पूर्व श्री ५ लाई देखेपछि नेताहरू पर–पर

पूर्व श्री ५ लाई देखेपछि नेताहरू पर–पर


gynendra-bidhya

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी सुपुत्री निशाकुसुम भण्डारीको वैवाहिक समारोहमा पूर्व श्री ५ महाराजाधिराजलाई आमन्त्रण गरिनु र मौसुफ सो समारोहमा सहभागी हुनुलाई लिएर देशमा अनेकौँ किसिमका अडकलबाजी र चर्चा सुरु भएका छन् । राष्ट्रपति भण्डारीबाट पूर्वराष्ट्राध्यक्षलाई समेत निमन्त्रणा गरिएको खबर देशव्यापी रूपमा फैलिएको थियो । पूर्व श्री ५ बाट निमन्त्रणालाई स्वीकार हुने हो कि होइन भन्ने आमजिज्ञाशाको विषय बनेको र धेरैले उहाँबाट निम्ता स्वीकार नहुने अनुमान गरेका थिए । तर, राष्ट्रपति भण्डारीले उहाँले निमन्त्रणा स्वीकार गर्नुभएको जानकारी निम्तापत्र पु¥याएको केही घण्टाभित्रै पाइसक्नुभएको थियो ।

पूर्व श्री ५ का निजी सचिवमार्फत राष्ट्रपति भण्डारीले जानकारी मात्र पाउनुभएको थिएन, नवविवाहितलाई कस्तो उपहार लिएर आउनु उचित हुने भन्ने जिज्ञाशा पनि उहाँसमक्ष राखिएको थियो । निमन्त्रणाकार्डमा नगद र जिन्सी उपहार नल्याउनु भनी लेखिएको हुँदा त्यसरी पूर्व श्री ५ का निजी सचिवबाट के–कस्ता उपहार ल्याउन पाइएला भनी जिज्ञाशा राखिएको बताइन्छ । राष्ट्रपतिबाट तर्फबाट कुनै प्रकारको उपहारभन्दा पनि बरवधूलाई आशीर्वादको मात्र अपेक्षा राखिएको जानकारी पूर्व श्री ५ का निजी सचिवमार्फत गराइएको थियो । तर, सोमबार (माघ ३ गते) राष्ट्रपति भवनमा मध्याह्न १२ः०० बजे आयोजित वैवाहिक समारोहमा सहभागी हुन पूर्व श्री ५ करिब साढे बाह्र बजे पुग्नुभएको थियो । उहाँको आगमनले शीतलनिवासको वातावरणमा एकाएक परिवर्तन आएको थियो । सुरक्षाकर्मीहरूको चहलपहल र सक्रियता एकाएक बढेको थियो भने पाहुनाहरूको ध्यान पनि पूर्व श्री ५ तर्फ आकर्षित भएको थियो ।
शीतलनिवासको एउटा हलमा पाहुनाहरू नवदम्पतीलाई आशीर्वाद तथा शुभकामना दिन लामबद्ध रहेका भए पनि पूर्व श्री ५ लाई सुरक्षाकर्मीले लाइनमा नराखी नवविवाहित जोडीसमक्ष पु¥याएका थिए, जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि साथै हुनुहुन्थ्यो । दुई हात जोड्दै मञ्चमा पुग्नुभएका पूर्व श्री ५ बाट राष्ट्रपति विद्या भण्डारीलाई कस्तो छ भनी सोध्नुभएको र उहाँसहित दुलाहा तथा दुलहीलाई पनि बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले पुष्पगुच्छा दिँदै नवदम्पतीलाई बधाई र शुभकामना मात्र दिनुभएन सामूहिक तस्बिरसमेत खिचाउनुभयो । त्यसपछि पूर्व श्री ५ भोजस्थलतर्फ जानुभएको थियो । संयोगवश भोजस्थलमा उहाँको टेबुलमा राप्रपाका नेताहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, कमल थापा र पूर्वप्रधानसेनापति प्याराजंग थापाले साथ दिएका थिए । उहाँ सामान्य र सहज ढङ्गले समारोहमा कुराकानी गरेर बसिरहनुभएको थियो ।

राष्ट्रपतिले पूर्वराष्ट्राध्यक्षलाई बोलाउनु र उहाँ निमन्त्रणालाई स्वीकार गरी त्यहाँ पुग्नुलाई कतिपयले राजनीतिक अर्थ पनि लगाएका छन् । पछिल्लो समयमा नेकपा एमालेले राष्ट्रियताको पक्षमा अडान लिनु र पूर्व श्री ५ लाई राष्ट्रपतिकी छोरीको वैवाहिक समारोहमा निम्ता गरिनु संयोग मात्र नभएको उनीहरूको भनाइ छ । गत विजयादशमीको अवसरमा पूर्व श्री ५ बाट निषेधको राजनीतिले कसैलाई पनि भलो नगर्ने आशयको मन्तव्य प्रकट भएको सन्दर्भलाई समेत ख्याल गरी राष्ट्रपति भण्डारीले उहाँलाई निम्ता दिनुभएको अनुमान पनि एकथरीले गरेका छन् । कतिपयले चाहिँ पूर्व श्री ५ सामान्य र स्वाभाविक जीवन जिउन तत्पर भएको दृष्टान्तका रूपमा पनि यस घटनालाई लिएका छन् । जे होस्, यस घटनामा राष्ट्रपतिबाट पूर्वराष्ट्राध्यक्षलाई निमन्त्रणा गरिनुलाई प्रशंसनीय मानिएको छ भने मौसुफबाट निमन्त्रणा स्वीकार गरेर उपस्थिति जनाउनुलाई पनि उपयुक्त र सराहनीय ठानिएको छ । राष्ट्रपति भण्डारीले निषेधको राजनीति अन्त्य गर्न सहयोग पुग्ने कार्य गर्नुभएको आमजनताले समेत ठानेका छन् ।

राष्ट्रपति भण्डारीकी सुपुत्री निशाकुसुमको विवाह पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग भएको हो । यो विवाहले तराई–पहाड जोड्ने काम त गरेकै छ, पूर्व श्री ५ को उपस्थितिले थप सन्देश पनि प्रवाहित गरेको छ । तर, समारोहमा उपस्थित पूर्व श्री ५ को वरिपरि पर्न केही राजनीतिक दलका नेताहरू भने हच्किएका थिए । भरसक राजाको नजिक देखापर्न नपरोस् भन्ने मनसाय नेताहरूमा रहेको उनीहरूको हाउभाउ (बडिल्याङ्ग्वेज) ले देखाएको थियो । कुनै बेला तात्कालिक राजाको निकट बन्न नेताहरूबीच एकप्रकारको प्रतिस्पर्धा चल्थ्यो भने दाम राखेर ढोग्न पाउँदा उनीहरू गौरव महसुस गर्थे । तर, वैवाहिक समारोहमा उपस्थित हुनुभएका पूर्व श्री ५ महाराजाधिराजसँग भने नेताहरू पर–पर भए । मौसुफ त्यहाँबाट हिँड्नुभएपछि मात्र नेताहरूले ‘कम्फर्टेबल’ महसुस गरेका थिए ।

वैवाहिक भोजमा पूर्वराष्ट्रपति रामवरण यादवको उपस्थिति थिएन । यादव दुलाहा लिएर जन्तीमा सामेल भई शीतलनिवास पुग्नुभएको थियो ।