नेपालमै ‘केयरगिभर’ हुन तयार छु

नेपालमै ‘केयरगिभर’ हुन तयार छु


– साबी पाठक

sabi-pathak-2

रोजगारीको सिलसिलामा एक दशकभन्दा बढी समय इजरायलमा बिताएर नेपाल फर्किएकी साबी पाठक विदेशमा देखे–भोगेको र सिकेको सीप स्वदेशमै प्रयोग गर्ने सोचका साथ यतिबेला आफ्नै माटोमा पसिना बगाउँदै छिन् । परिचय दिनुपर्दा एक साधारण नेपाली नागरिक वा आममहिला मात्र हुन् साबी, तर नेपाली महिला घर–आँगनको सीमित दायरामा बाँधिएर रहने परम्परागत संस्कारबाट क्रमशः बाहिर निस्कनु पर्छ भन्ने उनको दह्रो मान्यता छ । ‘आफ्ना लागि आफैंले केही गर्नुपर्छ’ भन्ने धारणाबाट ओतप्रोत उनी वैदेशिक रोजगारीबाट आयआर्जन गर्ने उद्देश्यका साथ घरदेखि त्यति टाढाको गन्तव्य छिचोल्नसमेत पछि परिनन् ।

विवाहपछि राजधानीको चाबहिलमा घरजम बसाएकी साबीलाई आफ्ना कलिला सन्तान र परिवारको साथ छोडेर रोजगारीकै लागि बिदेसिन त पटक्कै इच्छा थिएन । तर, द्वन्द्वमा धसिएको देशको दूरावस्था, रोजगारीको चरम अभाव र परिवारमा बढ्दो आर्थिक बोझले उनलाई वैदेशिक रोजगारीमा जान विवश तुल्यायो । विदेशमा महिला कामदारले भोग्नुपर्ने अनेक कष्टका कथा सुन्दै आएको परिवेशमा राजधानीवासी ब्राह्मण परिवारकी बुहारी हुनुको नाताले रोजगारीकै लागि बिदेसिनुलाई समाजले त्यति स्वाभाविक दृष्टिले हेर्दैन भन्ने उनलाई नलागेको होइन । तर, महिलाका लागि इजरायल अत्यन्तै सुरक्षित र आर्थिक उपार्जनको दृष्टिले पनि राम्रो छ भन्ने सन्देश उहीँ कार्यरत एक नातेदारबाट प्राप्त भएपछि उनलेले हिम्मत गरिन् । इजरायलमा कामदार महिलाको सुरक्षा, सुविधा र सम्मानमा विशेष ख्याल राख्ने गरिएको कुरामा ती आफन्तले ढुक्क तुल्याएपछि दश वर्षअघि पाँच लाख रकम खर्च गरेर साबी इजरायल पुगेकी थिइन् ।

एकातिर उनले सुनेकी थिइन्– इजरायलमा नेपाली महिलाले गर्ने काम मूलतः रोगी, असक्त वृद्धवृद्धाको स्याहार गर्ने नै हो । अल्जाइमरले ग्रस्त इजरायली वृद्धवृद्धा अत्यन्त किचकिच गरिरहन्छन्, एउटै कुरा झर्को लाग्ने गरी पटक–पटक दोहो¥याएर सोध्छन् अनि अनावश्यक काम पनि दोहो¥याई–तेहे¥याई अह्राइरहन्छन् र तिनका सन्तानले समेत अनेकौँ काममा जोताएर सताइरहन्छन् । यसैगरी, उनले यस्तो पनि सुनेकी थिइन् कि इजरायलमा काम गर्न मलेसिया र अरब मुलुकमा जस्तो दुःख छैन, घरभित्रै बसेर पाको उमेरका मानिसको हेरचाह गर्ने मात्र हो । रोजगारदाताको घरकै छोरीसरह आनन्दसँग दिन कटाउन पाइन्छ र पैसा पनि निकै बच्दछ † कसैको नोकरी गरेजस्तो अनुभूति हुनै पाउँदैन । यस्तै–यस्तै विरोधाभासपूर्ण कुरा मनमा खेलाउँदै अन्योलग्रस्त मानसिकताका साथ उनी चार वर्षको भिसामा इजारायल पुगेकी थिइन् ।

यतिबेला राजधानी रामकोटमा पन्ध्र रोपनी जमिन भाडामा लिएर उनी तरकारी खेती गर्दै छिन् । इजरायलमै श्रमको महत्व र सीप सिकेका केही युवालाई साथ लिएर साबीले सुरु गरेको खेतीबाट आयआर्जन भइसकेको त छैन, तर यसबाट आयआर्जनका साथै कैयन बेरोजगारले रोजगारी पाउने, उपभोक्ताले स्वच्छ–स्वादिलो तरकारी उपभोग गर्न पाउने र आफ्नो कर्मबाट आफूजस्ता थुप्रै महिला एवम् रोजगारविहीन युवाले केही गर्न उत्साह वा जाँगर हासिल गर्नेमा साबी ढुक्क छिन् । इजरायलजस्तो मरुमूमिको मुलुकले कसरी कृषिलाई मुलुककै आयआर्जनको मुख्य स्रोत बनाउन सक्यो ? यसबारे आफू एक दशक इजरायल रहँदा साबीले बुझ्न पाएकी छिन् । इजरायल प्रवासको आफ्ना भोगाइ तथा अनुभूति र उक्त मुलुकले कृषि क्षेत्रमा हासिल गरेको सफलताबारे पुस्तक लेख्ने तयारीमा रहेकी साबी ‘चम्पाका हजार पाइला’ नामक पुस्तक लेखिकाको रूपमा पनि चर्चामा रहेकी पात्र हुन् ।

sabi-pathak

० तपाईं एक विवाहित महिला, स–साना बालबच्चा र परिवार छोडेर किन बिदेसिनुभएको ?
– रहर वा सहज परिस्थितिमा म बिदेसिएको पक्कै होइन । रोजगारीकै लागि भनेर एउटी महिला बिदेसिनु हाम्रोजस्तो समाजमा सामान्य र सजिलो विषय होइन भन्ने महसुस भए पनि म बाध्य थिएँ । किनकि, द्वन्द्वले थलिएको मुलुकमा हामीजस्ता युवाका निम्ति न कुनै रोजगारीको गुन्जायस थियो न आफ्नो सुरक्षित भविष्यको कुनै सुनिश्चितता नै । परिवारका एकजनाको कमाइले धान्न सक्ने कुरै थिएन । यसर्थ, श्रीमान्लगायत परिवारका अभिभावकको स्वीकृति लिएर म सन् २००५ मा स–साना छोराछोरी छोडी भारी मनले इजरायल गएकी थिएँ । रहरले होइन, अप्ठ्यारो परेरै त्यतिबेला पाँच लाख खर्च गरेर म गएकी हुँ ।

० एक महिलाको रूपमा काम गर्नकै लागि भनेर त्यति टाढाको मुलुक यात्रा गर्नुपर्दा कस्तो अनुभूति भयो नि ?
– पक्कै पनि रोजगारीका लागि एउटी महिला बिदेसिनु हाम्रोजस्तो समाजमा सामान्य र सजिलो विषय थिएन । तर, महिलाका लागि इजरायल अत्यन्तै सुरक्षित र राम्रो छ भन्ने त्यहाँ पुगेका नातेदारबाटै बुझेपछि म मानसिक रूपले तयार भएकी थिएँ । एक दिन पनि घर नछोडेका हामी नेपाली महिलालाई सुरुमा के हुने हो, कस्तो होला भन्ने डर त उब्जिहाल्छ, मलाई पनि त्यस्तै अनुभूति नभएको होइन । तर, महिलालाई सुरक्षा छ भन्ने ढुक्क गराइएकैले गएकी हुँ, हो रहेछ पनि । जहाँसम्म आत्मसुरक्षाको प्रश्न छ, आफैँ बिग्रन चाहने त जहाँ पुगे पनि या नपुगे पनि बिग्रिरहेकै हुन्छन्, तर जो आफ्नो काममा सुरक्षित तवरले रहन्छु भन्ने ठान्छ उसका लागि सुरक्षित रहेछ इजरायल । बरु नेपालमै हामी असुरक्षित छौँ, बिगार्नेहरू पनि उहाँभन्दा यहीँ छन् । त्यहाँ त स्वास्थ्य बिमा, जीवन बिमा छ, एक वर्ष कटेपछि बोनस पाइन्छ । काम छोडेर आउँदा पछिसम्म पाइने पेन्सन दिएरै पठाइँदो रहेछ । सबै कुरा राम्रो रहेछ इजरायलमा । मलाई त ठिकै लाग्यो, राम्रै भयो ।

० त्यहाँ महिलाले खास गर्नुपर्ने कामचाहिँ के रहेछ ?
– असक्त, असहाय वृद्ध वा वृद्धाको स्याहारसुसार गर्ने काम नै हो मुख्यतया हाम्रो त्यहाँ । कृषिसम्बन्धी काम पनि हुन्छ, तर महिला अधिकांशतया ‘केयरगिभर’कै रूपमा रहेका छन् । काम गर्दा परिवारका अन्य सदस्यसँग हामीले भेट्नु पनि पर्दैन, कुनै व्यवहार गर्नुपर्दैन, जसको स्याहार–सम्भार गर्ने हो उससँग मात्रै सरोकार हुन्छ । अरू सदस्यले हामीसँग बोल्नुपरे तिनै वृद्ध या वृद्धाको अनुमति लिनुपर्छ । बिहे गरेर छोराछोरी अलग्गै बस्ने हुनाले हामीजस्ता केयरगिभरसँग खासै भेट नै हुँदैन । हामी त्यस घरमा पूरै समय रहन्छौँ परिवारकै सदस्यजस्तो भएर । आधा सरकारले व्यहोर्छ आधा सम्बन्धित परिवारले हाम्रो तलब व्यहोर्छ । हामीलाई कुनै कुराको कमी हुन दिँदैन, बरु उनीहरू स्वयम् अभाव खेप्छन् तर आवश्यक सम्पूर्ण साधन हामीलाई उपलब्ध गराउनुपर्ने नियम नै छ । गर्मी छ इजरायलमा, हामी सुत्ने ठाउँमा एसीको व्यवस्था के छ ? नुहाउन तातोपानी छ कि छैन ? खानेकुरा के–के दिएको छ कि छैन ? रोजगारदाता परिवार या परिवारका सदस्यले कुनै टर्चर पो दिएका छन् कि भन्ने बुझ्न सामाजिक कार्यकर्ताहरू महिनैपिच्छे आइरहेका हुन्छन् । अनुगमनकर्ता पनि धेरैजसो महिला नै हुन्छन् । यस्तो कुरा अनुगमन गर्न सरकारले छुट्टै व्यवस्था गरेको हुनाले हामी कामदारलाई अत्यन्त सहज छ । अनुगमनमा परिने त्रासले पनि इम्प्लोयरले सबै कुरा उपलब्ध गराएका हुन्छन् ।

० कुवेतलगायतका अरब देशमा त नेपाली महिला कामदारले अनेक सास्ती र यौनहिंसासम्मको अवस्था भोग्नुपरेका समाचार आउँछन्, त्यहाँचाहिँ त्यस्तो नहुने रहेछ ?
– अरू देशमा के छ त्यो मैले भन्न सक्ने कुरा भएन । तर, इजरायलमा त यसखाले समस्या एक प्रतिशत पनि छैन भन्दा हुन्छ । इजरायल दश वर्ष बसेर आएको नाताले म यो कुरा किटान साथ भन्न सक्छु कि त्यहाँ कामदार महिला यौनहिंसाजस्ता अपराधको सवालमा सुरक्षित छन् । यहुदीहरूले महिलालाई यति इज्जत गर्छन् होला भन्ने मैले सोचेकी थिइनँ, त्यति सम्मान गरेको पाएँ । त्यसैले त्यहाँ यौनशोषण या यौनहिंसा छैन भन्दा हुन्छ । केटा या छोराले हामीसँग सोधपुछ पनि गर्न पाउँदैन, बिरामीका छोरी या बुहारीले बोल्छन् । सत्जन भएर रहन चाहनेलाई त्यहाँ माहोल छ, आफैँले चाहेर बिग्रनेलाई चाहिँ क्लबहरू छन्, मोजमज्जा गरेर समाप्त गर्न पनि सकिन्छ । अर्को कुरा, नेपाली महिलाले अन्य मुलुकको तुलनामा त्यहाँ राम्रो कमाइ गर्छन्, धेरै कमाएर आउँदा यहाँ जलन भएर ‘फलानीले कसरी कमाइ विदेश बसेर यत्रो पैसा ?’ भनी केही बुझ्दैनबुझी अनर्गल प्रचार गरेका घटना देखिन्छन्–सुनिन्छन् । अलिक धेरै कमाउँदा ‘कसरी कमाइ हँ ?’ भन्ने, अलिक बढी वर्ष बसे ‘लौ फलानीले त उतै बिहे गरेर बसिछ’ भनिदिने नेपाली समाजमा रोग नै छ ।

० कामदार महिलालाई केही न केही समस्या त त्यहाँ पनि होला नि ?
– म सामाजिक सङ्घसंस्थामा पनि आबद्ध रहेँ त्यहाँ । त्यसक्रममा बुझिएअनुसार कहीँकतै समयमा तोकिएको तलब नदिएको केस पाइयो । बोनस, पेन्सन दिनुपर्नेमा नदिएर कामदारलाई निकालिदिने, खानेकुरामै पनि कन्जुस गरिदिने कहीँ–कहीँचाहिँ देखियो । यतिसम्म कि तत्कालीन प्रधानमन्त्री नेतान्याहुकै श्रीमतीले कामदारको शोषण गरेको घटना ठूलै इस्यु बन्यो । आफ्ना वृद्ध बाबुको निम्ति राखेको कामदारबाट आफ्नोसमेत काम गराएर शोषण गरेको घटना ठूलै समाचारको विषय बन्यो । नेपाली महिलाले ओभरटाइम गरेर महिनौँ घरबाटै बाहिर ननिस्कने गरेका पनि इजरायलमा धेरै छन् । यसरी पैसाका लागि ओभरटाइम गर्दा डिप्रेसनमा गएका महिला छन् त्यहाँ निकै । धेरैले आत्महत्या पनि गरेका छन् । आफू फ्रेस हुन बाहिर निस्कनुपर्छ । एउटै कुरा झर्कोलाग्ने गरी दोहो¥याइरहँदा बूढाबूढीलाई पिटिदिने घटना पनि देखिएका छन्, यस्तोमा जेलसजाय पाएका छन् नेपाली कामदार महिलाले । जवान छोराछोरीले घर छोडेर गएपछि बूढाबूढी डरैडरमा बाँच्दारहेछन् । यसले उनीहरूमा मानसिक समस्या उब्जाउँदो रहेछ । यस्ता पागलतुल्य अवस्थाका अल्जाइमरका बिरामीको स्याहार गर्नुपर्ने हुँदा तिनका व्यवहारले एकदम इरिटेसन हुन्छ र आफैँ बहुलाउने हो कि भन्नेजस्तो हुन्छ । यसर्थ समय–समयमा मुड फ्रेस गर्न सातामा एक दिन बाहिर निस्कने, घुम्ने गर्नुपर्छ, कमाइलाई मात्र जोड दिन खोज्नेहरू धेरै डिप्रेसनमा गएका छन् । योचाहिँ ठूलै समस्या हो भन्ने लाग्छ, तर उताको कारणले भन्दा पनि यो आफ्नै कारणले निम्तिएको हो ।

० नेपाली महिलाको सङ्ख्या कति जति होला इजरायलमा ?
– दश वर्षअघि त २०–२५ हजारजति नेपाली महिला भएको सुनिन्थ्यो । अहिलेचाहिँ घटेर चार–पाँच हजारजति मात्रै बाँकी रहेको सुनिएको छ । त्यहाँबाट यूके, क्यानडा, अमेरिका तथा अन्य युरोपेली मुलुक पनि जाँदा रहेछन्, धेरैजसो त स्वदेश नै फर्किएका छन् ।

० जे सोचेर त्यहाँ गइयो, पछुतो मान्नुपर्ने अवस्था पनि आइप¥यो कि ?
– आयो । २–४ हजारकै मात्र जागिर पनि मेरो देशमा सरकारले उपलब्ध गराइदिएको भए म आउने थिइनँ भन्ने सोच ममा पनि पटक–पटक आयो । परिवार बिचल्ली पारेर, नाबालक छोराछोरी छोडेर हिँड्नुपर्दा त्यस्तो सोच नआउने त कुरै भएन । हरेक दिन छोराछोरीको स्वर नसुनी कामै गर्न मन नलाग्ने हुन्थ्यो । त्यसबेला त देशको परिस्थिति अझै भयावह थियो । त्यो सम्झेर मात्र विदेशमा चित्त बुझाउन सकिएको हो । इजरायलको सिस्टम देख्दा आफ्नो मुलुकमा पनि यस्तै भइदिएको भए हुन्थ्यो भन्ने भाव आउँथ्यो, अझै आउँछ । कमाउन भनेर गएकाले होला ‘म किन आएँ ?’ भनेर रुने नै अवस्थाचाहिँ आएन । कमाइको हिसाबले जे सोचिएको थियो त्योभन्दा राम्रो भएकाले असन्तुष्ट हुनुपरेन । रोजगारदाताले पनि परिवारकै सदस्य ठानेर माया दिने भएकाले राम्रै भयो ।

० त्यहाँको माहोलमा घुलमिल हुन कत्तिको गाह्रो हुँदोरहेछ नि ?
– यसमा भाषाको भूमिका आउँछ मुख्यगरी । भाषा नजानी इजरायल जानु ठूलो गल्ती हुन्छ भनी म सबैलाई आग्रह गर्न चाहन्छु । भाषा नबुझ्दा धेरै दुःख पाइन्छ । जुनसुकै देश जाने भए पनि त्यहाँको भाषा, कामको प्रकृति र सामान्य रहनसहन, संस्कृति नबुझी कोही नजानुहोस् । म आफैँ पनि ‘सलोम’ (सलाम) भन्ने शब्दबाहेक इजरायली भाषाको नाममा अरू केही नबुझी गएकीले सुरुमा तीन महिनाजति धेरै दुःख पाएँ । इजरायलमा सहरतिर अलिअलि अङ्ग्रेजी बोल्ने हो, गाउँमा त त्यहीँको भाषा मात्र । इसाराको भरमा बुझेर काम गर्न गाह्रो हुन्छ । मैले त तीन–चार महिनामा भाषा सिकेर सजिलो भयो, आठ–दश वर्ष बस्दा पनि भाषा नबुझ्ने महिला कैयन छन् । तिनलाई निकै गाह्रो छ । त्यहाँ अर्कोले बोलिदिएर हुँदैन, आफ्नो कुरा आफैँले बोल्नुपर्छ, अरूले बोलिदिँदा घटीबढी गरिदिन सक्छ भन्ने छ । बिरामीको परिस्थिति हेरेर सबै काम गर्नुपर्छ, त्यो मानसिकता बनाएर जानुपर्छ केयरगिभरमा जानेले ।

० तपाईं दश वर्ष नै बस्छु भनेर गएको हो ?
– होइन, जम्मा चार वर्षको मात्र भिसा थियो, दुई–चार वर्ष बसौँला भन्ने थियो । तर, देशको परिस्थिति पनि एकातिर राम्रो थिएन, त्यसमाथि म एउटीले विदेशमा अलिकति मिहिनेत गर्दा छोराछोरीको पढाइलेखाइमा सहयोग पुग्ने, घरपरिवारको गर्जो टार्न सजिलो हुने भएपछि केही समय बढी किन नबस्ने त भन्ने सोच जागेको हो । मेरो हकमा चाहिँ काम पनि सजिलै खालको मिल्यो । एक–डेढ वर्षमा आउँदै–जाँदै गरेकाले पनि दश वर्ष उता बसेर काम गर्न असहज लागेन ।

० अवधि थपेर बस्नचाहिँ कसरी सम्भव भयो नि ?

– त्यहाँको नागरिकले चाहेमा आवश्यक कानुन तत्काल बन्दोरहेछ भन्ने मेरो बुझाइ छ । अर्थात्, नागरिकअधिकार निकै रहेछ त्यहाँ । रोजगारदाताले मनपरायो, मलाई नै काममा निरन्तरता दिन चाह्यो र म पनि तयार भएँ भने उसले सरकारलाई मेरो भिसा–अवधि बढाउन दबाब नै दिने र सरकारले पनि त्यो मान्न बाध्य हुने रहेछ । मेरो हकमा पनि त्यस्तै भयो । बुहारीचाहिँले ‘मेरा सासू–ससुराको निम्ति यही महिला चाहिन्छ’ भन्दै सरकारलाई दबाब दिइन् । फिलिपिन्स, श्रीलंका, भारत, रोमानियाबाट पनि पुगेका छन् केयरगिभरमा, तर नेपाली महिला इमानदार र मायालु भनेर नेपाली कामदार नै भरसक राख्न खोज्ने चलन छ त्यहाँ । मेरा आफ्नै बाबुआमा हुन् भनेजसरी खुला हृदयले काम गर्ने नेपाली महिला भन्ने छाप त्यहाँ परेको छ । वृद्धवृद्धालाई मायालु पाराले ‘आमा–बाबा’ भनेर अरू देशका कामदार महिलाले सम्बोधन नै गर्दैनन्, कुनै ‘वस्तु’लाईजस्तो व्यवहार गर्छन्, पैसामा मात्रै डिल गर्छन् तिनले । त्यसकारण नेपाली महिलाको माग ज्यादा छ ।

० नरमाइलो लाग्नेचाहिँ कतिबेला रहेछ त्यहाँ ?

– चाडबाडमा घरपरिवार, आफन्तको याद आउने । त्यत्ति मात्र हो । बेलुका स्वस्थ सुतेको साथी भोलिपल्ट आत्महत्या गरेकाजस्ता घटना पनि व्यहोर्नुप¥यो । यसरी सधैँ विदेश बसेर बुढेसकाल लागेपछि देश फर्केर के काम भन्ने भाव मनमा आइरहन्छ । पैसा केका लागि कमाउने ? परिवारसँग कहिले सुख काट्ने त मैले ? छोराछोरीसँग बिताउने पनि एउटा निश्चित उमेर हुन्छ, जो पछि पाइँदैन, त्यो सुख कहिले काट्ने त मैले ? यस्तै–यस्तै सोचले हुरुक्कै पारेपछि अब आफ्नै मुलुकमा केही गरौँला भनेर फर्केकी हुँ म पनि ।

० फर्केर आएपछि के गरिँदै छ ?
– इजरायलमा सिकेको या जानेको काम त केयरगिभरको हो, परिआए यहाँ पनि त्यो गर्न सक्छु म । हुन त यहाँ फलानाकी बुहारी–छोरीले फलानाको स्याहार गररेर बसेकी छ अरे भन्ने हल्ला पिटाइन्छ होला । कुरा काट्न थाल्छन् होला, तर जसले जे भनोस् त्यस्तो मौका पाए म गर्छु । अहिलेचाहिँ कृषि फार्म दर्ता गरेकी छु ‘क्लिन एग्रिकल्चर’ नामबाट । पन्ध्र रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेकी छु । यत्रो उमेर छ, ऊर्जा छ, जाँगर छ, त्यसै किन बस्ने भन्ने लागेर यो गरेकी हुँ । इजरायलजस्तो मरुभूमिको देशमा त कृषि कर्म फस्टाएको छ, कृषिउपज विदेश निकासी गर्छ त्यो देशले भने हामीकहाँ त गरे के हुँदैन भन्ने सोच ममा पलायो । इजरायलबाटै फर्केर आएका भाइहरू साथमा छन्, उनीहरूसँग मिलेर यो काम सुरु गरेको । उनीहरू डिग्री लेभलमा पढ्दै पनि छन् र मसँग काम पनि गर्छन् । भाइहरूले त्यहाँ कृषिसम्बन्धी पढेका पनि हुन्, यसर्थ मलाई सजिलो भएको छ । भर्खर सुरु गरेका हौँ, हेरौँ– राम्रै होला । इजरायलको प्रविधि प्रयोग गरेर गर्दै छौँ । इजरायलले आकासेपानी जम्मा गरेर पनि खेतीलाई मुलुककै आम्दानीको स्रोत बनाएको छ भने प्राकृतिक गुणसम्पन्न नेपालमा किन नगर्ने हामीले । अर्को कुरा, सामाजिक काम गरौँ या राजनीति गरौँ भनेर लाग्ने हो भने पनि पैसा त चाहिहाल्ने भएकाले पहिले आफ्नो आम्दानीको स्रोत आफैँ जुटाऊँ भनेर यो काममा लागेकी हुँ । अहिलेकी कृषि राज्यमन्त्री राधिका तामाङले पनि यस्तै कृषि व्यवसाय गर्नुभएको रहेछ, त्यो पनि हेरेँ र प्रेरित भएँ म ।

० वर्तमान परिवेशमा नेपाली महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?
– कानुनी हिसाबले निकै अधिकार मिलिसकेको छ, आफ्नो अधिकार र कर्तव्य बुझेर व्यवहार गर्न सके निकै राम्रो छ महिलाको अवस्था अहिले । मेरी आमाको पालामा भन्दा अहिले धेरै अधिकार संविधानले दिएको छ, यसलाई प्रयोग गर्न सक्नुप¥यो । पहिले गाउँघरमा कसैसँग नाम जोडिदिँदा महिलाले मर्नुपर्ने अवस्था थियो, तर अहिले त बिहे नगरी बच्चा जन्मे पनि बचाउने सङ्घसंस्था कति छन् कति । समय धेरै बदलिएको छ, ‘खाना पकाएर खानु है म कामले निस्केँ’ भन्दा घरको मान्छेले बुझ्ने अवस्था छ आज ।

० थप केही भन्नुपर्दा ?
– विदेशको कमाइ भनेको भलपानी या खहरे खोलाजस्तै हो । मेरै कतिपय साथीले उहाँबाट घरमा पैसा पठाउने अनि तिनका श्रीमान्चाहिँ बाहिर अन्य महिलाको अघिपछि लागेर खर्च गरिदिने, जुवातासलगायत फाल्तु मनोरञ्जनमा रकम उडाइदिने गरेको देखेकी छु । विदेशबाट श्रीमतीले पठाएको पैसा खुसीले समात्ने, तर श्रीमतीमाथि चाहिँ विभिन्न शङ्का गरेर आक्षेप लगाउने श्रीमान्हरू पनि देखेकी छु । एकातिर विदेशमा दिनरातको कामको प्रेसर छ, अर्कोतिर यताबाट लोग्नेले तँ कोसँग के गरिरहेकी छस् भनेर शङ्कालु प्रश्न गर्ने गरेका छन् । कतिपय महिला दिदीबहिनीले विदेशबाट सबै पैसा पठायो, पछि रित्तै हात घर फर्किँदा पैसा पनि छैन र श्रीमान्ले पनि अर्कै महिलासँग बिहे गरेर बसेको घटना पनि छ । यसले गर्दा त्यो महिलाको मन कति विछिप्त हुन्छ, मनन गरौँ । त्यसैले रोजगारीका लागि विदेशमा रहेका महिलालाई घरपरिवारबाट सपोर्ट हुनुपर्छ । व्यक्तिगत रूपले मलाई त सबैतिरबाट सपोर्ट भयो । इजरायलबाट मैले धेरै सिकेँ, जिम्मेवार नागरिक बन्न सकँे भन्ने लाग्छ । सम्पत्ति जोड्नकै लागि मात्र हामीले काम गर्ने होइन, जीवनलाई सन्तोषपूर्वक बिताउनका लागि पनि कुनै न कुनै काममा अल्झिनु आवश्यक छ भन्ने मेरो बुझाइ छ, कमाउन मात्र होइन बाँच्नका लागि पनि कामको महत्व छ । केही आर्जन गर्न र सीप सिक्न विदेश गए पनि आफ्नो जीवन–ऊर्जा विदेशमै सिध्याएर होइन, जोश, जाँगर र गर्न सक्ने अवस्थासहित परिवारका लागि पनि केही गर्नेगरी आत्मबल लिएर समयमै स्वदेश फर्किनुपर्छ । यहाँ आएर उता सिकेको कुरा यहीँ सुरु गरेर अरूलाई रोजगारी दिने गरी आउनुपर्छ ।