नयाँ नेपाल होइन ‘नाङ्गो नेपाल’ सिर्जना हुँदै छ

नयाँ नेपाल होइन ‘नाङ्गो नेपाल’ सिर्जना हुँदै छ


Basanta Man Sing Adhikari

– वसन्तमानसिंह अधिकारी (सहप्रवक्ता, राप्रपा)

० राप्रपा त एक भयो, कहिलेसम्मका लागि होला ?
– धेरै लामो छलफल र प्रयासपछि राप्रपा र राप्रपा (नेपाल)बीच एकीकरण भएको छ । दुवै पार्टीका कार्यकर्ता एवम् नेपाली जनताको चाहना या भावनाका कारण पनि यो एकीकरण सफल भएको हो । यस पार्टीको विगत नियाल्दा बेलाबेला कुनै ठूलो मुद्दाबिना नै फुट्ने र जुट्ने गरेको देखिएकाले फेरि फुट्ने त होइन भन्ने आशङ्का वा प्रश्न उब्जनु अस्वाभाविक होइन, तर अब त्यस्तो नकारात्मक सोच राख्नु आवश्यक छैन । इतिहासबाट चेत लिँदै र समयको मागबमोजिम एकीकरण भएकाले अब फुटका कुराले त्यति सजिलै प्रश्रय पाउन सक्दैन । पार्टी–सङ्गठनमा नयाँ र राजनीतिक सुझबुझ भएका युवा नेता–कार्यकर्ताको बोलवाला हुँदै छ । त्यसैले पनि नेतृत्वमा मिलेर रहने दबाब पर्न सक्छ । अबका दिनमा कुनै पनि नेताले पार्टीको हितविपरीत जाने र फुटका कुरा गर्ने दुस्साहस गर्न सक्ने छैनन् ।

० राप्रपाले हिन्दूराष्ट्र हुनुपर्छ त भन्यो, राजसंस्था भन्नचाहिँ किन हिच्किचाएको होला ?
– राप्रपाभित्र हिन्दूराष्ट्र नेपाल हुनुपर्छ भन्ने कुरामा पार्टी एकीकरण हुनुपूर्व नै दुवै पार्टीबीच मतैक्यता थियो । राप्रपा नेपालले आफ्नो स्थापनाकालदेखि नै हिन्दूराष्ट्र नेपाल र संवैधानिक राजतन्त्रका प्रति आफ्नो सैद्धान्तिक विचार प्रकट गरेको थियो, तर राप्रपाले चाहिँ हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र स्वीकार गरेको थिएन । तथापि, केही वर्ष अघिदेखि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने कुरामा राप्रपाले पनि आफ्नो मत जाहेर ग¥यो र दुई पार्टीको मिलनमा यसबारे सहमति भयो । यथार्थ के भने राप्रपाले गणतन्त्र स्वीकार गरेको र राप्रपा नेपालले संवैधानिक राजतन्त्रप्रति आफ्नो मत जाहेर गरेको हुँदा यस मुद्दामा अब आगामी एकताको महाधिवेशनमा बृहत् बहस हुनेछ, यो मुद्दालाई छलफलमा ल्याइनेछ र महाधिवेशनले जे मत जाहेर गर्छ त्यसैलाई अङ्गीकार गरेर पार्टी अगाडि बढ्छ ।

० राप्रपाका मूल नारा के हुन्छन् नि अब ?
– हिन्दूराष्ट्र र नेपाली राष्ट्रवाद कमजोर बन्दै गइरहेको परिप्रेक्ष्यमा अबका दिनमा राप्रपाको मूल नारा देशको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतालाई अक्षुण्ण राख्दै नेपाल राष्ट्रको भूगोलमा कुनै किसिमको आँच आउन नदिनका लागि नेपाली राष्ट्रियता र राष्ट्रवादबारे जनचेतना अभिवृद्धि गर्दै देशलाई कसरी समुन्नतिको बाटोमा लैजान सकिन्छ भन्ने विषयमा आधारित नै हुनेछ । देशका ठूला तीन दलको सिन्डिकेटले मुलुकलाई अधोगतितिर मात्र लगेको नभई नेपाल र नेपालीका राष्ट्रिय पहिचान एवम् राष्ट्रिय धरोहरसमेत विदेशीको इशारामा समाप्त पार्न लागिरहेको यस घडीमा नेपाली जनतामाझ राप्रपा आफ्ना देशभक्तिपूर्ण भावना र नाराका साथ अगाडि बढ्नेछ ।

० जे–जस्ता एजेण्डा बोके पनि राप्रपाका नेताहरू सत्ता देखे–भेटेपछि लल्याकलुलुक हुन्छन् भनिन्छ नि ?
– यो भनाइलाई पूरै अस्वीकार गर्न सकिन्न, तर समय धेरै परिवर्तन भइसकेको छ । हिजोका मूल्य र मान्यता आज बदलिएका छन् । राजनीति बदलिएको छ । पार्टीमा युवापुस्ता हाबी हुँदै गइरहेको छ । पार्टीका एजेण्डा पनि जनमन छुने किसिमका छन् । युवापुस्ताका कार्यकर्ताको पार्टीमा दबाब बढ्दै गएको छ । त्यसैले आगामी दिनमा सत्ता देखेपछि नेताहरू लल्याकलुलुक हुने दिन गइसके, अब राप्रपा सुदृढ या मजबुत हुँदै जानेमा दुईमत रहँदैन ।

० संविधान कार्यान्वयनको गाँठो कसिएको अवस्था छ, साँच्चै संविधान कार्यान्वयन कुन रूपमा फुक्ने देख्नुहुन्छ ?
– संविधान कार्यान्वयनभन्दा अगाडि संशोधनका कुरा उठिराखेका छन् । सर्वप्रथम त संशोधनको मुद्दा नै तार्किक निष्कर्षमा पुग्नुप¥यो, त्यसपछि मात्र कार्यान्वयनको कुरा आउँछ । मेरो विचारमा यो संविधान यसै रूपमा कार्यान्वयनमा आउन गाह्रो छ । यो संविधानले न गणतन्त्र, न सङ्घीयता, न धर्मनिरपेक्षता, न सुशासन, कुनै कुरालाई पनि यसै अवस्थामा संस्थागत गर्न सक्छ जस्तो मलाई लाग्दैन । देश झन् कहालीलाग्दो अवस्थामा पुग्ने या गृहयुद्धमै फस्ने हो कि जस्तो पो लागिरहेको छ ।

० संविधान संशोधनमा राप्रपाको स्पष्ट दृष्टिकोणचाहिँ के हो ?
– जुन संविधान संशोधनको प्रस्ताव सदनमा पेस भएको छ, यही अवस्थामा पेस भएको संशोधनका बुँदाहरू परिमार्जन नभएमा राप्रपाले समर्थन गर्न सक्दैन । संशोधनको प्रस्ताव फिर्ता लिएर सबै पार्टीबीच गोलमेच सम्मेलन गरी संशोधन गर्ने बुँदाहरूमा छलफल गरेर नेपाल राष्ट्र र राष्ट्रियतामाथि कुनै आँच नआउने किसिमबाट संशोधन हुनुपर्छ भन्ने मलाई लाग्छ । साथै, मधेसी दलहरूलाई पनि विश्वासमा लिँदै राष्ट्रिय भावधारामा समाहित गर्न सक्नुपर्छ । अनि मात्र देश सकारात्मक दिशातिर अघि बढ्दछ ।

० नेपालको समस्या समाधान होला भन्दाभन्दै झन् बिग्रिएर गयो, तपाईंको बुझाइमा यसको कारण के होला ?
– यसको मूल कारण भनेको तीन दलको अहम्, लोकतन्त्रको नाममा अलोकतान्त्रिक क्रियाकलापका साथै विदेशीहरूको इसारामा देश र जनतामाथि कुठाराघात हुनु हो । तीन दलको दादागिरी शैलीको सोच–व्यवहारका कारण यतिबेला प्रजातन्त्र निर्धो भएको छ । राष्ट्रियता र जनजीविकाको सवाल गौण बन्दै गएका छन् । एकपछि अर्को राष्ट्रघात भइरहेको छ । मुलुकको शासन व्यवस्थामा नियन्त्रण र सन्तुलन गुम्दै गएको छ । शासन व्यवस्थाका आधारस्तम्भहरू वाह्य इशारामा निष्प्रभावी हुँदै गएका छन् । भूकम्पपीडितको अवस्था दयनीय र चिन्ताजनक छ । देशको आर्थिक अवस्था दु्रतगतिमा ओरालो लागिरहेको छ । सामाजिक मूल्य–मान्यतामा ह्रास आएको छ । युवाशक्तिको विदेश पलायनले देशका गाउँ रित्तिँदै गएका छन् । नयाँ नेपाल बनाउने नाममा तीन दलको सिन्डिकेटले ‘नाङ्गो नेपाल’ सिर्जना गर्दै छ । तीन दलकै अहमता र गैरजिम्मेवारीबाट यस्तो हुन गएको हो । मेरो विचारमा कुनै पनि समयमा देशमा गम्भीर दुर्घटना हुन सक्छ ।

० देश यसरी बिग्रनुमा मुख्य दोषी कसलाई देख्नुहुन्छ ?
– भनिहालेँ, देश यसरी द्रुतगतिमा बिग्रँदै जानुमा स्वनामधन्य ठूला दलहरू नै हुन् । ठूला दल र तिनका नेताहरूको देशप्रतिको जिम्मेवारीपन नहुनु, विदेशीको इशारा वा निर्देशनमा चल्नु र राष्ट्रियताको नाममा राष्ट्रघात गर्दै जानुको कारणबाट देश आज विखण्डनको अवस्थामा पुगेको छ । मेरो विचारमा यस्तो हुँदै जानुमा ठूला दलका नेताहरू नै दोषी छन् र भोलिका दिनमा यस्तै यसरी नै देशलाई विखण्डनतिर लैजाने र नेपालीको इज्जत, मुलुकको अस्मिता गुम्न गएमा यिनीहरू नै दोषको भागीदार बन्नुपर्नेछ ।

० वर्तमान परिवेशमा यदि चुनाव भयो भने परिणाम कस्तो आउला भन्ने अनुमान गर्नुभएको छ ?
– मलाई त यथास्थितिमा चुनाव हुन्छ जस्तो लाग्दैन । मधेसी दलहरूले यही अवस्थामा चुनावमा भाग लिने छैनन् । स्थानीय चुनाव नभएकै अठार वर्ष भएको परिवेशमा जनता त चुनाव चाहन्छन् । तर, प्रदेशको नामाङ्कन, सीमाङ्कन भएर पाँच नम्बर प्रदेशको झगडा सकिएपछि मात्र चुनाव होला । यदि जबर्जस्ती राज्य पक्षले चुनाव गरायो भने पनि परिणामचाहिँ मिश्रित किसिमको आउँछ जस्तो मलाई लाग्छ । जहाँसम्म राप्रपाको कुरा छ, दुई राप्रपा एकीकरण भएको कारणले जनस्तरमा यसको प्रभाव बढेको छ, यस आधारमा राप्रपाले पनि उल्लेखनीय मात्रामा विजय हासिल गर्दछ ।
Basantaman Sing Adhikari 2