तटबन्ध निर्माणका लागि भारतीय सहयोग

तटबन्ध निर्माणका लागि भारतीय सहयोग


5 PR cheque_handing_over

लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणमा वर्षेनी करोडौँ सहयोग उपलब्ध गराउँदै आएको भारत सरकारले यस वर्ष पनि करिब ६२ करोड रुपैयाँ नेपाललाई सहयोग उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत रणजित रेले सिँचाइमन्त्री दीपक गिरीलाई ६१ करोड ९६ लाख ३० हजारको चेक हस्तान्तरण गरेका छन् ।

उल्लेखित नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट पीडित बन्दै आएका सो क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने र जलसम्पदाको समेत सदुपयोग हुने विश्वास लिइएको छ । मित्रराष्ट्र भारतबाट प्राप्त यो सहयोगका साथ तटबन्ध निर्माणमा भारतको सहयोग हालसम्म साढे ४ अर्बभन्दा बढी भएको बताइएको छ । नेपालस्थित भारतीय दूतावासका अनुसार तटबन्ध निर्माणका लागि भारतबाट नेपाललाई अप्रिल २०१६ मा ३८ करोड ६२ लाख ६० हजार, जुलाई २०१५ मा ३८ करोड ६२ लाख ६० हजार, जुन २०१४ मा ३६ करोड ६७ लाख २० हजार, डिसेम्बर २०१३ मा ३७ करोड ४६ हजार ८० लाख, जनवरी २०१३ मा २५ करोड ६९ लाख ४७ हजार, जुलाई २०१२ मा ९ करोड ७७ लाख १० हजार, अक्टोबर २०११ मा ३४ करोड ५७ लाख ३० हजार, मार्च २०११ मा ५४ करोड ५३ लाख ५० हजार, २०१० मा ५९ करोड ९७ लाख ८० हजार, २००९ मा ५३ करोड १५ लाख र २००८ मा १६ करोड ५५ लाखको सहयोग उपलब्ध भएको छ ।

यसैबीच भारतीय राजदूतावासका रक्षा सहचारी कर्नेल मनराजसिंह मानले नेपालगञ्जको खजुरास्थित नेपाल भूपू सैनिक एकाइ समितिको नवनिर्मित भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै उनले विद्यालय एवम् एम्बुलेन्समा थप सहयोग गर्न भारत सरकार तयार रहेको बताए । योजना लिएर आएमा विद्यालय तथा एम्बुलेन्समा थप सहयोग गर्न भारत सरकार तयार रहेको सिंहको भनाइ छ । समितिका सचिव भीमबहादुर रानाका अनुसार सो भवन ३६ लाख ३४ हजार भारतीय सहयोगमा निर्माण भएको हो ।

एम्बुलेन्स पाएर दुर्गमका बासिन्दा गद्गद्

जुम्लाको सदरमुकामदेखि ३६ किलोमिटर दूरीमा रहेको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले उपहारस्वरूप एम्बुलेन्स सहयोग गरेको छ । कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले एक औपचारिक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत एम्बुलेन्स सेवाको उद्घाटन गरेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ पण्डितले भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिँजा क्षेत्रसहित आसपासका मुगु र कालिकोट जिल्लाका केही गाविसका जनताको स्वास्थ्यमा आएको खतरामा आपत्कालीन सहयोग पुग्ने बताए । एम्बुलेन्सको सही व्यवस्थापन तथा परिचालन र प्रयोगमा सम्बन्धित व्यवस्थापन समितिलगायत गाविसवासीले उचित ध्यान पु¥याउन पनि उनले सुझाब दिए । विद्युत्बिना अस्पताल सञ्चालन हुन नसक्ने भन्दै स्थानीयस्तरबाट त्यसको पहल गर्नुपर्नेमा जोड दिँदै प्रजिअ पण्डितले आफ्नो क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने वचन दिए ।

एम्बुलेन्स उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस जुम्लाका सभापति तथा कालिकाखेतु निवासी दीपबहादुर शाहीले स्थानीय नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एम्बुलेन्स सहयोग गर्ने भारत सरकारलाई धन्यवाद दिँदै ठूलो रोग लाग्दा एम्बुलेन्स सेवा नपाएर यहाँका जनताले मर्नुपर्ने विवशता अब सधैँका लागि टर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेका महासमिति सदस्य लंकबहादुर शाही, केन्द्रका प्रमुख डा. कमलप्रसाद आचार्यले पनि एम्बुलेन्स मानव जीवनको रक्षक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा तत्काल आउने कठिनाइमा भारत सरकारबाट गरिएको सहयोगले ठूलो सहयोग पु¥याउने बताए ।
गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेपछि कालिकाखेतु गाविसवासी खुसीले गद्गद् भएका छन् । कालिकाखेतु गाविसका स्थानीय महिला ऐना बुढाले आफूले नचिताएको काम भएको बताउँदै आश्चर्य लागेको बताइन् । स्थानीय क्षेत्रका सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई एम्बुलेन्सले सहयोग गर्ने उनको बुझाइ थियो । यस्तै, छिमेकी गाविस महावैपाथरखोला–९ का शेरबहादुर रोकायाले दुर्गमका जनताको भलाइका लागि एम्बुलेन्स ल्याउन पहल गर्ने र सहयोग गर्ने दुवैलाई धन्यवाद दिए ।

ज्ञातव्य छ, उक्त केन्द्रले सिँजाका ११ गाविस मात्र नभई कालिकोटको माथिल्लो तथा जुम्लासँग जोडिएका र मुगु जिल्लाका केही गाविससमेत लाभान्वित हुने र यस सेवा प्रवाहबाट उक्त दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउने स्थानीय सचेत तप्काको दाबी छ ।