महाधिवेशन रोकिँदैन : कर्ण मल्ल

महाधिवेशन रोकिँदैन : कर्ण मल्ल


karna-malla

दलभित्रैको एक समूहले सिर्जना गरेको विवाद, विरोध वा अवरोधका बाबजुद नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी २७–२९ गते पोखरामा सम्पन्न हुन गइरहेको छ । लामो समयपछि हुन गइरहेको दलको अधिवेशनबाट प्रतिष्पर्धाका आधारमा नेतृत्व लिन तरुण नेताहरू मैदानमा उत्रिएका छन् । मुलुक नै अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको र कम्युनिस्टको बोलवाला बढिरहेको परिवेशमा नेपाल तरुण दल सशक्त रूपमा अगाडि आउनुपर्ने आवश्यकताबारे नेपाली काङ्ग्रेस तथा तरुण दलभित्रै आवाज उठिरहेको छ । महाधिवेशनको उद्घाटन हुने दिन नजिक आइसक्दा पनि भावी नेतृत्वका लागि आकाङ्क्षीहरूले आफ्नो उम्मेद्वारी नखुलाएको सन्दर्भलाई रोचकतापूर्वक हेरिएको परिवेशमा हिजो मङ्गलबार केही तरुण नेताले उम्मेद्वारका रूपमा आफ्नो दाबेदारी पेस गरेका छन् । दलको भावी अध्यक्षका आकाङ्क्षीहरूमा नेका डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, पदम पालुङ्गा, टेकराज पौडेल, नारायण भट्टराई, मीनकृष्ण महर्जन, लक्ष्मी खतिवडालगायत छन् भने महासचिवका प्रवल दाबेदारका रूपमा उदीयमान युवा रोशनकुमार यादव देखापरेका छन् । यस्तै, सदस्यका अनेक आकाङ्क्षीमध्ये गोर्खाका पदम भट्टराई, विकास बस्नेत आदिको नाम चर्चामा छ ।

यसै सन्दर्भमा तरुण दललाई सशक्त ढङ्गले समयानुकुल अघि बढाउने दृढता र तीनसय पैँसट्ठी दिने कार्यतालिका बनाएरै काम गर्ने अठोटका साथ मैदानमा उत्रिएका कर्ण मल्लले कुनै हालतमा पनि महाधिवेशन रोकिन नहुने र अधिवेशन भएरै छाड्ने दाबी गरेका छन् । प्रस्तुत छ जुझारु युवा नेता मल्लसँग गरिएको कुराकानी :

० तरुण दलको अधिवेशन फेरि अन्योलमा प¥यो नि, किन होला ?
– धेरैपछि नेपाल तरुण दलको महाधिवेशन हुँदैछ । यस क्रममा हालै सम्पन्न नेवि सङ्घ र महिला सङ्घको महाधिवेशनका तरङ्गको छिटाले तरुण दलको अधिवेशनलाई पनि छुन खोज्नु अनौठो सन्दर्भ होइन । तर, हामीले नकारात्मक छोडेर सकारात्मक कुरा मात्र समातेर अघि बढ्ने सोच बनाउनु पर्छ । । राजनीतिक घटनाक्रमबीच यस्ता समस्या आउनु स्वभाविक छ, तर महाधिवेसन सम्पन्न गर्नका लागि पार्टीले जिम्मेवारी दिएको जुन कमिटी छ, उक्त कमिटीका साथीहरू जिम्मेवार तथा गम्भीर ढङ्गले प्रस्तुत हुने हो भने दुई दिनभित्रै सबै समस्या हल हुनेछ ।

० असन्तुष्ट पक्षले त महाधिवेशन नरोके समानान्तर कार्यसमिति घोषणा गर्ने चेतावनी नै दिएका छन् नि ?
– यो बेतुकको चेतावनी हो । वर्षौंपछि बल्लतल्ल हुन लागेको महाधिवेशन के कारणले रोक्ने ? उहाँहरूले बझाङदेखि सर्लाहीसम्मका एघार जिल्लामा विवाद बाँकी रहेको कुरा गर्नुभएको छ, तर कुन ठाउँमा के समस्या हो र त्यसको समाधानका लागि के गर्नुपर्छ भन्नेचाहिँ केही सुझाइएको छैन । म प्रस्ट पार्न चाहन्छु कि केही साथीहरू खास समस्यै नभएको विषय बोकेर के–के न समस्या छ भन्ने ढङ्गमा प्रस्तुत हुँदैमा तरुण दलको चौथो महाधिवेसन रोकिँदैन । सबै साथीहरूले नियत राम्रो राखेर सङ्गठनप्रति इमानदार व्यवहार गर्ने हो भने महाधिवेसन हुनेमा केही व्यवधान रहन्न । नियत नै खराब राख्ने हो भने त स्वर्गवासी किसुनजी या गिरिजाबाबु आएर समस्या हल गरिदिने होइनन्, मिलाउनुपर्ने हामीले नै हो । पार्टीको केन्द्रीय समितिले नै निर्देशन समितिलाई यससम्बन्धी सबै अधिकार दिएको छ । वर्तमान अध्यक्ष उदय शमशेरकै नेतृत्वमा विवाद समाधान कमिटी बनेको छ । उहाँहरू बसेर छलफल गरी उपाय निकाल्नु प¥यो नि । कतिन्जेल छल्दै र टार्दै लैजाने त महाधिवेसनलाई ?

० खास विवाद चाहिँ के मामलामा परेको हो ?
– मैले भनिहालेँ नि, कारण नै छैन । यो बेकारको बखेडा हो । तरुण दललाई माया गर्न नजानेको या सकारात्मक दृष्टि दिन नसकेको मात्रै हो । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सँगै बसेर अधिवेशनको मिति र स्थान तोक्नुभएको हो । त्यसैले तोकिएको समयमा अधिवेशन हुन्छ र हुनु पनि पर्छ ।

० तपाईंले आफूलाई दलको अध्यक्षको उम्मेद्वारका रूपमा अघिसार्नुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ नि ?
– मैले विगतमा पनि तरुण दलको केन्द्रीय समितिमा रहेर विषम परिस्थितिमा काम गरिसकेको हुँ । पार्टीका आदरणीय नेताहरू तथा तरुण दलका तमाम साथीहरूले पनि मलाई भावी अध्यक्षको रूपमा देख्न चाहेका छन् भने यसमा म पछि हट्ने कुरै आउँदैन । नयाँ परिवेशमा नेपाली काङ्गैस पार्टीमा एउटा जुन नयाँ खालको मिश्रण देखापरेको छ, यस मिश्रणलाई ‘मिसाइल’मा परिणत गर्दै मुलुकले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न एउटा दह्रिलो काँध थाप्न म तयार छु । पार्टीका मिसन पूरा गर्न तरुण दललाई मिसाइल तुल्याउने कार्यमा म अब्बल रहने छु भन्नेमा साथीहरू पनि विश्वस्त रहेको पाएको छु ।

० तरुण दलमाथिका यतिबेला चुनौतीचाहिँ के देख्नुहुन्छ ?

– हाम्रो पार्टीको पहलकदमीमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व तरुण दलको पनि हो, त्यसैले प्रमुख चुनौती त यतिबेला यही देख्छु । अर्को कुरा माउ पार्टीको सदस्य सङ्ख्या सात लाख छ तर भार्त सङ्गठनको चाहिँ आधा पनि छैन । कम्तीमा पनि दस लाख सदस्य सङ्ख्या पु¥याइनु पर्छ तरुण दलको, अबको नेतृत्वका अघिल्तिर यो पनि ठूलो चुनौती हो । नेपाली तरुणका समस्या के–के छन् र तरुण दलले ती समस्या समाधानमा के–कसरी भूमिका निर्वाह गर्ने भन्ने प्रश्न पनि ज्वलन्त छ । तरुण दललाई मुलुककै महŒवपूर्ण शक्तिका रूपमा कसरी स्थापित गर्ने भन्ने पनि हाम्रासामु खडा भएको चुनौती हो । यसका लागि पार्टीसभापति शेरबहादुर देउवा, वरिष्ठनेता रामचन्द्र पौडेल, पार्टीका साथै तरुण राजनीतिमा अत्यन्त ठूलो प्रभाव राख्ने नेता खुमबहादुर खड्का, महामन्त्री डा. शशांक कोइरालालगायत सिङ्गो कार्यसमितिले देश कम्युनिस्टमय भइराखेको छ, यसबाट मुक्त गर्दै समाजलाई कुसंस्कार र गरिवी हटाउन तरुण दल नै अघि सर्नुपर्छ र यसका लागि ‘तिमीले नै जिम्मेवारी लिनुपर्छ’ भनी सर्वसम्मत प्रस्ताव आउँछ भने म जिम्मेवारी लागि तयार छु । जिम्मेवारी लिने मात्र होइन म तीन सय पैंसट्ठी दिनको कार्यतालिका बनाएर अघि बढ्न चाहन्छु, र दललाई नयाँ उचाइमा पु¥याउने दाबी गर्छु । कार्यतालिका अनुसार काम गर्न नसके पद ओगटेर बस्न पनि चाहन्न ।