्न हिच्किचाउँछौँ । अतः सामाजिक तथा धार्मिक मिथकलाई हामीले बेलैमा चिरेर यौन रोगको उपचारमा लाग्नु पर्दछ । बेला–बेलामा यौनांगको जाँच गराउनु पर्छ ।
पूर्वतिर धार्मिक मिथक र अन्धविश्वासको कारण यौन रोगले धेरै मानिसको ज्यान लिएको देखिन्छ । हामीले योनी र पुरुष जनेन्द्रीय (लिङ्ग)मा देखिने प्रभाव वा परिवर्तनलाई विशेष ख्याल गर्नुपर्छ । जस्तो योनी वा लिङ्गको माथिल्लो भाग वा भित्र देखिने दाग र पिपले भरिएको घाउहरू छन् भने तुरुन्त चिकित्सकलाई देखाइहाल्नु पर्छ । त्यस्तै पिसाब फेर्न कठिनाई वा सूजन, लिङ्ग वा योनी चिलाइरहनु, यौनसम्पर्कको समयमा दुखाइ वा असुविधा हुनु, योनीमा रगत बग्नु वा लिंगको टुप्पो पोल्नु वा भबाउनु, यौनाङ्ग सुन्निनु, ज्वरो आउनु, लामो समयसम्म समस्या देखिएमा त्यो संक्रमण हो भनेर बुझी बिना हिच्किचाहट यौन स्वास्थ्यविदसँग परामर्श गरिहाल्नु पर्छ । यौन प्रसारित संक्रमणहरूको समयमै उपचार गरिएन भने निम्नलिखित समस्याहरू हुन सक्छन् :
पुरुष तथा महिला या दुवैमा बाँझोपन हुनु,
बच्चाहरू समयभन्दा पहिले जन्मनु, धेरै सानो जन्मनु अथवा अन्धो जन्मनु,
डिम्बवाहिनी नलीमा (पाठेघर बाहिर) गर्भ रहनु,
कडा रोगको संक्रमण अथवा एड्स भएर मृत्यु हुनु,
तल्लो पेट दुखिरहनु,
पाठेघरको मुखमा क्यान्सर हुनु, आदि ।
मिथक र देवताका कुरा :
हिन्दु देवताहरू अहिलेसम्म लेखिएका पौराणिक साहित्यका सबैभन्दा ब्यभिचारी, विश्वासघाती र यौन पिपासु थिए भन्ने कुराका प्रमाणहरू हाम्रै प्राग साहित्यहरू हुन् । अहिलेका सामाजिक मिथकहरूलाई मापदण्ड मानेर हेर्ने हो भने देवता जति निच र चरित्रहीन पात्र खोज्न संसारको अन्य कुनै साहित्यमा भौंतारिनु पर्दैन । उदाहरणको लागि इन्द्र र अहिल्या यौन प्रकरण, ब्रह्मा सरस्वती यौन प्रकरण, कृष्ण राधा वा अन्य गोपिनी रासलीला, देव गुरु बृहस्पतिपत्नी तारा चन्द्रमा यौन प्रकरण, रावणपत्नी मन्दोदरी विभिषण प्रकरण, सुग्रिव तथा तारा यौन प्रकरण, जालन्धर पत्नी वृन्दा र बिष्णु यौन काण्ड, प्रजापतिको छोरी उषासँगको यौनलीला, ऋषि भृगुले सती र शिवको यौनलिप्तताको लागि दिएको लिङ्ग र योनीस्वरुपमा रहने श्रापलगायत धेरै घिनलाग्दा प्रसङ्गहरू पुराणहरूमा पाइन्छन् । अहिलेका समाजमा प्रचलित मान्यताको आधारमा भन्नुपर्दा हाम्रा देवता वा भगवानहरू प्रायः सबै ब्यभिचारी, यौनाचारी, मर्यादाहीन र कपटी थिए । उनीहरूले यौन पिपासा मेटाउनको लागि गर्नु/नगर्नु सबै गरे । तर बिना जिज्ञासा हामीले तिनै देवताहरूलाई युगौँदेखि पुज्दै आएका छौँ ।
शिवमार्गीहरूले पुज्ने शिव पार्वती लिङ्गपुजनको चलन कसरी चल्यो भन्नेबारेमा पुराणमा भृगु ऋषिको श्रापलाई कारण मान्ने गरिन्छ । तर त्यसलाई रुपक, अलंकारको रुपमा राखिएको भनेर तर्क गरिएको छ । यदि त्यसो हो भने ती सबै शास्त्रलाई प्रमाणको रुपमा कसरी विश्वास गर्ने ? यदि ती सबै लेख्नेहरूको मनका कल्पना हुन् भने त्यो बेलाको जीवन चरित्रलाई कुन अर्थमा बुझ्ने ? पौराणिक ग्रन्थमा यस्ता दुविधायुक्त प्रसङ्गबारे मन्थन गर्न पाउने कि नपाउने ? मेरो विचारमा पाउनुपर्छ ।
आखिर भृगु ऋषिको श्रापले गर्दा यौन अलंकारलाई पुज्ने चलन चलेको हो भने अन्य अलंकारहरूलाई कसरी बुझ्ने प्रश्न गम्भीर छ ? अहिले सती र शिवको लिङ्ग पुजा नै शिव मन्दिरको महत्वपूर्ण पुजा मानिन्छ । त्यसमा दुवै लिङ्गबाट निस्केको विर्य र योनीरसको अलंकारिक पदार्थ दुध बगाएर लिङ्गको शिर र जलाहरी पखालिँदै छ । त्यो सेतो पदार्थको प्रवाह केको रुपक र अलंकार होला ? कसैले पण्डितसँग प्रश्न गर्ने हिम्मत गरेका छौँ ?
मलाई लाग्छ, त्यो प्रश्न सोध्ने हिम्मत महर्षि बात्सायनलाई थियो । त्यसैले कामसुत्रको बहुआयामिक रति दर्शनको सृजना गरे । यस्तो युगान्तक दर्शनलाई हाम्रा पिठ अधिकारी र दर्शनवेत्ताहरूले दर्शनको मान्यता दिन डराइरहेका छन् ।
स्त्री-पुरुषका मुतेंद्रियहरूको संयुक्त पुजा गर्ने चलन अनादि कालदेखि चल्दै आएको प्रमाण हाम्रा शिव सतीका मन्दिरहरू हुन् । मेरो विचारमा शिव मन्दिरमा हुने लिङ्गपुजा सृष्टि चक्र र यौनको सम्मान हो । जुन सृष्टि सम्मानको चलन कालान्तरमा रुप बदलेर धर्ममा जोडियो ।
दुर्वासा ऋषिले कुन्तीलाई दिएको देवहुती मन्त्र परपुरुष बोलाएर रतिक्रिया गर्ने कार्य युगौंअगाडिको तान्त्रिक चलन हो, जसलाई सम्मानपुर्वक ‘नियोग कर्म’ भनिन्थ्यो । त्यो बेला पनि धर्माधिकारीको विवेकबाट निःसृत तात्कालिक आवश्यकताअनुशार यौननियम बनाइन्थ्यो र बदलिन्थ्यो । आफुभन्दा जान्नेको अनुमति लिएर गरिने कार्यलाई शास्त्रसम्मत कार्य मानिन्थ्यो ।
अर्को उदाहरण दिनुपर्दा, दुर्वासा ऋषिले कुन्तीलाई दिएको देवहुती मन्त्र परपुरुष बोलाएर रतिक्रिया गर्ने कार्य युगौंअगाडिको तान्त्रिक चलन हो, जसलाई सम्मानपुर्वक ‘नियोग कर्म’ भनिन्थ्यो । त्यो बेला पनि धर्माधिकारिको विवेकबाट निःसृत तात्कालिक आवश्यकताअनुशार यौननियम बनाइन्थ्यो र बदलिन्थ्यो । आफुभन्दा जान्नेको अनुमति लिएर गरिने कार्यलाई शास्त्रसम्मत कार्य मानिन्थ्यो । त्यो कालमा नियोग कर्मले सामाजिक अनुमोदन प्राप्त गरेको थियो । बस्, पुरानो साहित्यबाट रतिदान वा ऋतुदानबारे यति कुरा सजिलै बुझ्न सकिन्छ ।
पश्चिममा क्युपीड र युनानी देशहरूमा इरोस नामक देवतालाई प्रेमको प्रतीक मानिन्छ । पुर्वमा रति र कामदेवलाई यौनदेवता मान्ने चलन यथावत छ । उनीहरू पत्नी-पति थिए । रति दक्षकी छोरी थिइन् । उनी निकै सुन्दर थिइन् जसलाई पछि कामदेवले प्रेमिका बनाइ खुला स्थानमा भोग गर्न थाले । अझै पनि कामदेवलाई प्रेमका देवता र रतिलाई कामुकताकी देवीको रुपमा सुहागरातको बेला यौनकक्षमा राखी धुपबत्ति बालेर सम्झना गरिन्छ । स्त्री-पुरुषको बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उनहरूको विशेष पूजा वसन्त पञ्चमीका दिन गर्ने गरिन्छ । यदि हिन्दू परम्परालाई मान्ने हो भने प्रेमदिवस वसन्त पञ्चमीका दिन मनाउनुपर्ने हो ।
त्यस्तै, पुराणको प्रसङ्गअनुशार, आफ्नो पुत्र दक्षलाई ब्रह्माले मान्छे जन्माउने काम गर्न अह्राए । तर, उनले त्यो काम गर्न नसकेपछि कामदेवलाई सोही काम सुम्पिए । कामदेव पनि ब्रह्माको आज्ञाको कुनै प्रतिक्रिया नै नदिइ त्यहाँबाट हिँड्न लागे । कामदेव बिनाउत्तर बाहिर निस्कन खोजेपछि ब्रह्मा क्रोधित बनेर कामदेवलाई ‘नाश हुने’ श्राप दिए ।
ब्रह्माको श्राप सुनेर कामदेव डराए र ब्रह्मासँग क्षमा मागे । उनको विनम्रता देखेर ब्रह्मा खुसी भइ कामदेवलाई बस्नका लागि १२ वटा ठाउँ दिएछन् । त्यसै मिथकमा कामदेवले प्राप्त गरेको समय र ठाउँहरू क्रमशः स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना हुन् । त्यसलाई संस्कृत साहित्यमा यसरी भनिएको छ :
‘यौवनम् स्त्री च पुष्पाणि सुवासानि महामतेः ।
गानम् मधुरश्चैव मृदुलाण्डजशब्दकः ।।
उद्यानानि वसन्तश्च सुवासाश्चन्दनादय :।
सङ्गो विषयसक्तानाम् नराणाम् गुह्यदर्शनम् ।।
वायुर्मदः सुवासश्र्च वस्त्राण्यपि नवानि वै ।
भूषणादिकमेवम् ते देहा नाना कृता मया ।।’
मानकहरू :
कामसुत्र शास्त्रमा संग्रहित अर्थ- परादारिक नामक पाँचौं न्यायाधीकरणका मुद्दाहरूलाई यौनकार्यका मानक मानिन्छ । यी मुद्धाहरूलाई ६ अध्याय र १० खण्डहरूमा विभाजन गरिएको छ, जसलाई निम्न दश बुँदाहरूले समेट्न सक्छ :
१. पुरुष र महिलाको विनम्रताको व्यवस्थापन ।
२. अन्य पुरुषहरूसँग सम्बन्ध राख्न बाधा पुऱ्याउने कारणहरू ।
३. महिलाहरूलाई यौनिक नियन्त्रण गर्न सक्ने कुशल पुरुषहरू ।
४. आफैं नियन्त्रणमा आउने महिलाहरू ।
५. परिचय गराउने नियमहरू ।
६. आरोप वा अभियोग पक्ष ।
७. भावनाहरूको परीक्षण ।
८. यौन जोडीको कर्तव्यहरू ।
९. पुरुषहरूको इच्छा पूरा गर्ने खुबी ।
१०. व्यभिचारी पुरुषबाट युवतीहरूको रक्षा ।
कामसुत्रमा बताइएअनुशार, यदि नौजवानहरूबीच आकर्षणको कुनै बिउ छ भने, त्यो केवल रतिभोगको चाहना हो । दार्शनिक दृष्टिकोणबाट, प्रेमको मुख्य उद्देश्य संसर्गचाहनालाई मानिन्छ । प्रेमसँग सम्बन्धित सबै व्यवहारहरू यौन–प्रेममा निहित हुन्छन् र यसबाट अलग गर्न सकिँदैन । दर्शनमा बताएका प्रेमहरूमा क्रमशः संकल्प प्रेम, आत्मप्रेम, पितृ–मातृप्रेम, बाल स्नेह, मित्रता, संसारप्रेम, कामुक प्रेम र भावनाहरू पर्दछन् ।
कामसुत्रमा मानव संसारको हरेक इच्छालाई मुख्यतया वितिश्न, दारिश्न र लोकैष्ण गरेर तीन भागमा विभाजन गरिएको छ । नजिकबाट हेर्ने हो भने, सबै इच्छाहरू ‘दारिश्न’मा मात्र समावेश हुन्छन् । कामसुत्रानुसार, यौन आकर्षण पुरुष तथा महिलाको इच्छाको अन्तिम सार हो र त्यही यौन आकर्षण प्रेमको माध्यमबाट लैंगिक मिलनमा परिणत हुन्छ ।
धन, महिला र प्रसिद्धि केवल आत्मिक आनन्दको लागि चाहिने कुरा हो । आनन्द सबै प्रकारका इच्छाहरूको मूल हो र कामसुत्रमा यसलाई प्रमुख प्रेरक शक्ति मानिन्छ । यसको भौतिक अनुभव यौन सम्पर्कमार्फत प्राप्त गर्न सकिन्छ । सांसारिक जीवनमा, यौन सम्पर्क परम आनन्द हो; त्यसैले सबै प्रकारका सुखहरूलाई यौन आनन्दमा रूपान्तरण गर्ने विचारमाथि कुनै आपत्ति हुनु हुँदैन । यो जीव-जीवात्माको विशेषाधिकारप्राप्त प्राकृतिक धर्म हो ।
कामसुत्रको श्लोक (२१) मा यौन क्षमता बढाउने विभिन्न उपायहरू समेत बताएको छ । यसमा यौन रोगको उपचारविधि समेत भएकोले पूर्ण दर्शन हो । यसमा शुभाङ्गकरणम्, वशिकरणम्, वृष्यश्च योगः, नष्ट्रग्रात्यनायनम्, वृद्धि विधिः, चित्रश्च योगः, इत्यउपनिषदिकम् सप्तमाधिकरणम् भनेर उपचार विधिको सिद्धान्तलाई सुत्रबद्ध गरिएको छ । जसको नेपालीमा निम्नानुसार अर्थ लगाउन सकिन्छ –
■ गुणहरू, रूप आदि बढाउने ।
■ यन्त्र, तन्त्र र मन्त्र मार्फत यौन शक्ति नियन्त्रण गर्ने ।
■ बाजीकरण (यौन शक्ति बढाउने) प्रयोग ।
■ नाशकाग (विलुप्त उत्तेजना) को पुनर्जन्म ।
■ लिंग बढाउने प्रयोगहरू ।
■ अनौठो युनिक चित्रकलाको प्रयोग ।
यी सबैलाई महर्षि बात्सायनले प्रभावकारी रुपले व्याख्या गरेका छन् । उनका अनुसार यौन स्विच्छिक हुनुपर्छ । दबाबपुर्वक गरेको यौनकार्यलाई कामसुत्रले अनुमति दिंदैन ।
यौन निच पाप कर्म हो ?
यौन कर्म सृष्टिको पवित्र कर्म हो भन्ने कुरा त शिब र सतिको यौनांगको पुजनबाट प्रष्ट हुन्छ । त्यसैले यसलाई जीवहरूको प्राकृतिक अधिकार भनिएको छ । माथि नै भनिसकियो, यौनको प्रभाव मानिसको स्वास्थ्यसँग पनि प्रत्यक्षरुपले जोडिएको हुन्छ । यौनकर्मबाट क्रमशः टाढा हुँदै गएका मानिसहरूमा चिड्चिडाहट भइरहने, निद्रा हराएर जाने, थकान र एक्लोपनको महशुस हुने समस्या हुन्छ । स्पर्शप्रेम, आकर्षण, स्नेह र आत्मियता वास्तवमा नियमित यौन संसर्गबाट प्राप्त हुने हार्मोनल उपलब्धिहरू हुन् भनेर आधुनिक चिकित्सा शास्त्रले प्रमाणित गरिसकेको छ । यौन बासनालाई बेवास्ता गर्नाले क्रमशः नाता–सम्बन्धमा पनि नकारात्मक प्रभाव पर्न थाल्दछ । मानिसहरूबीच सम्वाद कम हुनु, निर्धक्क खुलेर कुरा गर्न नसक्नु, प्रेम, मिठास र रसरंगमा मन भरिनु लगायतका मानसिक समस्या यौन वा सम्भोगसंग प्रत्येक्ष जोडिएका विषय हुन् ।
समस्या र उपचार :
सामाजिक मिथकहरूबाट उन्मुक्ति प्राप्त नगरी हामीले आफूभित्रका यौनसृजित समस्याबाट मुक्त हुन सम्भव छैन । साथी वा डाक्टरसंग यौन समस्याको बारेमा खुलेर गफ गर्न हच्किनेमा पुरुषभन्दा महिला अझ बढी हुन्छन् । यो समस्या अश्लीलतासंग जोडिएको नभएर स्वास्थ्यसंग सम्बन्धित समस्या हो भन्ने नबुझ्दासम्म यस्ता अवरोधहरू रहिरहन्छन् ।
भारतको एक अध्ययन अनुसार, ७८ वर्ष भन्दा माथिका वृद्ध-वृद्धाहरूले यौन स्वास्थ्यको बारेमा परामर्श नै नलिने गरेको देखियो । उनीहरू यौन समस्याबाट पीडित भएर पनि लाज र मजाकको विषय भइने वा बनाइने डरले आफ्नो कुरा परिवारसंग वा डाक्टरसंग राख्न नसकेको देखियो । के यो सही अवस्था हो ? कदापि हैन । यसबाट मुक्त हुन यौन संक्रमण, यौन उपचार र यौन स्वास्थ्यकोबारेमा सामाजिक जागरण आवश्यक छ; जसले यौनरोगबाट पीडितहरूलाई खुलेर बोल्नसक्ने आत्मविश्वास पैदा गरोस् ।
प्रजनन स्वास्थ्यले मानसिक तथा सारीरिक स्वास्थ्यमा पार्ने विभिन्न प्रभावहरूको बारेमा धेरै कोणहरूबाट बहस गरियो । यौन दर्शनलाई विभिन्न भागहरूमा विभाजन गरेर अध्ययन गर्दा यौन–जीवनबारे धेरै कोणबाट बुझ्न सकिने भयो । जीवनमा यौनको महत्व र जीवन शैलीमा यौनले पार्ने प्रभावको बारेमा पनि धेरै बहस गरियो । यसले समाजलाई मिथकहरूबाट उभारेर बाहिर निकाल्ने विश्वास गर्न सकिन्छ ।
अब हामीले बुढो हुँदै जाँदा कसरी यौन-स्वास्थ्यलाई तन्दुरुस्त राख्ने ? कसरी यौनरुचिलाई उमेर बढ्दै जाँदा पनि सन्तुलित राख्न सकिन्छ ? यी उपायहरूमा यौन-स्वास्थ्यकर्मीहरूका सल्लाहहरू समेत जोडेर विमर्श गरौँ :
१. शरीरभित्र बेला बेलामा हार्मोन सन्तुलनको जाँच गराइरहनु पर्छ । चिकित्सकहरू भन्दछन् कि टेष्टटोस्टेरोन, प्रोल्याक्टिन र पीएसए लगायतका हार्मोनहरूको जाँचले शरीरभित्र के भैरहेको छ र कहाँ सुधारको जरुरी छ भन्ने कुरा थाहा हुन्छ । यदि आवश्यकता भन्दा अधिक कम हार्मोन स्तर रहेछ भने बिमारीलाई हार्मोनल थेरापीसहित खानपानमा परिवर्तन ल्याएर उपचार गर्न सकिन्छ ।
२. जीवनशैलीमा सुधारबाट पनि मानिसको यौन स्वास्थ्यमा सुधार गर्न सम्भव छ । मानसिक दबाबबाट यौन स्वास्थ्यमा सुधार ल्याउन सम्भव नै हुँदैन । ब्यायाम, खानपान (स्वास्थ्य तेलको प्रयोग, भिटामिन डीको उपभोग, ओखर, जैतुनको तेल) र यौनिक थेरापीबाट पनि टेस्टोस्टेरोन हार्मोनमा सन्तुलन आउँछ ।
३, पर्याप्त निद र तनाव नियन्त्रणको लागि शारीरिक श्रम, ध्यान र ब्यायाम आवश्यक हुन्छ । तनाव नियन्त्रण गर्न सक्ने मान्छे प्रशस्त निदाउँछ । उ हमेसा निश्चिन्त हुन्छ र यौनिक रुपमा ८०–९० वर्षको उमेरसम्म पनि उत्तिकै सक्रिय देखिन्छ ।
४. मन र मस्तिष्क खोलेर गरिने कुराकानी चाहे त्यो स्वास्थ्य समस्यासँग सम्बन्धित होस्, चाहे त्यो मनभित्रका पीडाहरूसँग सम्बन्धित होस् या चिन्तनसँग सम्बन्धित होस्, त्यसले आफ्नो हृदयको सम्वेदनालाई साझा गर्छ । समस्याहरूको समाधानमा विभिन्न विकल्पहरू राखिदिन्छ । मनको पोका फुकाएपछि नै एक मनोविदले कसैको मन पढ्न सक्छ । त्यसले समाधान दिन सक्छ ।
५. यौन जागरणले स्वास्थ्य सजगताको लागि, यौन संक्रमणबाट सुरक्षाका लागि र खुशी जीवन सम्बन्धका लागि विशेष भूमिका खेलेको हुन्छ । यौन विषय वास्तवमा लाजघिनको विषय नभएर सृष्टिलयलाई निरन्तरता दिने पवित्र प्राकृतिक प्रक्रिया हो । यो मानिसले आफैं सृजना गर्ने विषय नभएर प्रकृतिप्रदत्त उपहार हो । यो जानकारी दिन र प्राप्त गर्न योग्य विषय हो । त्यसैले यो विषयमा खुलेर बहस गर्न सक्नु आधुनिक मानवको विशेषता हुनुपर्छ ।
वास्तवमा, यौन मानसिक सक्रियताबाट बिम्बित भावनात्मक सम्बन्धको गहिराइमा पुगेर प्रकट हुने प्राकृतिक सह–भोग हो । यसभित्रका समस्याहरू अधिकतर भावनात्मक सम्वेदना र सम्बन्धसँग सम्बन्धित हुने भएकोले त्यस्ता प्रिय सम्बन्धहरूलाई प्रेमको गहिराईमा पुगेरमात्र महसूस गर्न सकिन्छ । त्यसभित्रका असजिलाहरूलाई पनि मानसिक तहकै उपचारबाट बढी उत्प्रेरित गर्न सकिने हुन्छ ।
सम्बन्धको न्यानोपनबाट मानिसमा यौन ताजगी प्राप्त हुन्छ । सुमधुर यौन सम्बन्ध कुनै एक पक्षको चाहनाले प्राप्त हुनै सक्दैन । एकपक्षीय यौन अप्राकृतिक यौन अतिक्रमण हो जसले उत्पीडित पक्षलाई मानसिक आघात दिन्छ । तर आपसी सुमधुर सम्बन्धको तरंगले मानिसको आयुलाई सकारात्मक प्रभाव पार्दछ । वास्तवमा यौन-जीवनको बारेमा ऋषि बात्सयानको काम सुत्रले त्यही सुमधुर यौन-जीवनको लागि मानिसलाई धेरै खोजमुलक सामग्रीहरू दिएको छ । यसले रति आनन्दको लागि भरपुर ज्ञान मात्र दिएको छैन, खराब नियत र बलात्कार जस्ता अपराधिक चरित्रलाई समाजबाट निमिट्यान्न पार्ने सुझावहरू पनि दिएको छ । यो एक दार्शनिक खोज भएकोले श्रृङ्गारिक साहित्यमा कात्तयानद्वारा लिखित कामसूत्र दर्शनको प्रवल प्रभाव रहेको छ ।
त्यस्तै, उमेरको हदले साठीको दशक पार गरेपछि हाम्रा शरीरमा उत्पन्न हुने यौन यौगिक तत्व वा रसायनको सन्तुलनमा विभिन्न उतारचढावहरू आउने गर्दछन् । सुख, आनन्द र खुशीलाई निरन्तरता दिने यौगिकहरू जस्तै डोपामाइन, अक्सिटोसिन, इण्डोफिनहरूको सन्तुलन बनाइराख्न पनि सबैले यौन विज्ञानलाई बुझेर व्यवहारमा उतार्नु आवश्यक छ । मिठो निद्रा, आनन्द र तनाव कम हुनुले मुटुलाई स्वस्थ रहन सहयोग गरेजस्तै स्वस्थ यौनचर्याले यी सबै शारीरिक प्रक्रियालाई सकारात्मक प्रभाव पार्दछ ।
लोकायत (चार्वाक) र रति दर्शनको सम्बन्ध :
लोकायत (चार्वाक) र रति दर्शनको एउटै निष्कर्ष मानव-स्वास्थ्य, खुशी र प्रेमानन्दलाई मानिन्छ । दार्शनिक अवधारणाको शुरुवात हुनुपूर्व पनि यी दुवै कुरा अर्थात् प्रेम समर्पण र सुख-सुबिस्ताको खोजीमा मानिसले संघर्ष गरिरह्यो । सुखको खोजीमा मानव संसारभर भौंतारिइरह्यो । त्यही खोजीले आजको आधुनिक विकासलाई सम्भव बनायो । दर्शन र साहित्यका प्रेरक तत्वहरूमा प्रेम, सम्भोग र सम्बन्ध सौन्दर्यको लागि गरेको त्याग पहिलो श्रेणीमा पर्दछन् भने जिजीविषाको संघर्ष त्यसैसँग जोडिएर आउँछ ।
निष्कर्षमा भन्नुपर्दा, महर्षि बात्सायनको रति-विज्ञान केवल ‘काम सुत्र’ मात्र नभएर मानवले बाँच्न चाहने कलासंग सम्बन्धित शारीरिक तथा मानसिक आनन्दको समग्र दर्शनको महत्वपुर्ण हिस्सा हो । यो आंशिक रुपले मानसिक सुखको र सम्वेदनात्मक प्रेमको दर्शन पनि हो । प्रेमले नै मानिसलाई सामाजिक प्राणीको रुपमा युगौँसम्म अस्तित्वमा रहनको लागि सुरक्षाकवचको काम गऱ्यो । भाषाको उत्पत्तिमा महत्वपुर्ण भूमिका खेल्यो । खोज र दर्शनको लागि उत्प्रेरकको भूमिका खेल्यो । यसले युगौँयुगसम्म चाहेर/नचाहेर मानव-जीवनलाई आधिकतम प्रभाव पारिरहेछ/पारिरहन्छ । त्यस्तै पूर्वीय दर्शनमा प्रचलित चार्वाक परम्परा पनि सुखवादी दर्शन परम्पराकै एक भाग हो । यसले मानिसका तात्कालिक धारणा, आवश्यकता र त्यसको परिपुर्तिलाई व्यवहारवादी दृष्टिकोण प्रदान गर्दछ । तत्कालका आवश्यकतामा ध्यान दिन सिकाउँछ र भविष्यको सुन्दर भौतिक संसारको महत्वलाई प्राथमिकतामा राख्छ । यो कुनै मिथक वा पारलौकिक कल्पनाबाट प्रभावित छैन ।
रति–विज्ञान आफैमा एक पूर्ण दर्शन भएर पनि चार्वाक दर्शनको यसमा अनन्य प्रभाव रहेको छ । चार्वाक दर्शन पनि मानवखुशी र सुखसँग सम्बन्धित भएकोले केही बिम्बात्मक प्रसङ्गका बाबजुद सांस्कृतिक मिथकहरूबाट पूर्ण मुक्त छ । यी दुवै दर्शन भौतिक तथा मानसिक सुख, आनन्द र मानविय प्रेमसँग एकापसमा अन्तरघुलित छन् भन्न सकिन्छ । यसर्थ, पूर्वीय दर्शनहरूलाई तिलस्मी मिथकहरूबाट अलग बनाएर बुझ्ने हो भने सबै दर्शनहरूको निश्कर्षमा मानव समुदायको मात्र नभएर प्रकृतिको हित सन्निहित भएर अगाडि आउनेछ । त्यसैले सबै पूर्वीय दर्शनबाट तिलस्मी मिथकहरूको फोहर हटाउनु वा अलग गरेर दर्शनहरूको विश्लेषण गर्नु अनिवार्य छ । मानवसुखमा यौनको सिद्धान्त र दर्शनको ज्ञानले मानिसमा यौनलाई मात्र नभएर जीवन र सृष्टिलाई बुझ्ने दृष्टिकोण फराकिलो बनाएर लैजान्छ ।
कामसूत्र दर्शनसम्बन्धी अघिल्ला भागहरू –
१) https://ghatanarabichar.com/212555
२) https://ghatanarabichar.com/337810
३) https://ghatanarabichar.com/338052
सन्दर्भ सामग्रीहरु :
१) https://health.vikaspedia.in/viewcontent/health/
२) https://www.summahealth.org/~/media/Files/pdfs/Research/womensresearch/Nepali/NepaleseSTDs.pdf
३) कामसूत्र
५) https://www.healthaawaj.com/sex-health/19605/
प्रतिक्रिया