कार्यकर्ता लाचार हुँदा नेता निरङ्कुश बने

कार्यकर्ता लाचार हुँदा नेता निरङ्कुश बने


– लक्ष्मी खतिवडा (नेपाली काङ्ग्रेसकी युवा नेतृ)

laxmi-khatiwoda

० लक्ष्मीजी, तरुण दलको अध्यक्ष बन्छु भन्नुहुन्थ्यो, हुनुभएन, कारण के होला ?
– घुमाइफिराइ नगरी भन्नुपर्दा रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको ‘म्याच फिक्सिङ’का कारण मैले नेपाल तरुण दलको अध्यक्ष बनेर नेतृत्व दिने अवसरबाट वञ्चित हुनुप¥यो ।

० पौडेल र देउवाजीले आफ्नो मान्छेलाई नेतृत्वमा पु¥याएको, तपाईंचाहिँ उहाँहरूको मान्छेभित्र नपरेको भन्न खोज्नुभएको हो ?
– त्यसरी पनि नबुझौँ । उहाँहरूले बनाएका त उहाँहरूका आफ्ना मान्छे नै होलान्, जे भए पनि पार्टीभित्रकै मान्छे बनाउनुभएको छ, तर नेपाल तरुण दलको साधारण सदस्य पनि नरहेका, दलको महाधिवेशन प्रतिनिधि पनि नरहेका, केन्द्रीय पार्षद् पनि नरहेका र तरुण दलको पुनस्र्थापना कालदेखि अर्थात् ०५४ सालदेखि आजसम्म तरुण दलको कुनै पनि गतिविधिमा शून्यबराबरको पनि उपस्थिति नरहेका मान्छेलाई उहाँहरूले बलात् स्थापित गरिदिनुभयो । यसले म र मजस्ता इमानदार कार्यकर्तालाई आश्चर्यमा पारेको छ ।

० तपाईंहरू तरुण दलमै सक्रिय मान्छे ‘अनफिट’ र तरुण दलमा लाग्दैनलागेका व्यक्तिचाहिँ ‘फिट’ कसरी भए होलान् त ?

– यसको ठेट जवाफ त सम्बन्धित नेताहरूले नै दिन सक्नुहोला । जहाँसम्म मलाई लाग्छ, उहाँहरूलाई आफ्ना कार्यकर्तामाथि, कार्यकर्ताले रगतपसिना बगाएर बनाएको सङ्गठनमाथि र आफैँमाथि पनि भरोसा छैन कि जस्तो छ । होइन भने हामीहरू जो–जो नेतृत्वको दाबेदार थियौँ अथवा तरुण दलमा क्रियारत थियौँ, सबै नै पार्टीप्रति इमानदार, वफादार र पार्टीका लागि निरन्तर लगानी गरेका साथीहरू नै थियौँ । हामीले पटक–पटक नेतृत्वलाई अनुनयविनय ग¥यौँ कि तरुण दलमा काम गरेका, तरुण दलको नीलो पोसाक लगाएको, दलको शपथ खाएको या तरुण दलको प्रतिज्ञा पालना गरेको, दलको पूर्णकालिक सदस्य भएको, तरुण दलको वैधानिक बाटोबाट प्रवेश गरी काम गरेको व्यक्तिमध्येबाट नेतृत्वको जिम्मेवारी प्रदान गरिदिनुस् । तर, उहाँहरूले त हाम्रो अस्तित्वलाई नै अस्वीकार गर्दै आफ्नो निर्णय लादिदिनुभयो ।

० किन होला त नेताहरूले यस्तो गर्नुपरेको ?

– त्यही हो कि उहाँहरूलाई आफूप्रति नै भरोसा भएन । हामीप्रतिको अविश्वासभन्दा पनि आफैँप्रतिको शङ्काले मात्र यस्तो निणर््य लिन नेताहरू अभिप्रेरित हुनुभयो भन्ने लाग्छ । कुनै विद्वान्ले कतै भनेको यहाँ सम्झन्न चाहन्छु कि कसैलाई आफूप्रति विश्वास भएन भने उसले ढुङ्गालाई अँगालो हाल्छ रे ! तरुण दलको हकमा पनि यस्तै भएको होला ।

० तपाईंको भनाइअनुसार त जसलाई नेतृत्व दिइएको छ, उहाँहरूचाहिँ पत्थरबराबर नै हो ?
– तरुण दलको भन्दै सङ्गठनलाई नेतृत्व दिने दृष्टिबाट भन्नुपर्दा उहाँहरू पत्थरसरह नै हो ।

० पत्थर भनेको त दर्बिलो कुरा पनि त हो नि, यसको मतलब उहाँहरू धेरै शक्तिशाली हुनुहुन्छ हो ?
– यस अर्थमा चाहिँ म सहमत नै छु कि उहाँहरू साह्रै बलिया हुनुहुँदोरहेछ । नत्र त रामचन्द्र पौडेल र शेरबहादुर देउवाजस्ता नेतालाई समेत त्यस ढङ्गबाट प्रभावित पार्न कसरी सक्नुहुन्थ्यो होला र !?

० कार्यकर्तामा पनि त्यत्तिकै प्रभाव होला कि नेतामा मात्र प्रभाव होला नि उहाँहरूको ?
– तरुण दलका कार्यकर्तामा त भनिहालँे… शून्यबराबरकै पनि प्रभाव छैन । पार्टीको अन्य पङ्क्तिमा चाहिँ…., रमाइलो कुरा, अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही दुवैजना, जो शेरबहादुर देउवा र रामचन्द्र पौडेलका आ–आफ्ना कोटाबाट नेतृत्वमा पुगे, नेविसङ्घको महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । नेपाल तरुण दलको विधानले स्पष्टतः के व्यवस्था गरेको छ भने नेपाली काङ्ग्रेसको कुनै ओहोदामा बरु बस्न पाउँछ नेपाल तरुण दलको प्रतिनिधि या सदस्य, तर नेपाली काङ्ग्रेसबाहेक अन्य भ्रातृ संस्थामा समानान्तर रूपमा बस्न पाइन्न । उहाँहरू दुवैजना अस्ति भर्खर सम्पन्न भएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

० भनेपछि, अध्यक्ष र महासचिवको चयन प्रक्रिया विधानविपरीत भयो ?
– सम्पूर्ण प्रक्रिया नै विधानविपरीत भएको छ ।

० यसविरुद्ध अब के मुद्दा हाल्नुहुन्छ त ?
– हामी तरुण दलका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वनेताहरू, तदर्थ कमिटीमा रहेका साथीहरू, जिल्ला सभापतिहरू, अन्य महाधिवेशन प्रतिनिधिहरू छलफलको चरणमा छौँ । विधि र विधानको यो तहको उल्लङ्घनका सन्दर्भमा हाम्रो समुपस्थिति दर्शाउनकै लागि या नेतृत्वलाई आवश्यक चेतावनी दिनका निम्ति पनि हामी यस्तै–यस्तै कोणबाट छलफल गरिरहेका छौँ ।

० नेताहरूको छाला नै गैँडाको छालाजस्तो भइसक्यो भन्ने तमाम कार्यकर्ताको गुनासो छ, तपाईंहरूको चेतावनी कति काम लाग्ला त ?
– हाम्रो चेतावनीको स्तर त्यो बाक्लिएको छालामा चेतना अनुभूति गराउने प्रकारकै हुनेछ । एक त हामी पार्टीभित्रै गम्भीर रूपले कुरा उठाउँछौँ, सम्बन्धित निकायमा मुद्दा पनि दर्ता गरौँला, पार्टीभित्रको उजुरीको पनि सुनुवाइ नगरिएमा चाहिँ हामी अरू खालको प्रक्रियामै पनि जान सक्छौँ । न्यायालयकै ढोका ढकढक्याउनुपर्ने पो हो कि भन्नेसम्मको छलफल हामीबीच भएको छ ।

laxmi-khatiwoda-5

० तपाईं बुलेट बाइक चढेर मेची–महाकली दौडँदै हुनुहुन्थ्यो कार्यकर्ता रिझाउन, आखिर देउवा र पौडेललाई रिझाए पुग्ने रहेछ भन्ने थाहा भएन तपाईंलाई ?
– मज्जाले थाहा थियो गणेशभक्तिले पनि काम गर्छ भनेर !

० अनि बुढानीलकण्ठ र बोहोराटारको परिक्रमा गर्दा पुग्ने थाहा हुँदाहुँदै किन देशभर दौडने दुःख गरेको त ?
– काङ्ग्रेसमा राजनीति गर्न यस्तै घुमाउरो बाटो हिँड्न जानेमा साह्रै सजिलो छ भन्ने मलाई राम्रैसँग थाहा छ । नजान्दा गाह्रो छ र जानेर पनि त्यस्तो उपाय अवलम्बन नगर्दा झन् गाह्रो छ भन्ने पनि अनुभूति नभएको होइन । मैलेचाहिँ कुनै व्यक्ति रिझाएर ठाउँ लिने प्रवृत्तिको क्रमभङ्गता होस् भन्ने चाहेर व्यवहार गर्न खोजेकी हुँ । नेता होइन कार्यकर्ता रिझाएर, कार्यकर्ता साथीहरूको च्वाइसमा परेर नेतृत्वमा पुग्दाचाहिँ दलको र देशकै पनि हित हुन्छ कि भन्ने मेरो बुझाइ हो ।

० भनेपछि नेता रिझाउनेतिर लाग्नु नै भएन ?
– साथीभाइहरू त सजिलै हुन्छ भन्छन्, तर नेता रिझाउने काम मलाईचाहिँ गाह्रो लाग्छ ।

० नेता रिझाउने प्रयास नै गर्नुभएन कहिल्यै ?
– ठ्याक्कै प्रयास पनि गरिएन । खुलस्त भन्नुपर्दा ०४६ को प्रजातन्त्र पुनस्र्थापनलगत्तैको हाम्रो नेतृत्वको उचाइ बेग्लै थियो । गणेशमानजीमा रहेको सिद्धान्तप्रतिको निष्ठा र इमान, किसुनजीको वैचारिक व्यक्तित्व, अनि बौद्धिक तहमा नभए पनि कार्यकर्तासँगको आत्मीयता वा पार्टी–सङ्गठनको निम्ति अविश्राम लागिपर्ने गिरिजाबाबुको सक्रियता नेपाली काङ्ग्रेसको निम्ति मात्र नभई मुलुककै निम्ति अतुलनीय थियो । उहाँहरूको भूमिका वा योगदानको कदर गर्न नसक्ने, तर उहिलेका ती नेताभन्दा पनि तपाईंहरू नै ठूला, तपाईंहरू महान्, तपाईंहरूले नै यो सारा थामेको भन्दै चाकडी गर्ने केही भाट नेता–कार्यकर्ताको समूह यहाँ सक्रिय छ । त्यस्ता भाट समूहकै साथ लागेर नेताहरूलाई फुक्र्याउने, उचाल्ने र झुट कुरा गरेर झुक्याई अनधिकृत लाभ लिने सोच मलाई कहिल्यै आएन । नेता वा नेतृत्वको विश्वासमा त रहनैपर्छ, पार्टीको मूलधार छोड्नु पनि हुँदैन, तर तपाईं नै सबैथोक हो भन्दै त्वम् शरणम् गरी सबैथोक नेतालाई बुझाएर–रिझाएर नेतृत्व हात पार्नुपर्छ या व्यक्तिगत स्वार्थ सिद्ध गर्नुपर्छ भन्नेतिर म कहिल्यै लागिनँ र यो जुनीमा सम्भवतः म लाग्दिनँ पनि ।

० तपाईंले नेपाली काङ्ग्रेसलाई साँच्चैको प्रजातान्त्रिक पार्टी ठान्नुभएको रहेछ त्यसो भए, होइन ?
– नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भन्ने बुझाइकै कारण यसमा लागेको हो ।

० ‘प्रजातन्त्रवादी’ पार्टी त हो तर ‘प्रजातान्त्रिक’ पार्टीचाहिँ होइन भन्ने गरिन्छ र तपाईंका अनुभूतिले पनि यस्तै बुझाउँछ, होइन र ?
– काङ्ग्रेसभित्रको आन्तरिक प्रजातन्त्रमा देखापरेको कमी–कमजोरीका कारण यस्तो प्रश्न पैदा हुनु अस्वाभाविक छैन । त्यसैले त प्रजातन्त्रवादी यस पार्टीलाई प्रजातान्त्रिक पार्टीको रूपमा समेत सिद्ध गराउने प्रक्रियामा हामी छौँ । नेतृत्वले जबर्जस्ती कुठाराघात गरेर हाम्रो यस प्रयत्नलाई पटक–पटक दुरुत्साहन गरिरहेको छ । यसका बाबजुद हाम्रो लडाइँ पार्टी र पार्टीका भातृ संस्थाहरूलाई प्रजातान्त्रिक बनाउने नै हो ।

० राजाको निरङ्कुशताका विरुद्धको आन्दोलनमा तपाईंले दुई–दुईपटक भाग लिनुभएछ, आफ्नै दलका नेताको व्यवहार त प्रजातन्त्रसँग केही त नजिक देख्नुभएको होला नि ?
– उहाँहरूको गफमा मात्रै प्रजातन्त्र छ, व्यवहारमा त एकथोप्पै महसुस गर्न सकिएको छैन भन्नुपर्दा म दुःखी छु । हाम्रा शीर्ष भनिएका नेतामा प्रजातान्त्रिक दलको नेतामा हुनुपर्ने न्यूनतम गुण या योग्यता पनि नभएको कतिपय घटना–सन्दर्भले प्रस्ट्याएको मेरा आफ्नै अनुभवहरू छन् ।

० शीर्षस्त नेतामै पनि न्यूनतम योग्यता नभएको महसुस गर्नुभएको रहेछ, यस्तो दलमा तपाईंजस्ता कार्यकर्ताले नै ठाउँ नपाएपछि यसलाई प्रजातान्त्रिक पार्टीका रूपमा रूपान्तरित गर्न सकिएला भन्ने लाग्छ ?
– सक्नुपर्छ र सक्छौँ भनेरै लागिपरेका छौँ ।

० तर, कसरी ?
– सङ्घर्ष गरेर । उपयुक्त प्रकारको सङ्घर्षकै लागि साथीभाइसँग छलफल–सल्लाह चलिरहेको छ । एउटा झिल्को मात्र पनि भोलि ज्वाला बनेर दन्किन यथेष्ट हुन्छ भन्ने सबैले बुझ्नु आवश्यक छ । हामी कार्यकर्ताको मनमा, समग्र मेची–महाकालीका तरुणका मनमा आगोको झिल्को छ, त्यो झिल्कोलाई मुस्लोमा कसरी रूपान्तरण गर्ने भन्ने सवालले नै भोलिको काङ्ग्रेस प्रजातान्त्रिक हुन्छ कि हुँदैन भन्ने कुरालाई निर्धारण गरेको छ ।

० नेताहरू यसरी निरङ्कुश हुँदै जानुको कारणचाहिँ के होला त लक्ष्मीजी ?
– कार्यकर्ता लाचार भएर । कार्यकर्ता लोभी–पापी भएर । मूल रूपमा कार्यकर्ताले नेतालाई ‘तिम्रो बाटो यो हो, तिमीले गल्ती गरिरहेका छौ, तिमी नसच्चिए साथ दिन सकिँदैन’ भन्ने साहस नगरेर उस्तो भएको ।

० यस्तै अवस्था रहिरहे काङ्ग्रेस पार्टीको भविष्य कस्तो होला भन्ने लाग्छ ?

– यस्तै क्रमको निरन्तरता रहने हो भने काङ्ग्रेसले अत्यन्त अप्ठ्यारा दिनहरूको सामना गर्न तयार रहनुपर्छ ।

laxmi