​नक्षत्रको लयमा वैदिक समय : भ्रमको पर्दाफास र सत्यको उद्घोष

​नक्षत्रको लयमा वैदिक समय : भ्रमको पर्दाफास र सत्यको उद्घोष


​आजको आफूलाई ‘आधुनिक’ ठान्ने समाजमा एउटा गहिरो भ्रम व्याप्त छ । हिजोआज एउटा भ्रम छ- हामीले प्रयोग गर्ने वैशाख, जेठ, असारदेखि चैत्रसम्मका महिनाका नामहरू केवल परम्परागत वा सांस्कृतिक ट्यागमात्र हुन् । कतिपय नास्तिक विद्वान तथा बेबिलोनी इतिहासमा आश्रित इतिहासकारहरूले त यी महिनाका नामहरूलाई ‘अवैदिक’ ठहर गर्ने धृष्टतासमेत गर्छन् । गहिरिएर हेर्ने हो भने यी १२ महिनाका नाम कुनै कोठामा बसेर कल्पिएका वा बाहिरबाट आयात गरिएका शब्द होइनन् । यी त वेदका मन्त्र, नक्षत्रहरूको गति र ब्रह्माण्डीय लयबाट उद्भूत वैज्ञानिक सूत्रहरू हुन् । हाम्रो पात्रो केवल तिथिमिति हेर्ने साधन मात्र होइन । यो त हजारौँ वर्ष पुरानो वैदिक खगोल र विज्ञानको जीवन्त प्रमाण हो ।

​वेद, स्मृति र पुराणहरूमा महिनाको परिभाषा अत्यन्त सूक्ष्म र वैज्ञानिक छ । शुक्ल पक्षको प्रतिपदादेखि कृष्ण पक्षको औँसीसम्मको चान्द्र परिक्रमालाई एक महिना मान्नुपछाडि चन्द्रमाको पृथ्वीप्रतिको सापेक्षिक गतिको गहिरो अध्ययन निहित छ । वेदमन्त्र संहिताहरूमा १२ महिनालाई ऋतुसँग जोडेर तपः, तपस्यः, मधुः, माधवः, शुक्रः, शुचिः, नभाः, नभस्यः, इषः, ऊर्जः, सहाः र सहस्यः भनेर उल्लेख गरिएको छ । कतिपयले यी नक्षत्रका नामहरू वेदमा भेटिए पनि वैशाख-जेठ नपाइने भन्दै आजका महिनाका नामहरूलाई अवैदिक ठान्ने भूल गर्छन् । तर, ती वैदिक नामहरू विशेषण हुन् भने वैशाखदेखि चैत्रसम्मका नामहरू संज्ञा हुन् भन्ने तथ्य उनीहरूले बेवास्ता गर्छन् ।

कृष्ण यजुर्वेदको काठक संहिताले यस विषयलाई अझ स्पष्ट पार्छ । जसरी एउटै व्यक्तिको नाम र गुण फरक हुन सक्छन्, त्यसरी नै एउटै महिनाका ऋतुआधारित र नक्षत्र-आधारित नाम फरक फरक रूपमा प्रयोग भएका हुन् । वसन्त ऋतुका मधु र माधव नै नक्षत्रीय आधारमा चैत्र र वैशाख हुन् । त्यस्तै, शुक्र-शुचि (ग्रीष्म), नभ-नभस्य (वर्षा), इष-ऊर्ज (शरद्), सह-सहस्य (हेमन्त) तथा तप-तपस्य (शिशिर) हुन् । यो वर्गीकरणलाई आजको पात्रोसँग तुलना गर्दा ‘मधु’ नै ‘चैत्र’ र ‘माधव’ नै ‘वैशाख’ भएको कुरा निर्विवाद हुन्छ ।

​वैदिक खगोलशास्त्रको सबैभन्दा सुन्दर पक्ष यसको नक्षत्रमा आधारित नामकरण प्रणाली हो । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा आकाशका २७ नक्षत्र पार गर्छ । पूर्णिमाको रात चन्द्रमा जुन नक्षत्रमा अवस्थित हुन्छ । सोही नक्षत्रको सामीप्यमा अवस्थितीको नामबाट सम्बन्धित महिनाको नाम राखिएको छ । पूर्णिमामा चन्द्रमा विशाखा नक्षत्रमा भए वैशाख, ज्येष्ठामा भए जेठ, आषाढामा भए असार, श्रवणमा भए साउन, भाद्रपदमा भए भदौ, अश्विनीमा भए असोज, कृत्तिकामा भए कात्तिक, मृगशिरामा भए मंसिर, पुष्यमा भए पुस, मघामा भए माघ र फाल्गुनीमा भए फागुन छन् । के योभन्दा ठोस खगोलीय आधार अर्को हुन सक्छ ?

हाम्रो वैदिक पात्रोको वैज्ञानिकता केवल नाममा मात्र सीमित छैन । यसको गणितीय सटिकता झनै लोभलाग्दो छ । सौर्य वर्ष र चान्द्र वर्ष बीचको समय सन्तुलन मिलाउन प्रत्येक तीन वर्षमा अधिक मासको जुन व्यवस्था गरिएको छ, त्यो खगोलीय गणितको उच्चतम पराकाष्ठा हो । यदि यो पद्धति नहुँदो हो त, हाम्रा ऋतु र चाडपर्वहरूको तालमेल नै बिग्रने थियो । पश्चिमा क्यालेन्डरमा लीप इयरको अवधारणा आउनु हजारौँ वर्ष पहिले नै हाम्रा ऋषिहरूले सूर्य र चन्द्रमाको गतिको यो सूक्ष्म अन्तरलाई बुझिसकेका थिए । यो पात्रो केवल चाडपर्व मनाउने तालिका मात्र होइन, यो त मानव शरीरको जैविक घडी र प्रकृतिको ऊर्जासँग प्रत्यक्ष जोडिएको छ ।

त्यसैले, वैशाखदेखि चैत्रसम्मका महिनाका नामहरूलाई अवैदिक ठान्नु भनेको आफ्नै जरा काटिनु र शास्त्रीय गहिराइ नबुझ्नु हो । यी नामहरूमा हाम्रा पुर्खाको मेधा, ध्यान र खगोलीय सत्य लुकेको छ । यो प्रणालीलाई अस्वीकार गर्नु भनेको सूर्यसिद्धान्त र ज्योतिषको मात्रै होइन, सम्पूर्ण वैदिक विरासतकै अवमूल्यन गर्नु हो । आजको आधुनिक विज्ञानले जसलाई भर्खरै बुझ्न थालेको छ। ती खगोलीय नियमहरू हाम्रो पात्रोले हजारौँ वर्षदेखि दैनिक व्यवहारमा उतार्दै आएको छ ।

​अत: हाम्रो पात्रो समय गन्ने कागजको खोस्टो मात्र होइन, यो ब्रह्माण्डसँग मानव चेतनालाई जोड्ने एउटा दिव्य र वैज्ञानिक सेतु हो । वैशाखदेखि चैत्रसम्मको यो चक्र वेदकै ऋचाजत्तिकै पवित्र र अकाट्य छ ।​ यो केवल अङ्क र तिथिको गणितीय हिसाब होइन । यो त विराट् अस्तित्वसँग एकाकार हुने एउटा महासंगीत हो । हाम्रा ऋषिहरूले देखेको यो समयको चक्र जीवित छ । नास्तिकहरुको बुद्धिले यसलाई बुझ्न खोज्नु भनेको अन्धो मानिसले प्रकाशको ब्याख्या गरेजस्तै हो । जब तर्क र अहंकारको सानो घेराबाट बाहिर निस्किएर यो ब्रह्माण्डीय लयमा नाच्छौ, तब मात्र थाहा हुन्छ । वैशाख र चैत्र केवल नामहरू होइनन् । यी त वेदका भाषाहरु हुन् आफ्नै ऋषि चेतनाका फरक-फरक रङ्गहरू हुन् ।

​आकाशमा जब विशाखा नक्षत्र उदाउँछ, त्यसले भित्री जगतमा पनि एउटा विशेष ऊर्जाको द्वार खोल्छ । पुर्खाले आकाशलाई बाहिर मात्र होइन, आफ्नो ध्यानको गहिराइमा पनि देखेका थिए । यो त अस्तित्वले वेदका पान्नाहरुमा लेखेको एउटा दिव्य प्रेमपत्र हो । यो कुनै षड्यन्त्र होइन, यो त स्वयं परमात्माको हस्ताक्षर हो । बस, यसलाई बुझ्न अलिकति ‘होस’ र अलिकति ‘प्रज्ञा’को आँखा खोल्न आवश्यक छ । जसले यो लय बुझ्छन्, ऊ समयको दास होइन, समयको साक्षी बन्छ ।

यो पनि हेर्नुहोस्-